हनुमन्ते खोलाको पुल

भक्तपुरको हनुमान खोला काठमाडौको बागमती जस्तै महत्वपूर्ण नदी हो । भक्तपुरलाई पूर्वबाट दक्षिण तर्फ घेरेर रहेको खोला ख्वपँको बिकाससंगै अभिन्न रुपमा रहेको खोला हो । हनुमान खोला भक्तपुरको उत्तर पूर्वमा रहेको महादेव पोखरी डाँडाबाट नगरकोट र बागेश्वरी डाँडाको बीच भागवाट पश्चिम तर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुदै थिमि तर्फ बग्ने गर्दछ । यो हनुमान खोला जसलाई अचेल हनुमन्ते खोला भनेर चिनिने गरेको छ, मनोहरा नदीसंग मिसिन्छ । काठमाडौ उपत्यकामा बहने प्रमुख सात नदीलाई सात मतीको रुपमा लिने गरिन्छ । शिवपुरी डाँडाको उत्तरबाट बहने बागमती, शिवपुरी डाँडाकै दक्षिणबाट बहने बिष्णुमती, शिवपुरी डाँडाकै दक्षिण पूर्वबाट बहने रुद्रमती (धोबीखोला), मणिचुड पर्वत अर्थात बज्रयोगिनीको डाँडाबाट बहने मणिमती (मनोहरा), बागेश्वरी डाँडाबाट बहने हनुमती (हनुमन्ते), उपत्यकाको अन्य स्थानबाट बहन शुरु भएका इक्षुमती (टुकुचा) तथा भद्रमती (भचाखुशी) गरि यि सात मतीको संगम हुने हुँदा बागमतीलाई सप्तमती पनि भन्ने गरिन्छ । बागमती नदीमा पशुपती मन्दिर आर्यघाटमा बनाइएको पुल तथा भक्तपुरको हनुमन्ते खोलामा बनाइएका पुलहरु एउटै समय कालका हुन् । बागमतीको पुल तथा हनुमन्तेको एउटा पुल एउटै किसिमले बनाएको छ । खोलाको दुइ किनारमा ढुङ्गाका पर्खाल उठाएर त्यसमाथि लामो लामो काठका सत्तल ‌ओछ्याएर बनाइएको छ । यस तस्विरमा देखाइएको हनुमन्ते खोलाको पुल भने क्यान्टीलिभर पद्धतीबाट बनाइएको छ । विश्वमा क्यान्टीलिभर पुलको शुरुवात हुनु भन्दा धेरै वर्ष अगाडि नै भक्तपुरको यो पुलमा क्यान्टीलिभरको उदाहरण देख्न सकिन्छ । यस पुल बनाउँदा राम्ररी मिलाएर काटिएका चौडा ढुङ्गाहरुलाई चुना सुर्कीको जोडाइबाट पर्खाल लगाइएको छ । लामा लामा ढुङ्गाहरु ओछ्याएर खोलाको दुबै तर्फ पाच तहको क्यान्टीलिभर बनाइएको छ । जसमाथी फेरी लामा ढुङ्गाहरु नै ओछ्याएर पुल तैयार गरिएको छ । यो पुल बनाउने पद्धती बलियो पनि हुने गर्दछ । क्लेरेन्स कोमिन टेलर बेलायती सैनिकको रुपमा भारतमा रहेको इष्ट इण्डिया कम्पनीमा आएका थिए । सन १८५७ मा भारतका राज्यहरुसंग अंग्रेजको युद्धको क्रममा घाइते भए पछि सैनिक जीवन छोडेर प्रशासनिक काममा लागे । यहि सिलसिलामा सन १८६३ मा नेपाल बेलायती रेसिडेन्टका सहायकको रुपमा काठमाडौ आएका थिए । फोटोग्राफीमा रुची भएका क्लेरेन्स कोमिन टेलरलाई नेपालमा रहेका जात जातिका तथा धार्मिक एवं सांस्कृतिक स्थलहरुको तस्विर लिन बेलायती सरकारले दिए पछि उनले थुप्रै तस्विर खिचेका थिए । यो नै नेपालमा फोटोग्राफीको शुभारम्भ हो ।
भक्तपुरको हनुमन्ते खोलामा बनाइएका ढुङ्गाको पुलहरु मध्य यो पुल महेश्वरी घाट निरको पुल जस्तो लाग्छ । छिपा ताँ भनिने यो पुल नै हो कि !!! गल्ती भएमा जानकारी दिनुहोला ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

लाखे: भैरव कि राक्षस

पोखराको ताहामचा