नौलखा हार र जङ्गबहादुरको श्रीपेच

हुन त अचेल नौलखा हारको अर्थ ‘नौ लाख मुल्य पर्ने हार’ नै हुन्छ, तसर्थ अचेल जो-कोहीले पनि बनाउन सक्लान् । तर, जुन बेला नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमुल्य थियो, जो-कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिव २०० वर्ष अगाडि नौ लाख मुल्यको यो हार जङ्गबहादुरको समयमा नै करिव ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सकिन्न, अर्बौं रूपैयाँ पर्न सक्छ ।
१७औँ शताव्दीमा मराठा राज्यमा पेशवाहरू खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो र, खानदानी रूपमा प्रधानमन्त्री हुँदै आएपछि पेशवा नै थरका रूपमा नै राख्न थाले । बालाजी विश्वनाथ मराठा राज्यमा सन् १७२० मा पेशवा बनेका थिए । यसपछि उनकै सन्तति पेशवाका रूपमा रहन थाले । उनकै सन्तति बाजीराव द्वितिय बाल्यकालमा नै पेशवा बनाइएका थिए । बाजीराव द्वितिय निःसन्तान थिए । बाजीरावको समयमा अङ्ग्रेजले उनको जागीर मात्र होइन मराठा राज्यको अस्तित्व नै समाप्त पारिदियो । तर पनि बाजीरावलाई मृत्युसम्म मासिक ८० हजार पेन्सन दिइरहे । तर अङ्ग्रेजले धर्मपुत्रका हकमा यो नियम लागु गर्न चाहेन । नानासाहेवलाई भने बाजीरावले मराठा राज्यबाट निष्काशन भइसकेपछि मात्र पालेको धर्मपुत्र हुँदा उनलाई पेशवा मानेन । तर नानासाहेव आफै तथा रानी लक्ष्मीबाई तथा तात्या टोपेले पेशवाको रूपमा नायक बनाएर १८५७ मा कानपुरमा अङ्ग्रेजविरुद्ध युद्ध लडे । यसमा अङ्ग्रेजसँग हार भएपछि सबै भागाभाग भए ।
नानासाहेवको बाल्यकालको नाम भने धोन्दु पन्त थियो । अङ्ग्रेजहरूले भारतमा आफ्नो बिस्तार गर्न थालिसकेका थिए । स-साना राज्यहरूमाथि आक्रमण गर्दै अङ्ग्रेजले आफ्नो प्रभुत्व कायम गर्दै थिए । यसै क्रममा बाजीराव द्वितिय पेशवा हुने समयमा नै मराठा राज्यमा अङ्ग्रेजले आक्रमण गरेपछि बाजीराव द्वितिय भागेर अर्कै राज्यमा शरण लिन पुगेका थिए । यहीँ नै नानासाहेवलाई धर्मपुत्रका रूपमा आफूसँग राखेका थिए । राज्य नभए पनि अङ्ग्रेजले बाजीराव द्वितियलाई पेन्सन उपलब्ध गराउँदै आएका थिए । सन् १८५१ मा बाजीरावको निधन भयो । यिनै बाजीरावको नाममा उनकै जीवनमा आधारित एउटा फिल्मले निकै चर्चा पायो, बाजीराव मस्तानी । बाजीरावको निधनपछि उनका धर्मपुत्र नानासाहेवले आफैलाई बिना राज्यको पेशवा घोषणा गरे । अङ्ग्रेजले उनलाई पेशवाले पाउने पेन्सन दिन अस्विकार गरे । किनकि, नानासाहेव पुस्तैनी पेशवा परिवारमा जन्म लिएका थिएनन् । यही कारणले नानासाहेव अङ्ग्रेजविरुद्ध युद्धको तैयारीमा लागे ।
अङ्ग्रेजबाट पेन्सन नपाएपछि नानासाहेव अङ्ग्रेज विरुद्ध हतियार उठाउन थाले । सन् १८५७ मा भएको अङ्ग्रेजविरुद्धको कानपुर विद्रोहमा तात्या टोपेको साथ लिएर नानाले नेतृत्व लिएका थिए । अङ्ग्रेजले यो आन्दोलनलाई नराम्रोसँग दबाएपछि भागेका नानासाहेव लामो समयसम्म हराए । अङ्ग्रेज सरकारले उनको खोजी निकै ग¥यो । उनको शिरको मुल्य अङ्ग्रेजले त्यो समय नै एक लाख राखेको थियो । उसलाई जिउँदो वा मृत शरीर लिएर आउनेका लागि एक लाखको पुरस्कार तोकिएको थियो । तसर्थ फकिर भएर गुमनाम लुकीछिपी हिँड्न थालेका थिए ।
सन् १८५९ (वि.सं. १९१५ फागुन २१) को शिवरात्रीमा पशुपति दर्शका लागि हिँडेका योगीहरूको भिडमा छद्म भेषमा नानाका परिवार तथा सयौँ सिपाही नेपाल सिमामा प्रवेश गरे । यसरी नेपाल सिमा प्रवेश गरेका नानासाहेवले अचानक तत्कालिन श्री ३ जङ्गबहादुरलाई शरणका लागि अनुरोध गरे । जङ्गबहादुरले नाना तथा उनको साथ आउने सबैका लागि पहिरन तथा नेपाल प्रवेश गर्ने समय पनि तोकिदिएका थिए । सबैलाई सन्यासीको पहिरनमा आउन तथा शिवरात्रीको लागि नेपाल प्रवेश गर्ने हजारौँ सन्यासी योगीहरूको भिडमा नेपाल प्रवेश गर्न सुझाएका थिए । जसअनुसार सन्यासीको रूपमा त्रिवेणी पुगेका उनले परिवार र परिचारिकासहित नेपाल सरकारसमक्ष शरण मागे ।
सन् १८५७ को लखनउ विद्रोह दबाउन जङ्गबहादुर स्वयम् अङ्ग्रेजलाई सहयोग गर्न पुगेका हुनाले पनि १८५७ कै कानपुर विद्रोहका नायकलाई शरण दिन निकै अप्ठेरो परेको थियो । शुरुमा शरण दिन अस्विकार गरे । तर नानाको साथमा आएको त्यो भिडमा अवधका बेगम हजरत महल तथा उनका छोरा र केही सहयोगीहरू पनि थिए । जङ्गले नानाका साथ आएका महिलाहरूलाई मात्र शरण दिन सक्ने जानकारी पठाए । जङ्गले चाहेको भए नानासाहेवलाई अङ्ग्रेजलाई बुझाएर लाख पुरस्कार र अङ्ग्रेजबाट अन्य सहयोग पनि पाउन सक्थे । तर उनले अङ्ग्रेजलाई त्यो सहयोग नगरेर ढाँटे । यसको बदलामा नानासाहेवबाट लाखौँ मुल्यका जवाहरातहरू लिए । यसरी शरणको स्विकार गर्नुअघि बेगम हजरत महल तथा नानाका रानीहरूले धेरै जवाहरात जङ्गलाई उपहारमा दिएका थिए । कसैले दिएको उपहार स्विकार गरि ती उपहार दिनेको चाहना पूरा गर्नुलाई आजको भाषामा घुस लिने भनिन्छ । तसर्थ जङ्गले त्यतिबेला घुस स्विकार गरेका थिए भन्न सकिन्छ ।
यसको साथै नानाका दाजुभाइलाई सुरक्षित राख्न पनि श्री ३ ले थुप्रै जवाहरात स्विकार गरेका थिए । सक्कली नक्कली तथा मुल्य थाहा पाइ बिक्रीसमेत गर्नका लागि जङ्गले दिल्लीबाट जवाहरात ब्यापारीलाई समेत नेपाल बोलाएका थिए । त्यसबेला नानाको परिवार तथा हजरत महलबाट पाएको जवाहरात ती ब्यापारीलाई बिक्री गरेका थिए । त्यसबेला जङ्गले बहुमुल्य नौलखा हार, पन्नाको ३ इन्च लामो नानासाहेवको सिल तथा अंगुरको झुप्पा भन्दा ठूलो पन्नाको झुप्पा भने बिक्री गरेनन्, आफैसँग राखे । जङ्गले नानाको परिवारका खर्चका लागि सालाना ६-७ हजार कर उठ्ने दुई गाउँ पनि दिएका थिए ।
पेशवा खानदानको खानदानी गहना थियो नौलखा हार । शुरुमा बाजीराव प्रथमले हिरामोती तथा पन्नाजडित बहुमुल्य हार बनाउन लगाएका थिए । पेशवाका रूपमा यो हार गलामा लगाएर दरबार पुग्दथे । उनको मृत्युपछि जो-जो पेशवा बने, तिनले नौलखा हार पनि जागिरसँगै पाउँदै गए । हरेक नयाँ पेशवाले यस हारमा जवाहरात थप्दै गएका थिए । जसले गर्दा यसको मुल्य अझै बढ्दै गयो । नानासाहेवको समयमा आइपुग्दा यो हारको मुल्य करिव ९० लाख पुगिसकेको थियो ।
सन् १८५७ को विद्रोहमा रानी लक्ष्मीबाई तथा भारतीय प्रथम स्वतन्त्रता सेनानी तात्या टोपेलाई आफ्नो साथ लिएर अङ्ग्रेजविरुद्ध लडेका नानासाहेव भने कानपुरमा अङ्ग्रेजको विजयसँगै हराए । उनका साथ लडेका तात्या टोपे अङ्ग्रेजद्वारा समाइएपछि फाँसीको सजाय भयो । यसरी अङ्ग्रेजले समाएमा मृत्युदण्ड पाउन सक्ने हुँदा नानासाहेव पेशवा गोप्य रूपमा कानपुरबाट भागेर नेपाल पुगेका थिए । यता नानासाहेव कानपुरबाट भागेर नेपालको त्रिवेणी हुँदै आउँदै गरेको खबर जङ्गबहादुरले पाएपछि आफ्ना कान्छोभाइ कृष्णबहादुर राणा तथा विशेष दूतका रूपमा केदार नरसिंह राणालाई लिन पठाएका थिए । अङ्ग्रेजको सहयोगमा सन् १८५७ को लखनउ विद्रोह दबाउन स्वयम् ८००० गोर्खाली सैनिक लिएर गएका जङ्गबहादुरलाई त्यही १८५७ को कानपुर विद्रोहका नायकलाई स्वागत गर्न तथा शरण दिन जङ्गबहादुरले कान्छो भाइ कृष्णबहादुर राणालाई पठाए ।
नाना साहेव पेशवा र जङ्गबहादुर

नानासाहेव जब नेपाल प्रवेश गरे, उनको साथ उनकी विधवा धर्मआमा सरस्वती बाई, नानाको रानी कृष्णा बाई र काशी बाई, काम गर्ने सेविका सुन्द्रा बाई (उनलाई काकु बाई पनि भनिन्थ्यो), भाइ बाला राव, तात्या टोपे, सेक्रेटरी अजिमुल्ला खान, बाबा गोडबोले, झन्नु सिंह, परशुराम जगमल तथा अन्य केही नौकर आएका थिए । तर अङ्ग्रेजहरू बीच एउटा हल्ला फैलिएको थियो– यिनीहरूका साथ केही अङ्ग्रेजहरू पनि थिए । तर पछि त्यहाँ रहेका सरकारी कर्मचारी नरसिंह पाध्याले सैनिक अफिसर सिद्धिमान सिंह राजभण्डारीलाई अङ्ग्रेज महिलाहरूको भने हत्या भइसकेको समाचार पठाएका थिए । शरण माग्न ठूलै समुह आए पनि जङ्गबहादुरले अन्ततः महिला तथा परिचारिकाहरूलाई मात्र शरण दिन सक्ने जानकारी दिए । उनले सिद्धिमान सिंहलाई खबर पठाए, ‘नानासाहेव र बालासाहेवलाई भनिदिनु, म उनीहरूलाई शरण दिएर अङ्ग्रेजसँगको सम्बन्ध बिगार्न चाहन्नँ ।’ यसरी खुला रूपले नानासाहेव र बालासाहेवलाई शरण नदिने भनिएपछि उनलाई छोड्न आएका अन्य सबै फर्किए तर सेक्रेटरी अजिमुल्ला खानका साथ नानासाहेव र बालासाहेव भने गएनन्, नेपालमा नै रहे ।
नानासाहेवले आफू ठूलो समुहका साथ आएको हुँदा खर्चको अभाव रहेको जानकारी दिँदै आफूसँग रहेको नौलखा हार बेच्ने मनसाय सिद्धिमान सिंहमार्फत गरेका थिए । पछि जङ्गबहादुरले नगद ९३ हजार रूपैयाँ मात्र दिन चाहेको जानकारी पाएपछि केही समय दोधारमा परेका थिए । तर आफ्नो खाँचो ठूलो भएको र त्यति धेरै रकम अरुले दिन नसक्ने सम्झी उनले सो नब्बे लाख भन्दा बढी पर्ने नौलखा हार जङ्गबहादुरलाई केवल ९३ हजार रूपैयाँमा नै दिएका थिए । नानासाहेवले आफ्नो लाहाछापको लागि बनाएको ३ इन्च लामो पन्ना पनि जङ्गबहादुरलाई नै दिए । यस बहुमुल्य हारलाई शिरोमणी हार भनिन्थ्यो, जसमा एकातर्फ नानासाहेवको छापको रूपमा नानाको घोडा चढेको आकृति कुँदिएको थियो । यसको साथै श्री ३ को श्रीपेचमा अंगुरका झुप्पा झै झुन्ड्याइएको पन्नाहरू पनि नानासाहेवले नै दिएका थिए । नानासाहेवले नेपालमा ल्याएका जवाहरातको सूची जुन सिद्धिमान सिंहले जङ्गबहादुरलाई पठाएका थिए । त्यसमा ४८ वटा मोती र २४ वटा पन्ना भएको नेकलेस तथा २ इन्च चौडा र ३ इन्च लामो हिरा पनि थियो । नेकलेसको बीचमा करिव आधा इन्चको चौकोर हिरा जडेको थियो जसको चारैतिर ३४ वटा साना साना हिरा जडित थियो । साथै साढे ३ इन्च लामो र २ इन्च चौडा अर्को एक हिरा जसको चारैतिर ३१ साना हिराजडित थियो त्यो पनि दिइएको थियो । अर्को एक इन्च चतुराकारको हिरा पनि थियो । यि सबै हिरा जवाहरातहरू नानासाहेवले नेपालमा शरण पाउनका लागि जङ्गबहादुरलाई घुसका रूपमा दिएका थिए ।
रानी हजरत महल र उनकाे कब्र

भारतमा रहेको अङ्ग्रेज सरकारको विरोधका कारण जङ्गबहादुरले बाहिर देखिने गरि नानासाहेवको विधवा धर्म आमा, दुई रानी तथा तथा अन्य परिचारिका महिलाहरूलाई काठमाडौंमा आउन अनुमति दिए तर नानासाहेवलाई भने काठमाडौं आउन दिएनन् । तर भित्र-भित्र गोप्य रूपमा नानासाहेव नेपालभित्र नै रहन छुट दिए । थापाथली दरबारनजिकै एक घर भाडामा लिएर शरणागत महिलाहरूलाई बस्ने प्रवन्ध मिलाए । साथै सो घरको भाडावापत मासिक ४०० रूपैयाँ पनि जङ्गबहादुरले नै ब्यवस्था गरिदिएका थिए । लखनउ विद्रोहमा पक्राउ परेका बेगम हजरत महल, नवाव वीरजिस कद्रका साथ नानासाहेवसँग आएका उनका आमा, दुई रानी तथा परिचारिकालाई जङ्गबहादुरले शरण दिए । नानासाहेवको परिवार तथा बेगम हजरत महललाई पनि थापाथलीनजिकै बस्ने ब्यवस्था मिलाइदिएका थिए । अङ्ग्रेजले नानासाहेव र बालारावलाई सुम्पन जङ्गबहादुरसमक्ष आग्रह गरे, तर जङ्गले यी दुइलाई अङ्ग्रेज सरकारसामु सुम्पनुभन्दा सुरक्षित लुकाउन मद्दत गरे ।
नानासाहेव, बालासाहेव तथा अजिमुल्ला खान भने गोप्य रूपमा योगीको भेषमा नेपालमा नै रहे । समय-समयमा थापाथली आएर धर्मआमा तथा रानीहरूलाई भेट्दथे तर जङ्गले थाहा नपाएझैँ गरिरहन्थे । नानाको कान्छीरानी काशी बाई भर्खरकी थिइन् । २४ वर्षकी काशी बाईका कारण पनि जङ्गले आफ्नो दरबारनजिकै नानासाहेवको परिवारका लागि घर खोजिदिएका थिए । नानासाहेवको मृत्यु भइसकेको भए पनि काशी बाई विधवा स्वरूपमा बसिनन् । कतै-कतै काशी बाईलाई नानाको भाइ बाला रावको रानी पनि भन्ने लेखिएको छ ।
नानासाहेवबाट बिभिन्न जवाहरातहरू घुसवापत पाएको हुँदा जङ्गबहादुरले नानासाहेवलाई सुरक्षित राख्ने ब्यवस्था गोप्य रूपमा मिलाइदिएका थिए । शुरुमा अङ्ग्रेजबाट उपहारमा पाएको चार जिल्लाको नयाँ नेपालमा नै लुकाइराखेका थिए । पछि अङ्ग्रेजका दूतहरू समय-समयमा बाँके आइरहने तथा जङ्गले बाँकेमा नयाँ शहरका रूपमा नेपालगञ्ज बनाउन लागेका हुँदा पनि त्यहाँ लुकाएर राख्न उचित नठानी दाङ पठाउने सोच बनाएका थिए । त्यसको लागि आफ्नो विश्वासपात्र सिद्धिमानसिंह राजभण्डारीलाई दाङको बडाहाकिम बनाइ पठाए । त्यही नानासाहेवलाई पनि गोप्य रूपमा बस्ने सिद्धिमानसिंहले नै ब्यवस्था मिलाइदिएका थिए । नानासाहेवले गोप्य रूपमा ३०० सिपाहीहरूलाई सुरक्षाका लागि पनि राखेका थिए । नाना तथा ती सबै सिपाहीहरू सन्यासीका रूपमा बसेका थिए ।
नानासाहेवका साथै उनका भाइ बाला राव पनि नेपालमा रहेको जानकारी गोप्य रूपमा अङ्ग्रेजलाई थियो । तर, जङ्गबहादुरले दाङको भित्री क्षेत्रमा गोप्य रूपमा सुरक्षित बस्न दिएका थिए । वि.सं. १९१६ को जेठ (सन् १८५९ जुन) मा दाङबाट सरदार सिद्धिमान सिंहले जङ्गबहादुरलाई पत्र लेखेर नानासाहेवको भाइ बाला रावले आफ्नो परिवारलाई जङ्गबहादुरको शरणमा छोडेर जाने चाहेको कुरा लेखे । तर जङ्ग ले अस्विकार गरे । यसको केही समयपछि बाला रावको पश्चिमनेपालमा रहेको समय देहान्त भयो । त्यतिबेला नै जङ्गबहादुरले नानासाहेवको जङ्गलमा शिकारको क्रममा बाघको आक्रमणबाट मृत्यु भएको समाचार फैलाइयो । तर वास्तविकता कसैलाई पनि ज्ञात रहेन । विधवा आमाले कृयाकर्म गर्न खर्च नभएको भन्दै केही गहना १० हजार रूपैयामा बेचे । बि.सं. १९१६ कार्तिक २१ गते जङ्गबहादुरको सहयोगमा निधारको एक हड्डी जो नानासाहेवको हो भनिएको थियो, लाई चितामा राखेर अत्येष्टि गरियो ।
उता नानासाहेवको मृत्यु भएको भनि अन्त्येष्टि समेत गरियो । तर, काशी बाईले रातो साडी र निधारभरि टीका लगाउन तथा रातो चुरा लगाउन छोडेनन् । अर्कोतर्फ यो पनि हल्ला थियो कि जङ्गले काशी बाईलाई गोप्य रूपमा पत्नी बनाएकी थिइन् । उनको घरमा जङ्ग बाहेक कसैलाई जाने अनुमति नै थिएन । काशी बाईको घर, बेगम हजरत महलको घर तथा पञ्जावकेशरी महाराजा रञ्जित सिंहकी बिधवा जिंद कौर बस्ने घर नजिकनजिक नै थियो । इ.सं. १८६० मे ७ मा थापाथली दरबारनजिकै बसिरहेका बेगम हजरत महल, काशी बाई तथा कृष्णा बाईले जङ्गबहादुरलाई किस्तीहरू भरी-भरी सुन, हिरा, मोती तथा पन्ना इत्यादी जवाहरातहरू नजराना चढाएका थिए ।
सन् १८६१ फेब्रुअरीमा जिंद कौर कलकत्तामा आफ्नो छोरालाई भेट्न फर्केपछि जिंद कौर बस्ने थापाथलीको घर काशी बाईलाई जङ्गबहादुरले दिएका थिए । बेगम हजरत महललाई पनि थापाथली दरबारनजिकै नै बस्ने घर बनाइदिएका थिए । जुन घरलाई बरफ बाग भनिएको थियो । सन् १८७३ मा हजरत महलको निधन भए पछि घन्टाघर नजिकै रहेको जामा मस्जिदमा कब्र बनाएर गाडियो । उनको महल बरफ वाग भने जङ्गको थापाथली दरबारभित्र नै समाहित भयो । छोरा नवाव बिरजिस कद्रलाई रानी भिक्टोरियाले क्षमा दिएपछि फर्केर कलकत्ता गए जहाँ उनको आफन्तबाट नै हत्या भयो ।
यता जङ्गबहादुर, नानासाहेवको मृत्युको झुठो समाचार प्रमाणित गर्न विस्तारै सक्षम हुँदै गए । नेपालमा रहेको बेलायती रेसिडेन्ट ले.क. जर्ज रामसेले बेलायत सरकारलाई पत्र लेखेर नानासाहेबको मृत्यु भएको समाचार पठाए । यसरी सरकारी रूपमा नानासाहेवको मृत्युको झुठो समाचार फैलाएर जङ्गबहादुरले नानासाहेबलाई नेपालमा नै रहने ब्यबस्था मिलाइ रहे । त्यस्तै उनका सेक्रेटरी अजिमुल्ला खानको पनि वि.सं. १९१६ को मंसिरमा नै बुटवलमा देहान्त भएको खबर अङ्ग्रेजलाई पठाइसकेका थिए ।
यसरी नानाको मृत्यु भइसकेको समाचार ब्यापक गरि अन्त्येष्टी समेत गरेको ६-७ वर्ष पछि काशी बाईको बाबु नेपाल आएका थिए । छोरीलाई भेटेपछि छोरीको पहिरन देखेर आश्चर्यित भएका थिए । उनमा बिधवाको स्वरूप कति पनि थिएन । निधारमा सिन्दुर, हातमा चुरा, आँखामा चमक उस्तै देखे । बाबुलाई काशी बाईले आफ्नो पतिको निधन नभएको जानकारी दिएका थिए । काशी बाईलाई भेट्न नाना हरेक साल शिवरात्रीको समय थापाथली पुग्दथे । केही समय उनको साथ बसेर फेरी गुप्तवासतर्फ लाग्दथे ।
४२ साल पर्वपछि वि.सं. १९४२ को कार्तिकमा जनरल केदारनरसिंह राणा काठमाडौबाट लखेटिए । नानासाहेवका साथ केदारनरसिंहको राम्रो सम्बन्ध थियो । तसर्थ उनले लेखापढी गरि कागजपत्र मिलाइ फर्जी नाम राखेर फकिरका रूपमा वि.सं. १९४४ मा इलाहावाद लिएर गए । इलाहावादमा केदारनरसिंहका साथ नानासाहेव करिव ७ वर्ष फकिरका रूपमा रहे । धेरै पछि उनको निधन भएको समाचार केदारनरसिंह राणाले वीरशम्शेरलाई दिएका थिए । सन् १९७० मा केही डायरी तथा चिट्ठीहरू भेटियो, जसका अनुसार नानासाहेवले आफ्नो छद्म नाम योगिन्द्र दयानन्द महाराजका रूपमा भारतकै विभिन्न शहरमा लुकिछिपि बसिरहेका थिए । यसरी लुक्दैछिप्दै बसेका नानासाहेवको वि.सं. १९६० तिर गुजरातमा निधन भएको थियो ।

Comments

Popular posts from this blog

कथा बोल बमको

त्रिभुवनको पलायन र देशमा प्रजातन्त्र

इतिहासमा चुरोट र नेपालमा यसको प्रवेश