वीरशमशेर

बि.सं. १९५७ को फागुन २३ गते (सन १९०१ को मार्च ५ तारिख) फागु पूर्णिमाका दिन श्री ३ वीरशमशेरको देहावसान भएको थियो । केवल ४८ वर्ष दुइ महिनाको उमेरमा देहावसान भएका श्री ३ वीरशमशेरका बारेमा केही कुराहरु भन्ने गरिन्छ । जुन कुरा उनकै वंशका राणा इतिहासका ज्ञाता पुरुषोत्तम शमशेरले पनि उल्लेख गरेका छन् ।

बि.सं. १९४२ को भदमा माहिला साहेवज्यू उपेन्द्र विक्रम शाहले तान्त्रिक साधना गरेको एक जन्तर वीरशमशेरका पाखुरामा लगाइदिएका थिए । र भनेका थिए, जुवाइ अब तिमी महाराज भय । उनको यो कुरा सुनेर त्यहाँ भएका सबै हाँसे । तर तीन महिना भित्र नै वीरशमशेर लगायतका धीरशमशेरका छोराहरुले ठूलो बुबा रणोद्वीपको हत्या गरेर महाराज बने । त्यसपछि वीरले फ्नो ससुराले साधना गरेर दिएको जन्तर सधै लगाएर हिड्न थाले । वर्ष सम्हालेर लगाइ रहेको जन्तर अन्तत १९५७ को तिहारको समाप्तिको केही दिन पछि हरायो । दरवार भित्र नै हराएको हुँदा कसैले चोरेको शंकामा सबैको खानतलासी गर्दा समेत भेटिएन । जन्तर हराए पछि वीरशमशेरला एउटा डर पैदा भयो । जन्तरका कारणले पाएको महाराज कतै जन्तर हराएसंगै गुम्ने त होइन भन्ने पिर परेको थियो । तर वास्तविकतामा उनको अत्यधिक रक्सी पिउने बानीले गर्दा उनला एन्यूरिज्म भयो । जसका कारणले नै १९५७ सालको फागुन २३ गते देहावसान भयो ।  

वीरशमशेरको उदय

निसन्तान श्री ३ रणोद्वीप करिव ९ वर्ष देखि श्री ३ महाराज बनिरहेका थिए । उनको मृत्यु पछि श्री ३ को पालो जङ्गका सन्ततीमा जाने थियो । जङ्का छोराहरु धेरै थिए । तसर्थ धीरशम्शेरका १७ छोरामा पालो आउनु अगाडि नै धीरका छोराहरु बिस्तारै संसार छोडिसक्ने सम्भावना थियो । नेपालको प्रधानमन्त्री तथा श्री ३ को रुपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीप सिंह कुँवरको हत्या गरि सत्तामा पुग्ने योजना धीरशमशेरका ६ छोराहरुले गर्दै थिए । ज्योतिषला उपयुक्त साइत समेत हेर्न लगाइएको थियो । ज्योतिषले १९४२ मंसिर ९ गते इतवार पूर्णिमाको रात रोजिएको थियो । पूर्णिमाको रात यसैले रोजिएको थियो । हत्या पछि राती नै सबै ब्यबस्था सहजै गर्न सकियोस । यस अगाडि नै श्री ३ रणोद्वीपबाट भारतमा रहेको अंग्रेज सरकारको निम्तोमा सैनिक प्रदर्शनका लागि ३००० सैनिकहरु लिएर रावलपिण्डी जानका लागि वीरशमशेरला अनुमति दिइसकिएको थियो । यसैको फाइदा लुट्दै वीरशमशेरले दिनमा नै ३००० सैनिकहरुला वागदरवार क्षेत्रमा तैनाथ गरिसकेका थिए ।

राती ९ बजे पछि बिस्तारै तैयारी शुरु गरे । खड्गशमशेर, भीमशमशेर र डम्बरशमशेर श्री ३ को खोपी भित्र पसेर गोली चलाए । बाहिर वीरशमशेरले बिजुली गारतला नियन्त्रणमा लिएर फू श्री ३ भइसकेको जानकारी दिए । रणोद्वीपको हत्या पछि जङ्गका छोरा नाति तथा नजिकका नातेदारहरू पनि खोजि खोजि हत्या गर्न थाले । यसरी श्री ३ रणोद्वीप र जङ्गबहादुरका सन्तानहरुको हत्या गरि धीरशम्शेरका छोराहरुले एक छत्र रुपमा राणा शासनको बागडोर सम्हाल्न पुगेका थिए । ४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा नातिहरु या त मारिए या लखेटिए ।

यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशम्शेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरे पछि वीरशम्शेरले अंग्रेजका बिभिन्न शर्तहरु मान्न तैयार भएका थिए । भारतीय सेनामा रहेको गोर्खालीहरुको संख्या बढाउन समेत मञ्जुरी दिएका थिए । भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेन । यता रेसिडेन्टका रुपमा रहेका गर्ल्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा स्विकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए । उनले पनि सहयोग गरेनन् । तसर्थ यसको लागि अंग्रेज सरकारका प्रतिनिधीहरुले बिभिन्न माग श्री ३ वीर सामु राख्न थाले । बेलायती सेनामा गोर्खालीहरुको भर्ति केन्द्र नेपालमा नै राख्ने चाहना एक प्रमुख थियो भने अन्यमा बेलायतीहरुलाई सहज प्रवेश तथा ब्यापार गर्न छुट दिन समेत मागेका थिए । वीरशम्शेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न अंग्रेजका केही चाहना पुरा गरिदिएका थिए ।

यसरी सरकारलाई मान्यता पाएको वीर शम्शेरको सम्बन्ध लर्ड डफरिनसंग खासै राम्रो रहेन । तर त्यसपछिका भाइसरायहरु लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो । सन १८९२ को मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्ट्सको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढि पुरा भयो । वीरशम्शेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्ट्स निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुदै घोडामा चढेर काठमाडौ पुगेका थिए । काठमाडौमा उनको लागि १८००० सैनिकहरुबाट मार्चपास्ट तथा सलामी दिइएको थियो । त्यसबेला नेपाली सेनाका प्रमुख देवशम्शेर थिए । नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्ट्सले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने ब्यबस्था समेत गरेका थिए । यसको एक वर्ष नबित्दै श्री ३ वीर शम्शेरले इ.सं. १८९३ फेब्रुवरीमा कलकत्ता भ्रमणका लागि निस्किए । नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे । यस भ्रमणमा वीरशम्शेरले बेलायतसंग ८००० मार्टिनी हेनरी राइफलको अर्डर दिएका थिए । भने मनग्गे गोलाबारुदको पनि अर्डर दिएका थिए ।

यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशम्शेर बेलायत घुम्ने सपना देख्न थाले । ठूलो बुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणा परिवारमा निकै चर्चा हुने गर्दथ्यो । त्यसैले वीरशम्शेरलाई पनि बेलायत जाने रहर जाग्यो । सन १८९५ को अन्त तिर काठमाडौमा रहेको रेसिडेन्ट मार्फत अनुरोध पत्र पठाए । तत्कालिन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुँदा पनि श्री ३ वीर ढुक्क थिए बेलायत घुम्न पाउनेमा । यता भाइसराय भित्र भित्र चिन्तित थिए - कतै बेलायतबाट अस्विकृत भयो भने नेपालसंगको सम्बन्ध बिग्रन सक्ने आकलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए ।

वीरशमशेरको जन्म

वीरशम्शेर जन्म देखि नै अभागी थिए । उनको जुन समय जन्म भयो त्यो दिन राशीमा अशुभ दिन चलिराखेको थियो । उनको जन्मको केही समय पछि आमाको निधन भएको हुँदा पनि उनलाई ज्योतिषको सल्लाह अनुसार घर राखिएन । १२ वर्षको उमेरसम्मका लागि ठूलो बुबा जङ्गबहादुरको थापाथली दरवारमा राखियो जहाँ जङ्गबहादुरकी रानी पुतली महारानीले आफ्नै छोरा झै आफ्ना छोराहरुका साथ हुर्काए । थापाथली दरवारमा रहँदा बाल्यकालमा जङ्गबहादुरले उनलाई "कैले" भनेर बोलाउँथे । जङ्गले नै उनको नाम "वीर" भनेर राखिदिएका थिए । उनका दौतरीहरुमा जङ्गका सन्तान बबरजंग, दीपकुमारी तथा खड्गकुमारीहरु थिए । तर बिदम्बना यिनै वीरशम्शेरले आफ्नो स्याहारसुसार गर्ने जङ्गबहादुरका सन्तानहरुलाई नै मार्न लगाए ।

ठूलो बुबा जङ्गबहादुरको सामिप्यमा रहँदा उनले शुरुमा दरवार हाइस्कूल र पछि डोवटन कलेज, कलकत्तामा अध्ययन गरे । जङ्गकै कार्यकालमा कलकत्तामा वकिलका रुपमा गए । त्यहाँ उनले नेपालको राजकाज सम्बन्धी कार्य अंग्रेज सरकारका बिच गर्दथे । कलकत्तामा निकै अनुभवहरु संगालेका उनि अंग्रेजी राम्रै बुझ्दथे । बोल्न अलि कम सक्थे । साथमा हिन्दी, उर्दु र पर्सियन भनि राम्रैसंग बुझ्दथे र बोल्दथे पनि । जङ्गले केही गर्न सक्ने भतिजाको रुपमा उनको चर्चा गर्दथे ।

सम्पन्न वीरशमशेर

नेपाल फर्किए पछि पनि उनको रहनसहन बिशेष थियो । उनि बिशेष तामझामका साथ निसाफ गर्न पुग्दथे । साथमा उनको नीजि सौखले बेलायत तथा भारतबाट समेत मगाएर पालिएका बिशेष नस्लका गाईहरुको फार्म नै थियो । सो निरिक्षण गर्न दैनिक जसो पुग्दथे । उनको खान्की भन्दा पनि उनको खवाइको भाडाहरु बिशेष थियो । शुद्ध सुनको थाल, कचौरा तथा ग्लासहरुको तौल ३६२ तोलाको थियो । झण्डै दुइ धार्नीको उनको सुनका सामग्रीमा उनलाई खाना पस्किने गरिन्थ्यो । उनको ठूलो थालको तौल नै १४५ तोलाको थियो । १२० तोलाको ३ वटा कचौरा थिए भने ६० तोलाको पानी पिउने जग थियो । साथै १२ तोलाको चम्चा पनि थियो ।

हिन्दु धर्म प्रति कट्टर उनि खाना शुद्ध ब्राम्हणबाट पकाएको मात्र खान्थे । खाना खानु अगाडि कतै बिष मिसाएका हुन सक्ने भन्दै एक पण्डितलाई खान लगाएर मात्र आफू खान्थे । खान बस्ने चौकीको वरपर गाईको गोबरले लिन लगाई शुद्ध र किटाणु मुक्त गराउँथे । हरेक पटक गंगा जलले मात्र हात धुने गर्दथे । खाना पछि शुद्ध सुनले बनेको हुक्कामा तम्बाकु तान्दथे । उनको लवाई पनि बिशेष हुने गर्दथ्यो । उनले लगाउने ज्याकेट बेलायतबाट मगाउँथे । प्राय उनि कोटमा भन्दा बढि ज्याकेटमा नै देखिन्थे । उनको टोपी पनि फ्रान्सेली सैनिकहरुले लगाउने "फोरेज क्याप" हुने गर्दथ्यो ।

ठूलो बुबा जङ्गबहादुर झै उनि पनि संगीत तथा नृत्यको सौखिन थिए । उनको दरवारमा सेनाको बाण्डले बजाएको संगीत सुन्दथे भने भारतीय शास्त्रीय गीतसंगीत तथा नाचको पनि सौखिन थिए । यहि सौखका कारण नेपालमा पहिलो पटक शास्त्रीय संगीतको भेला नै भएको थियो । "बगडीको जल्सा" नामले प्रख्यात यो भेलामा वीरगंज नजिकैको गाउँ बगहीमा भएको यस बृहत संगीत भेला बिसं १९५६ को पुसमा भएको थियो । त्यस भेलामा भारतीय शास्त्रीय संगीतकारहरुको मेला नै लागेको थियो । सयौ संगीतकार तथा रागगायनका माहिरहरुको जमघट नै भएको थियो ।

वीरशमशेर रानी टोपकुमारीदेवीका साथ


उनले बनाएको चारबुर्जा दरवार तत्कालिन समयको आधुनिक महलमा पर्दथ्यो । वास्तुकलाविद जोगवीर स्थापितको डिजाइनमा बनेको यस दरवार पछि छोरा रुद्रशम्शेरलाई दिए । १९९० मा जुद्धशम्शेरबाट लखेटिए पछि यो दरवार बहादुर शम्शेरको हकमा पुग्यो । बहादुर भवनको नाम रहन गएको यो दरवार बोरिस द्वारा नेपालकै पहिलो होटल रोयल होटलको रुपमा रहन पुग्यो । हाल यस भवनमा निर्वाचन आयोगको कार्यालय रहेको छ । यसको साथै रणोद्वीपको नारायणहिटी दरवार भत्काएर त्यहाँ नयाँ दरवार बनाउन लगाएका थिएँ । जुन दरवार आफ्ना ज्वाइ पृथ्वी वीर बिक्रमलाई दिए । जसले गर्दा पछि सम्म शाह राजाहरुको दरवारका रुपमा रहन गयो । नारायणहिटीको दायाँतर्फ बिशाल सेतो दरवार बनाएँ, जुन छोरा गेहेन्द्रशम्शेरका लागि दिए । बायाँतर्फ फोहरा दरवार बनाएँ जुन छोरा प्रतापशम्शेरलाई दिए । फेरी अर्को फोहरा दरवार कान्छी महारानीका लागि पनि बनाइदिए । पहिलो फोहरा दरवार राजा महेन्द्रले भत्काइ नारायणहिटी भित्र गाभे । दोश्रो फोहरा दरवार अमेरिकी राजदुतावासले किने । भाइ जुद्धशम्शेर र उनकी आमा जुहारकुमारीका लागि जावलाखेल दरवार बनाइदिएका थिए । छोरा धर्मशम्शेरका लागि भाटभटेनी दरवार बनाइदिए । भाइ भीमशम्शेरका लागि टंगाल दरवार बनाइदिएका थिए । कान्छी रानी टोपकुमारी देवीका लागि लाल दरवार बनाइदिए जुन हाल याक एण्ड यती होटलका रुपमा रहेको छ ।


यस्तै वीरशम्शेरले जनताका लागि अस्पताल बनाउन लगाए । जसको नाम शुरुमा पृथ्वी वीर अस्पताल रहेको थियो । यो अस्पताल पहिले रानीपोखरीको पश्चिम हाल राष्ट्रिय नाचघर रहेको ठाउँमा थियो । पछि वीरशम्शेरले नै हालको स्थानमा बिशाल भवन बनाउन लगाइ अस्पताल सारे । वीरशम्शेरले बेलायती बिग बेनको नक्कल गर्दै रानीपोखरीको पूर्वमा घण्टाघर बनाउन लगाएका थिए । दरवार हाइस्कूलका नाममा स्कूल त थियो तर स्थाइ रुपमा भवन थिएन । वीरशम्शेरले दरवार हाइस्कूलको लागि लामो टहरा रुपी भवन बनाइदिए । गहवामाईको मन्दिर रहेको सानो गाउँको नाम गहवा थियो । जसलाई वीरगञ्ज नामाकरण गराइ बस्ती बसाए । साथै त्यहाँ मुडुली दरवार बनाइदिएका थिए ।

खिन वीरशमशेर

उनि आफू कान्छी रानी टोपकुमारी देवीका साथ लालदरवारमा बस्दथे । उनले सो दरवारमा अत्याधुनिक सामग्रीहरुले सजाएका थिए । उनको कोठाहरुमा बेलायती फर्निचरहरुले सजिएको थियो । काँचका भाडाकुडा किसिम किसिमका थिए । भेनेटिएन (इटलीको) ग्लासका रुपमा प्रख्यात सामग्रीहरुले भरिएका थिए । कोठाका भुइहरुमा इटालियन मार्बल राखिएको थियो भने त्यसमाथि पर्सियन (इरान) कार्पेट ओछ्याइएको ‍थियो । कोठाहरुमा ग्याँस ल्याम्पबाट उज्यालो बनाइन्थ्यो । कोठाका छतहरुमा किसिम किसिमका बेल्जियन क्रिस्टल झुमरहरु झुण्ड्याइएका थिए । बगैंचामा समेत बाफको जेनरेटरबाट कार्वन लाइटहरु बालेर रातमा समेत आकर्षक बनाइएको थियो ।
वीरशम्शेरको विवाह उपेन्द्र (राजा सुरेन्द्रको भाइ) वीर बिक्रमको छोरी दिव्येश्वरी राज्यलक्ष्मीसंग भएको थियो । वीरशम्शेरले आफ्नी रानीको लागि सुसारेको रुपमा ठिमीकी नेवार्नी खञ्जन नाम गरेकी मैयाँलाई राखे । तर यिनै नेवार्नी मैयाँ वीरकी प्यारी कान्छी महारानी बनिन् । जसलाई पछि टोपकुमारी नाम राखियो ।

यिनको सम्बन्धमा पनि रोचक कथा छ । रानी दिव्येश्वरीको सुसारेको रुपमा राखिएको खञ्जन निकै राम्री थिइन् । बुबा उपेन्द्रले ति सुसारेलाई हटाउन भने पनि पतिका कारणले सुसारेबाट हटाउन सकेनन् । एकदिन खञ्जन राती सुतेको समयमा रानी दिव्येश्वरीले अनुहारमा एसिड खन्याइदिए । यस घटनाले झन वीरको प्रेम खञ्जन प्रति अझ प्रगाढ भयो । उनले उनको अनुहारको उपचार गराए साथै उनीसंग विवाह पनि गरे । साथै महारानीको दर्जा पनि दिलाए र खञ्जनको आँखा राम्रै देख्न सक्ने भयो । अनुहारमा भने केही दाग रह्यो । वीरले महारानीको दर्जा दिलाएका खञ्जनबाट जन्मिएका रुद्रशम्शेर (पोखरा तथा भक्तपुरका वडाहाकिम धनशम्शेरका बुबा)लाई रोलक्रममा पनि राखे । तर पछि जुद्ध शम्शेरले ल्याइतेबाट जन्मिएका सन्तान भएको हुँदा रुद्रशम्शेरको रोलक्रम खोसिदिए र पाल्पा धपाइए । यिनै टोपकुमारीबाट जन्मिएका दुइ छोरीलाई राजा पृथ्वी वीर बिक्रमसंग विवाह गराइदिएका थिए । वीरको चाहना आफ्नो नाति भविष्यको राजा बनाउने थियो । लामो समयसम्म पृथ्वी वीर बिक्रमको छोराको जन्म भएन । जेठी छोरी लक्ष्मी राज्य लक्ष्मीलाई पहिलो पटक राजाको उत्तराधिकारीको रुपमा नियुक्त गरियो । अन्तत करिव ११ वर्ष पछि बिसं १९६३ को असारमा पंजावबाट विवाह गरि ल्याइएका रानीबाट त्रिभुवनको जन्म भए पछि युवराज घोषणा गरियो ।

वीरशमशेर साथमा रानी, दुइ छोरी र
ज्वाइ राजा पृथ्वी वीर बिक्रमका साथ

 

यिनै श्री ३ वीरको कान्छी रानी खञ्जनको फूपुकी छोरीले नःकर्मीसंग विवाह गरे पछि परिवारले स्विकार नगर्दा निकै दुख पाएकी थिइन । वीर शम्शेरको जेठा छोरा गेहेन्द्र शम्शेर बैज्ञानिक थिए । उनले नेपालमा पहिलो पटक गाडी भित्राएर काठमाडौमा गुडाएका पनि थिए । यहि गाडी गुडाउनका लागि पहिलो चालकका रुपमा दशनारायण नकर्मीलाई राखेका थिए । पछि नेपालमा गाडीहरु भित्रिन थालेपछि लाजिम्पाट क्षेत्रमा गाडि बनाउने वर्क्स सप नै खोल्न लगाएका थिए ।

पोखरामा पनि वीरकी कान्छी रानीको बिशेष महत्वपूर्ण कार्य रहेको छ । पोखरामा बसोबास गर्ने छब्बीस कुरियाका नेवाःहरुलाई यहाँ रहेका ब्राम्हण क्षेत्रीहरुले धपाएर सो ठाउँ आफूहरुले ‍ओगट्ने प्रयास गरेका थिए । जसको बचाउका लागि पोखराका नेवाःहरुले श्री ३ वीर सामु बिन्तीपत्र चढाएका थिए । यसरी श्री ३ वीर सामु पुगेको बिन्तीपत्र कान्छी रानीले थाहा पाइ आफू नेवाः भएको हुँदा पोखराका नेवाःहरु बिस्थापन हुनबाट जोगाउन वीरशम्शेर मार्फत लालमोहर पठाइ छब्बीस कुरियामा नेवाःहरु नै रहने ब्यबस्था गराएका थिए । यदि ब्राम्हण क्षेत्रीहरुबाट दखल भएमा उनीहरुले पाएका कुरिया तथा हुलाकी खेतहरु पनि नेवाःलाई दिलाउने निर्णय गरि पठाए पछि पोखराका नेवाःहरु बिस्थापन हुनबाट जोगिएका थिए ।

प्रशासनिक कार्यमा केही सुधारहरु


प्रशासनिक सुधारमा जङ्गबहादुरको बिशेष योगदान छ । उनले बनाएका चार गौडा र तिनमा रहने बडाहाकिमका काम र कर्तव्य बिभाजन गरिएको थियो । यि बडाहाकिमहरु राणा दरवारका अति नै निकटस्तहरु हुने गर्दथे । वीरशम्शेरले यस प्रशासनिक कार्यमा केही सुधारहरु गरे ।


हाजिरी गोश्वाराको स्थापना गराइ सम्पूर्ण कर्मचारीहरुलाई नियमन गर्न मिलाए । हाजिरी देखि लिएर कामको विषयमा समेत जानकारी एकै ठाउँबाट गर्ने प्रबन्ध मिलाए । साथै शहर सफाइ अड्डाको स्थापना गराइ सफाइ तिर पनि ध्यान दिएका थिए । प्रशासनिक काममा सहज बनाउन तराईमा १२ जिल्ला र पहाडमा २३ तहसिल अड्डाको ब्यबस्था गरे । तहसिललाई फेरि जिल्ला,थुम, daras, garkhas मा बिभाजन गराए । यसलाई पनि मौजा र गाउँमा बिभाजन गरे । हरेक तहसिलमा हाकिम वा वडाहाकिम रहने ब्यबस्था पनि मिलाए । तराईका जिल्लाहरुलाई पनि चार भागमा विभाजन गराए ।

जमिन्दार, पटवारी तथा चौधरी मार्फत कर उठाउने ब्यबस्था मिलाए । जसको अधिन वडाहाकिम अन्तरगत मिलाइयो । मुद्दा मामिलाका लागि अपिल अड्डाको गठन गराए । वीर शम्शेरकै कान्छी बडामहारानीबाट निजि खर्चमा उपत्यकामा सार्वजनिक धाराको रुपमा "वीरधारा" तथा घरमा समेत धाराको प्रबन्ध मिलाएका थिए । जसको ब्यबस्थापनका लागि "पानी गोश्वारा"को स्थापना गरेका थिए ।

शंकालु वीरशमशेर

 
ठूलो बुबा रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरशम्शेर निकै शंकालु भएका थिए । कतै आफ्नो हत्या गरि भाइहरु सत्तामा आउने षडयन्त्र रच्न सक्ने शंकामा रातदिन रहन्थे । यहि क्रममा भाइ खड्गशम्शेर पनि पाल्पा धपाइएका थिए । रातमा पनि ३-४ पटक कोठा फेरेर सुत्थे । निदाउँदा पनि एक हातले सिरानी च्याप्ने र अर्को हातमा रिवल्वर हुन्थ्यो । कोठा बदलि गर्दा कान्छी महारानी तोपकुमारी पनि एक हातमा चाँदीको पिकदान र अर्को हातमा सुराही बोकेर पछि पछि लाग्थे ।

वीरशम्शेरका जेठा छोरा गेहेन्द्रशम्शेर नेपालकै पहिलो बैज्ञानिक थिए । उनले बिभिन्न किसिमका हतियारहरु बनाएका थिए । उनको सेतो दरवारमा बिशाल ज्यासल नै बनाएका थिए । जहाँ हावाबाट चल्ने ठूला पंखाबाट बिजुली निकालेका थिए । तर दुर्भाग्य उनको केवल ३६ वर्षको उमेरमा निधन भयो । उनको अप्रत्याशित निधनलाई चन्द्रशम्शेरले विष दिएर हत्या गरेको भन्ने गरिन्छ ।

अन्तत सन १९०१ को अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए । पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि ब्यबस्था सबै मिलाइनेछ । तर शिकारको निम्तो दिएको दिएको एक महिना अगाडि नै सन १९०१ मार्च ३ तदनुसार बि.सं. १९५७ फागुन २३ गते मंगलवार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशम्शेरको उच्च रक्तचापका कारण एन्यूरिज्म भएर देहावसान भएको थियो ।

Comments

Popular posts from this blog

नौलखा हार र जङ्गबहादुरको श्रीपेच

कथा बोल बमको

त्रिभुवनको पलायन र देशमा प्रजातन्त्र