६० वर्ष अगाडिको यात्रा कथा
२०२० सालतिर नेपाल प्रति रुचि राख्ने केही युवाहरु बेलायतमा
जम्मा भएका थिए । त्यतिबेला बेलायतमा बेलायत नेपाल सोसाइटीमा आबद्ध भएपछि त्यसमा
सूदुर पूर्वमा रहेको हिमाली राज्य नेपाल प्रति रुचि राख्नेहरुको समुह नै बनेको
थियो । त्यहाँ जम्मा हुँदा नेपाल सम्बन्धी निकै कुराहरु हुन्थे । त्यस सोसाइटीका
केही सदस्य हिमाल आरोहीहरु पनि थिए । केही कूटनीतिज्ञहरु पनि थिए । केही गोर्खा
रेजिमेन्टका सैनिक अफिसरहरु थिए । केही भने लण्डनमा काम गर्ने नेपाली र बेलायतमा
अध्ययन गर्न आएका नेपालीहरु थिए । कहिले काँही सोसाइटीको भेटघाट नेपाली
राजदुतावासमा हुन्थ्यो । यसले गर्दा हामीलाई झन बढी नेपाल प्रति रुचि बढ्दै गयो र
एकपटक नेपाल घुम्न जाने इच्छा जाग्न थाल्यो ।
हाम्रो योजना अनुसार भारतको
सिमा निकट रहेको बुटवलबाट १३० किलोमिटर पैदल यात्रा शुरु गरि पोखरा पुग्ने र
पोखराको केही दिनको बसाइ पछि पोखरा विमानस्थलबाट डिसी ३ जहाजमा काठमाडौ उड्ने थियो
। त्यसपछि गाडीमा रक्सौल तर्फ यात्रा गरेर नेपाल छोड्ने थियो ।
यात्रा आरम्भ
नौतनवा-बुटवल-तानसेन
अन्तत हामी हाम्रो सपना साकार गर्न २०२३ सालको असोज ८ गते
शनिवारको राति १० बजे हामी चार जना नेपालको सीमा नजिकै नौतनवामा रेलगाडीबाट झर्यौ
। दिनभरमा केवल तीन वटा रेल मात्र नौतनवामा आउँदथ्यो । त्यसैले रेलको बाटो कुरेर
बसेका मनग्गे नेपालीहरु देखिन्थे । हामी झर्नु अगाडि नै रेल चढ्नेहरुको भिड लाग्न
थाल्यो । ठेल्दै गोर्खाली जवानहरु चढ्न थाले । शायद छुट्टी पछि फर्केका जवानहरु
थिए वा भर्ति हुन गएका युवाहरु थिए ।
त्यतिबेला नौतनवामा बत्ती आइसकेको थिएन । त्यसैले बाहिर
अन्धकार थियो । हामी प्रतिक्षालयमा पस्यौ । छतमा औपनिवेश युगको निशानी स्वरुप
हातले चलाउनु पर्ने पंखा लट्किएको थियो । पंखा चलाइ दिने कोही मजदूर हुने भए शायद
शितल हुन्थ्यो होला तर त्यहाँ कोही थिएन । केही समयको प्रतिक्षा पछि इमिग्रेशन
अफिसर आइपुगे । उनले कागजमा सम्पूर्ण विवरणहरु लेखेपछि कारिन्दालाई छाप लगाउनका
लागि पठाए । म सोफाको एक छेउमा सुत्ने प्रयास गर्न थाले । कोठा गर्मीले गर्दा
बाफिएको थियो । लामखुट्टैहरुले मलाई जिउँदै खान थालेका थिए । ब्यागबाट आर्मी लोशन
लगाए । यसैले गर्दा मलाई गहिरो निँद लाग्यो ।
भोलिपल्ट आइतवार बिहानै एउटा थोत्रो बसले हामीलाई नेपालको
सीमा सुनौली पुर्यायो । सुनौलीको सीमामा आबश्यक चेकिङको काम समाप्त भएपछि हाम्रो
बसको अन्तिम बिन्दू बुटवलसम्म जानका लागि बस कुर्न थाल्यौ । बस आउन एक घण्टा बाकी
थियो । यसैले समयको सदुपयोग गर्न नेपालको पैसा साट्न गयौ । यसपछि शितलमा बस्दै
गर्दा एक नेपाली दुन प्रताप सिंहसंग भेट भयो । उनको घर तानसेन नजिकै गाउँमा थियो ।
थोरै थोरै अंग्रेजी बोल्न जान्ने हुँदा हामीले भरिया खोज्नका लागि उनिसंग सहयोग
माग्यौ । उनले भरिया खोज्नमा मद्दत गर्यौ । हामी तिनाउ खोला माथि रहेको एक पुरानो
झोलुङ्गे पुल चढेर खस्यौली पुग्यौ । खस्यौलीबाट नै हाम्रो पोखराको पैदल यात्रा
शुरु गर्नु थियो ।
खस्यौली पुगेपछि दुनले सानो झुपडीमा लगे । जहाँ खानाको ब्यबस्था थियो । त्यहाँ दाल, भात, तरकारी सहितको शाकाहारी खाना पस्कियो । हामी भुइमा गुन्द्रीमा बसेर खाना खान बस्यौ । खाना खाँदै गर्दा दुनप्रतापले भरियाहरु लिएर आइपुगे । भरियाले पाँच दिनको लागि पचास रुपैंया र डोकोको ब्यबस्था गरिदिन आग्रह गरे । भरिया त्यति सहज मानेका थिएनन् । भरियाहरु खस्यौलीबाट तानसेनसम्म मात्र जाने गर्दथे । त्यो भन्दा टाढा जान खोज्दैनथे । अन्तमा हामीले भरिया खम वीरलाई हाम्रो सामान बोक्नमा राजी पायौ । जानु अगाडि दुइ जोर टुना नभएको कपडाको जुत्ता किन्यौ । जुन यात्रामा समय समयमा फेर्नका लागि सजिलो हुन्थ्यो । बुटवलमा निकै गर्मी थियो । त्यसैले हामी साँझ पाँच बजे खस्यौलीबाट तानसेनका लागि निस्कियौ ।
हामी खस्यौलीबाट ठिक समयमा नै निस्किएका थियौ । तर करिव ३०० मिटरको यात्रा पछि नै नयाँ बन्दै गरेको राजमार्गको निर्माणका क्रममा अवरोध सिर्जना भएको रहेछ । बम बिस्फोट गराएर चट्टान फोर्न लागेको हुँदा यात्रा गर्न दिइएको थिएन । यत्रतत्र भरियाहरु छरिएर बसिरहेका थिए । केही समय पछि ब्यारियर खोलेर हिड्न दिइयो ।
उकाली ओराली गर्दै यात्रा
गर्दा हाम्रो भरिया खमवीरलाई पछ्याउँदै माथि डाँडाबाट तल नदी किनारमा पुग्यौ ।
साँझको करिव ६ बजेतिर हामी निकै हल्लिरहेको साँघुरो झोलुङ्गे पुलबाट नदी तर्यौ ।
पुलबाट नदी तर्दा भारीको १० पैसा कर लिइयो । पूर्णिमाको रात भएको हुँदा उज्यालो
थियो । त्यसैले खाजा खाएर हिडाइलाई निरन्तरता दियौ । निकै रात परेपछि अर्को खोला
किनारमा बास बस्यौ । केही अगाडि मात्र खाजा खाएको हुँदा हामीले धेरै खाना खान
सकेनौ ।
घर निकै सफा थियो । तल रातो
माटोले लिपेको माथी सेतो कमेरोले लिपेको, छाना भने खरको थियो । त्यो
भट्टीको साहुसाहुनी भर्खरको युवा जोडी थियो । नवविवाहित ती जोडीको उमेर अन्दजी
केटोको १८ वर्ष र केटीको १४ वर्षकी जस्तै देखिन्थी । हामीलाई सुत्नका लागि एउटा
गुन्ड्री मात्र दिइएको थियो । थाकेको हुँदा म निँदाइ हाले ।
भोलिपल्ट २०२३ असोज १० गते सोमवारका दिन बिहानै ६ बजे नै उठ्यौ । नजिकै खोलामा गएर हातमुख धोएर एक कप चिया खाए पछि हामी हिड्न थाल्यौ । हाम्रो यात्रा भन्ने नै पहाडको टुप्पो पुग्नु अनि फेरी तल झर्नु, खोला तर्नु यस्तै हुन्थ्यो । यसपटक पनि तल खोला किनारमा पुगेपछि हल्लिने झोलिङ्गे पुल तरे पछि हामी
खाना खान बस्यौ । बिहानको ९ बजिरहेको थियो हामीले खाना त होइन खाजा मगायौ । तीन महिलाहरु मिलेर भट्टी पसल सञ्चालन गरिरहेको रहेछ । ग्रामिण घर, ग्रामिण सामग्री वरपर देखिन्थे ।
खाजा खाएपछि उकालो लाग्यौ, यसपटक पहिलोभन्दा झन गाह्रो
थियो । यो डाँडोको टुप्पो पुगेपछि बल्ल हामीले टाढा तानसेन देख्यौ, जुन हाम्रो
पहिलो गन्तव्य थियो । बाटोमा हामीले राजमार्ग बनाउन खटिएका इञ्जिनियरहरु पनि भेट्यौ । उनीहरूका
अनुसार सडक पोखरासम्म जोडिसकिएको भए पनि वर्षातले बिभिन्न ठाउँमा भत्काइएको हुँदा
कच्ची थियो ।
बनेका सडक र कच्ची सडक
हुँदै यात्रा गर्दै जाँदा अचानक हामीले सडक निर्माणका लागि ल्याइएको लहरी (सानो
ट्रक) भेट्यौ, जसमा हामी तानसेनको उकालो शुरु हुने ठाउसम्म यात्रा गर्न
पायौ । निकै गाह्रोसंग उकालो लागेपछि साँझको करिब ६ बजे तिर हामी तानसेन पुग्यौं ।
तानसेन पुगेपछि हाम्रा
भरिया खमवीरले पेट दुखेको गुनासो गर्यो । यदि उपचार हुन सकेन भने खमवीर अगाडि जान
सक्दैनथे । यसले हामीलाई अझ बढी कठिनाइ हुन्थ्यो । त्यहाँ सोधुपुछ गर्दा मिशन
अस्पताल भएको जानकारी पाए पछि हामी अस्पताल लाग्यौ । अस्पतालमा एकजोडी स्कटिस
स्टुअर्ट दम्पतीसंग भेट भयो । उनीहरूले भोलिपल्ट बिहानै डाक्टरबाट चेकजाँच
गराइदिने बचन दिएर थमवीर र हाम्रो लागि पनि बस्ने ब्यबस्था मिलाइदियो । रातको मिठो
खाना र राम्रो ओछ्यान सहितको कोठा तैयार बनाइदियो । लामो र कठिन यात्रामा
हाम्रो लागि यो सौभाग्य नै थियो । नुहाउने पनि कोठा भएको हुँदा हामीले
नुहाइधोइ खाना खाएर सुत्यौ ।
भोलिपल्ट असोज ११ गते मंगलवारका दिन हामी बिहान उठ्दा हाम्रा भरिया खमवीरको स्वास्थ्य जाँच भइसकेको थियो र उनलाई ग्यास्टिक भएको भनेर केही औषधिहरू दिइयो । उनलाई सञ्चो भएजस्तो भए पछि भारी बोकेर हिड्न तम्सियो । हामी पनि ढुक्क भयौ । यदि खमवीर जान नमानेको भए हामीलाई समस्या हुन्थ्यो । स्टुअर्ट दम्पतीको सहयोगले धेरै सहयोग गर्यो । खानाको ब्यबस्था, बस्ने ब्यबस्था, तथा खमवीरको उपचार सबै गर्दा केवल १० रुपैयाँ मात्र लिन स्वीकार गरे । त्यो दिन बिहान तानसेन बजार घुम्यौँ र खाजा खाएपछि बिदाइ लिँदै दिउँसो २ बजेतिर निकै खुशी हुँदै बाटो लाग्यौँ । स्टुअर्ट दम्पतीले बाटोका बारेमा जानकारी दिएको हुँदा केही ढुक्क थियौ । फेरी हाम्रो साथ नेपाली भरिया खमवीर पनि थियो ।
जब हामी पहाडको
चुचुरो नजिक पुग्यौँ, खमवीर हामीलाई पर्खिरहेको
देख्यौँ । जब हामी उनको नजिक पुग्यौ, उनले पेट दुखिरहेको समस्या सुनायो । हाम्रो सामु कुनै उपाय
नै थिएन । विरामी भरियालाई जबर्जस्त भारी बोकाएर हिड्नु उचित पनि थिएन । उनले हाम्रो
समस्या बुझेर अर्को भरियाको ब्यबस्था पनि गरिदियो । उनले तानसेन देखि पोखरा सम्मको
८५ रुपैया माग्यो । हामीले कुनै मोलतोल नगरि उनले मागेको रकम दिन स्विकृति दियौ । खमवीर यति सोझो
थियो, कि तानसेन सम्मको ज्याला बापतको रकम र
औषधिको लागि मात्र १० रुपैयाँ लिए । त्यसपछि उनले हामीलाई नमस्ते गरेर आफ्नो बाटो लागे ।
हाम्रो नयाँ भरिया भने
खासै धेरै बोल्ने र खासै नहाँस्ने बानीको थियो । तर उनलाई कजाउने उनका साथ
हिड्ने अर्को मानिस थियो । शायद उनले धेरै पैसा लिएर भरियालाई कम पैसा दिएर काम लगाएको जस्तो खाली
थियो । त्यसैले हामीले उनलाई टेरी थोमस राखिदिएका थियौँ । हातमा छाता र
पिठ्युँमा सानो झोला बोकेर, उ हाम्रो गाइड जस्तो
गरेर हिड्थ्यो । खाजा खाने ठाउँमा पनि साहुनीले मागे भन्दा बढी मागेर गोजीमा पैसा
राख्थ्यो । उनको अर्डरमा हामी हिड्न बाध्य जस्तै भएका थियौ । कतिबेला हिड्ने कतिबेला रोकिने कहाँ
खाने वा कहाँ सुत्ने सबै उनको अनुसार भइरहेको थियो । अन्जान ठाउँमा हामी पनि बाध्य
थियौ ।
त्यो तानसेनबाट निस्किएको दिन निकै हिड्यौ । जुनेली रातमा पनि निकै हिड्दै हामी राम्दीघाट पुगेर बास बस्यौ । त्यो रात खरको छाप्रो जस्तो भट्टीमा खाना खाएर राती त्यहि भट्टीको पिँढीमा सुत्यौँ । त्यो रात निकै कष्टकर रह्यो । राम्ररी सुत्न पनि सकेनौ । रातभर उडुसले टोकिरहेको जस्तो भयो । विमार नै होला जस्तो भयो ।
१२ गते बुधवारका दिन
एकाबिहानै हामीलाई ओछ्यानबाट उठाइयो । हामीले हतार-हतार
सामान प्याक गरेर उज्यालो
हुनासाथ निस्कियौँ । हामीले मुख पनि धुन पाएनौ । एउटा लामो झोलुङ्गे पुल तरेपछि
हाम्रो यात्रा पूनः उकालो र ओरालो, उकालो र ओरालो मात्र
भइरह्यो ।
यति धेरै पटक भयो कि मैले कति चोटी उकालो चढे भन्ने गन्ती नै
बिर्सिएँ । हामी खाना खानका लागि एउटा सानो गाउँमा रोकियौँ, जहाँ मैले ३ वटा अण्डाको अमलेट खाएँ । त्यसपछि फेरि हाम्रो
यात्रा उकालो र ओरालो, उकालो र ओरालो भइरह्यो
।
दिउँसोको हामीले अन्तिम
डाँडाबाट आँधीखोलाको सुन्दर उपत्यका देख्यौ । अध्याँरो हुँदै गर्दा हामी बुम्री गाउँ भएर अगाडि बढ्यौँ । मेरो दाहिने
गोलिगाँठो दुखिरहेको थियो
म हिड्नै नसक्ने भइसकेको थिएँ । तर हाम्रो टेरी थोमस जस्तो नबोलाइएका गाइडले
हामीलाई अडिनै दिएन ।
हिडिरहन लगायो । करिब एक किलोमिटर निकै दुखसंग हिडेपछि एउटा भट्टी पसलमा बल्ल
रोकियो । म निकै थाकेर गलिसकेको थिएँ । त्यसैले हतार हतार खाना खाएर दुइ टेबल
जोडेर राती ९ बजे आफ्नै स्लिपिङ ब्यागभित्र पसेर मस्त निदाएँ ।
राती १० बजेतिर
तीनजना जड्याहाका कारण म ब्युझिए । तिनीहरु घण्टौं झगडा गरिरहेका थिए । तर म निकै
थाकेको हुँदा उनीहरुको हल्लाका बाबजुद पनि निदाउन सफल भएँ । तर मेरो साथी एड भने
भाग्यमानी भएनन् । ति जड्याहाका झगडामा हाम्रो अघोषित गाइड टेरी थोमसको झोला
खोतलखातल गरेका थिए । उनलाई ति जड्याहाहरुले निकै दुख दिए पनि एडलाई उठाएर पुलिस चौकीमा रिपोर्ट गर्न साक्षी बनाएर लगेका
थिए । ति टेरी थोमस जस्ता गाइडले ति जड्याहाहरुले ६०० रुपैया चोरेको रिपोर्ट
लेखाउन साक्षी बनाएर लगेका थिए । तर पुलिसले राती होइन बिहान आउनु भनेर फिर्ता
पठाइदिए । वास्तवमा ६०० रुपैया हराएको कुरा नै झुठो थियो । एड त्यहाबाट फर्किएर
बिहानको करिब ४ बजेतिर मात्र सुत्न पाए ।
भोलिपल्ट बिहानै हामी
पुलिस चौकी जानका लागि बुम्री
नै फर्कियौ । चौकीका इन्चार्ज
अंग्रेजी बोल्न र बुझ्ने थिए । ति हाम्रा अघोषित गाइड प्रहरी सामु रातीको घटनालाई बढाइचढाइ वर्णन गरेर
पैसा चोरेको प्रमाणित गराएर पैसा असुल्न चाहन्थे । तर हामीले प्रहरी सामु हामी
रातमा निदाउन पाएनौ । हाम्रो निद्रा
बिग्रिएको बाहेक अरु केही गुनासो छैन भन्यौ । यो सुनेर उ केही रिसाए जस्तो गर्यो । हामीलाई यसको केही मतलव नै
थिएन । हामी त उनको कर्मको फल पाएकोमा खुशी थियौ । प्रहरी इन्चार्जले चियाको अनुरोध
हामीसंग गर्नुभयो । खुला चौरमा भएको यो वादविवाद हेर्न गाउँलेहरु पनि जम्मा भएका थिए ।
हाम्रा अंग्रेजीका सम्वादहरु नबुझे पनि ध्यानसंग सुनिरहेका थिए । शायद यो घटना
डुमरीको ठूलै घटना हुनुपर्दछ । त्यसैले गाउँलेहरुको भिड जम्मा भएको ।
प्रहरीबाट फर्किएपछि
हामी पुतलीखेतका लागि यात्रा आरम्भ गर्यौ । ति अघोषित गाइडको नजिक पर्न हामी चाहेनौ । उ अघि अघि हिडिरहे
। हामीले दुरी बनाएर हिड्न थाल्यौ । पुतलीखेत नै उनको गन्तव्य भएको हुँदा हामी त्यसपछि उसको
अनावश्यक दुखबाट मुक्त हुनेमा मनमनै खुशी भइरहेका थियौ ।
बुमरी देखि
पुतलीखेतको बाटो खासै गाह्रो थिएन । धेरैजसो समथर तर बढी घुम्ती परेको थियो ।
कहिले हामी आँधिखोलाको किनार बगरै
बगर हिड्थ्यौ । कहिले खेतका
कान्ला कान्ला हिड्थ्यौ
। एकपटक मा पानीमा लड्न पुगे । मेरो साथमा रहेको सामान सहितको झोला पनि खस्यो । तर
म छिटो छिटो पानीबाट निस्किएको भएर मेरो क्यामेरा, पासपोर्ट र अन्य सामान धेरै
भिज्न पाएन ।
यहि भिजेको कपडा र
सामान सुकाउन बहानामा भने हामीले आँधिखोलामा पौडेर नुहाउन पायौ । यो क्षण यात्राको सबैभन्दा सुखद क्षण थियो । पानीमा
डुब्रुल्की मार्दै बसिरहन मन त लागिरहेको थियो । तर रात पर्नु अगाडि हाम्रो
गन्तव्य पुतलीखेत पनि पुग्नु थियो ।
दिनभर हिडिरह्यौ, खाना खाने राम्रो
ठाउँ खोजिरह्यौ । तर गतिलो भट्टी
भेट्न सकेनौ । मेरो कुर्कुच्चाको
दुखाइ बढी रहेको थियो । तर आराम गर्न पाइरहेको थिइन । बाटो समथर भएको पनि गर्मी अत्यधिक
भइरहेको हुँदा थकित भइरहेको थिएँ । तर पेट भर्नका लागि गतिलो खाना भेटिरहेको थिएन
। बाटो हिडिरहनेहरुले पुतलीखेत कति टाढा छ भनेर सोध्दा जतिबेला पनि दुइ किलोमिटर
जति बाकी छ भन्थ्यो । तर त्यो दुइ किलोमिटर पार हुन सकेकै थिएन । एकठाउँमा हामी
खोला तर्न पर्ने भयो । तिघ्रासम्म डुबाउने खोलामा हामी पस्यौ । क्यामेरा र महत्वपूर्ण सामानहरु
नभिजोस भनेर टाउको भन्दा माथि उठाएर पानीमा हिड्न थाल्यौ । खोला हेर्दा सानो भए पनि बेग ठूलो
थियो । र चौडा पनि करिव ५० गज
जति थियो । दुखम सुखम हामीले नदी पार गर्यौ । हामी केही भिजे पनि हाम्रा सामानहरु केही पनि भिजेन ।
हाम्रो भरिया र ति अघोषित हाम्रा गाइडबाट छुट्कारा लिन हामी
अलि ढिलो हिडेका थियौ । तर रात पर्न थालेपछि हामीलाई डर लाग्न थाल्यो । पुतलीखेत आइपुग्नु अगाडि फेरी खोला तर्नु
थियो भन्ने थाहा थियो । रात ढिलो भयो भने खोला तर्न समस्या हुन सक्थ्यो ।
सूर्यास्त भएको केही समयमा नै हामीले खोलाको बगर जस्तो भाग
पार गर्यौ । टाढा
पुतलीखेत बजार देखिसकेको थियो । अध्यारो भएको हुँदा हामी फेरी अर्को बगरमा पुग्यौ । खोलामा पानी अलि कम थियो तर
बेग अलि बढी नै थियो । अध्यारोमा गाह्रोसंग हामीले पार गरेको त नदीको बिचको
थुम्कोमा पुगेका रहेछौ । नदी अझै उत्तिकै पार गर्न बाकी थियो । अध्यारो बढ्दै
थियो, त्यसैले नदी कति चौडा छ भन्ने हामीले ठम्याउन सकेका थिएनौ । अन्तत हामीले नदी पार गर्यौ । पुतलीखेतको बजार देखिसकेको
थियो । अन्दाजी १०० गज हिडे बजार पुगिन्थ्यो । हामी यति आनन्दित भयौ, कि त्यहि भुइमा थचक्क बसेर
चुरोट सल्काएर पिउन थाल्यौ ।
तानसेन साइनिङ हस्पिटलमा भेटिएका स्टुअर्टले पुतलीखेत बजारमा
अमेरिकी पिसकर्प्स भोलेन्टियर चार्ली छन् भेट्नु भनेको हुँदा उनलाई भेट
गर्ने सोच्दै थियौ । पेट पनि निकै भोको भएको हुँदा हामी नजिकैको होटलमा पस्यौ ।
त्यहि चार्लीसंग हाम्रो भेट भयो । हामीले खाना खाँदै गर्दा हाम्रो भरिया र ति
अघोषित गाइड पनि आइपुग्यो ।
बुमरीको घटनाको हल्ला पुतलीखेत पनि
पुगिसकेको रहेछ । तर यहाँ आइपुग्दा खबर भने भिन्न भइसकेको थियो । बाटोमा भरियाले
यात्रामा हिडेका बाबु छोरालाई कुटपिट गर्दै लुटेको भन्ने समाचार बनिसकेको रहेछ ।
अर्को हामीले भरिया र ति उनका साथ हिड्ने मान्छेका बारेमा गरेको अनुमान पनि भिन्न
रहेछ । वास्तवमा ति भरियाले कुनैबेला ति मानिसको २५० रुपैया बराबरको अन्न चोरेको
रहेछ, त्यहि रकम उपर गर्न भरियाका संगसंगै हिडिरहेका रहेछन् । बुम्रीका जड्याहाहरु
पनि भरियासंग मिलेमतो भएका जस्तो देखियो । पुतलीखेत पुगेपछि ति भरियाले पोखरा जान
नसक्ने भनेर अर्को भरियाको ब्यबस्था गरिदिए ।
रातको बास भने हामीलाई पिसकोर चार्लीले
आफू बस्ने घरमा मिलाए । हामी उनको घरमा पुग्यौ । घरमा उनकी प्रेमिका लिन संग पनि
हाम्रो भेट भयो । लिन पोखरामा पिसकोर भोलेन्टियर रहेछन् । चार्ली र लिनले हाम्रो
लागि एउटा कोठा मिलाइदियो । म तिब्बती गलैचामा पल्टिएको मात्र के थिएँ निदाएछु ।
भोलिपल्ट शुक्रवारका
दिन हामी निकै ढिलो उठ्यौ
। बिहान ११:३० मा बल्ल उठेर
अधिल्लो रात खाना खाएको ठाउँमा खाजा खान गयौ
। आजको दिन पुरै आराम गर्न पुतलीखेतमा नै बिताउने निर्णय गरेका थियौ । यसैले अघिल्लो रात कठिनाइसंग तरेको
खोला हेर्न र तस्विरहरु खिच्न पुग्यौ । त्यहाँ पुगेर थाहा भयो, रातमा
अध्यारोले गर्दा हामी गलत बाटो नदी तरेका रहेछौ । दिनभर यति निस्फिक्र बितायौ कि कहाँ कहाँ के के गर्यौ भनेर डायरीमा समेत लेखेनौ ।
पर्सीपल्ट शनिवार कब्रुल गरे अनुरुपको
नयाँ भरिया हाम्रो सामु आइपुग्यो । उनको नाम उजिरि थियो । निकै
हँसिलो स्वभावको भरियाका हँसमुख चेहराले यात्राको कठिनाइ समेत बिर्सियौ । हाम्रो यात्रा पोखरका लागि बिहान ८
बजे पुतलीखेतबाट अगाडि बढ्यौ । करिव ४५ मिनेट सजिलो तेर्सो उकालो
चढेपछि एउटै खोला (शायद भाटखोला) तर्दै अर्को ४५ मिनेटको उकालो पार गरेपछि हामी
नुवाकोट भन्ने गाउँमा पुग्यौ । नुवाकोटबाट हिमाल निकै धमिलो देख्न
पायौ । बादल लागेको भएर सफा हिमाल देख्न नै
पाएनौ ।
त्यहाँबाट डाँडैडाँडा करिव ३ किलोमिटर जति उकालो लागेपछि हामीले अग्लो
ठाउँबाट हामीले निकै तल रहेको पोखरा बजार देख्न पायौ । तर निकै बादल लागेको भएर हिमालको सुन्दर आकृति भने देख्न पाएनौ । त्यहाँबाट हामी ओरालै ओरालो लाग्न थाल्यौ । बाटोमा हामीलाई पानीले भेट्यो । ओट लाग्ने ठाउँ कतै थिएन, हामी पानीले भिज्दै तलतर्फ लागि रह्यौ । हिलो र चिप्लो ढुङ्गाले गर्दा अप्ठ्यारो भइरहेको थियो । तर उनिरिका लागि भने कुनै समस्या नै थिएन । उ धेरै अगाडि पुगिसकेका थिए ।
हामीले पोखरामा बस्नका लागि
हिमालय तिब्बतियन होटलमा बस्ने निधो गरिसकेका थियौ । चार्ली र लिनले यहि होटलमा
बस्नका लागि सुझाएका थिए । त्यसैले हामीले भरिया उजिरिलाई त्यहि होटलमा पुग्न
भनेका थियौ । पोखरको विमानस्थलको ठिक पश्चिम तर्फ अग्लो ठाउँमा यो होटल रहेको
जानकारी दिइएको थियो ।
हामी ओरालो लाग्दै पोखरा
बजारको समथर भेट्ने समय एउटा खोला तर्नुपर्ने भयो । यसको केही समय पछि तिब्बती
शरणार्थीको क्याम्प कटेर केही अघि बढ्नासाथ ठूलो चौरको बिचमा हामीले डिसी ३ विमान
देख्यौ । हामीले अनुमान गर्यौ, हाम्रो गन्तव्य आइपुगेको छ । हामी नजिक पुगेर देख्यौ,
हाम्रो भरिया उजिरि अन्य भरियाहरुका साथ बरण्डामा बसेर गफ चुट्दै थियो । दुइतले
त्यो घरमा हिमालय तिबतन लेखिएको देखे पछि हामीले लामो श्वास लियौ । निकै दिनपछि
हामीले चाउचाउ, अण्डा र मासुको वास्तविक स्वाद सहितको परिकारहरु खायौ । उजिरिलाई
पनि बऋसिस सहित उनको कबुल अनुसारको ज्याला दिएर बिदा गर्यौ । रातको अध्यारोमा पनि
सूर्यको अन्तिम किरणका कारणले चम्किएको माछापुच्छ्रे र अन्नपूर्ण शिखरहरु देख्न
पायौ । त्यो सुनौला रङमा चम्किएको हिमाली दृश्य एकदम मनमोहक थियो ।
असोज १६ गते आइतवारको
बिहान छिट्टै उठेर हिमाल हेर्न बाहिर निस्किए । हिमालहरु अझै पनि बादलले ढाकिएका
थिए । त्यसैले फेरी म सुत्न गए । आइतवार दिनभर जसो हिमाल राम्रोसंग खुल्न सकेन ।
हिमाल सिरक ओढेर सुतिरह्यो । तर म सुत्न सकिन । म उठे, खाजा खाएँ । अलि अलि मौसम
सफा भएको देखेपछि बिहानको खाजा खाएर पोखरा घुम्न निस्किए । मुख्य गरेर पोखराको
फेवातालमा निकै रमाएँ ।
फेवाताल खासै टाढा थिएन, यसर्थ हिडेरै
पुग्यौं । होटलको ठिक अगाडि विमानस्थलमा विमान
आउन जाने भइरहन्थ्यो । विमानस्थलको सबैभन्दा रमाइलो पक्ष भनेको जहाज उडेपछि
मानिसहरु तथा गाइभैसीहरु पनि चर्नका लागि पुग्दथे । जसै विमान आउने भए पछि साइरन
बजाइन्थ्यो । जसले गर्दा चौरमा रहेका मानिसहरु तथा जनावरहरु सबै
हट्दथे । विमानस्थल खाली भए पछि विमान अवतरण हुन्थ्यो । सानो छाप्रो जस्तो
कन्ट्रोल टावर, टिकट काउन्टरका रुपमा पाल लगाइएको छाप्रो थियो । विमान चढ्ने र
झर्नेहरुका लागि टर्मिनल भवन भने त्यहि रहेको ठूलो रुख थियो । जसको छहारीमा शितलता
आउने हुँदा सबै त्यहि झुम्मिएर बस्दथे ।
डिसी ३ विमान अनौठो हुन्थ्यो । काठमाडौबाट बिहान दुइ उडान आएपछि विमानका
सिटहरु सबै निकालिन्थे । त्यसपछि भैरहवाको उडानमा सामानहरु मात्र ओसारिन्थे ।
दिउँसो फेरी सिट जोडेर काठमाडौ फर्कन्थे । हामी विमानस्थलको ठिक अगाडि
नै बसिरहेको हुँदा हामीलाई यो दृश्य निकै रमाइलो लागिरहेको थियो ।
केही दिनको पोखरा
बसाइ पछि हामी यहि डिसी ३ विमानमा काठमाडौ
तर्फ लाग्यौ ।
यसरी ६० वर्ष अगाडि खस्यौलीबाट पोखराका लागि हिडेर यात्रा
शुरु भएको विवरण लामो रहेको छ । यात्राको समय पोखरा सुनौली राजमार्गको निर्माण
कार्य हुँदै थियो । तानसेन, राम्दी, भुम्रीबजार, पुतलीखेत हुँदै झन्दै एक
हप्ताको हिडाई पछी २०२३ असोज १५ गते पोखरा पुगेका थिए ।
यात्राको बिस्तृत विवरण - देवताहरुको निवास - नेपालको
यात्रा (Abode of the Gods – Travels in Nepal) पुस्तकमा रहेको छ ।









Comments
Post a Comment