सरन कुमार प्रधान नेपाली आधुनिक संगीतका एक नक्षत्र

सरन कुमार प्रधान, दार्जिलिङमा जन्मिनु भएर नेपाली गीत संगीतका लागि महान योगदान पुर्याउनु हुने गीतकार तथा संगीतकार हुनुहुन्छ । वहाँले लामो उमेर त पाउनु भएन तर छोटो उमेरमा पनि नेपाली गीत–संगीतका लागि महान योगदान पुर्याउनु भयो । वहाँको नाम नेपाली गीत संगीतको इतिहासमा सधैका लागि अमर रहनेछ ।

जन्म र पारिवारिक पृष्ठभूमि

८३ वर्ष अगाडि आजकै दिन नेपालको सिमावर्ती रमणीय शहर दार्जिलिङमा सरनकुमार प्रधानको जन्म भएको थियो । संयोगले आजकै दिन ५२ वर्ष अगाडि, २०३१ बैशाख २० गते वहाँको देहावसान पनि भएको थियो । कहिले काँहीको यो संयोग खुशीले मनाउने वा दुखले मनाउने भन्नेमा अन्यौल हुने गर्दछ । बि.सं. २००० बैशाख २० (१९४३ मइ ४) गते दार्जिलिङको प्रधान परिवारमा जन्मनु भएको थियो । बुबा हर्कबहादुर प्रधान बैंकका जागीरे हुनुहुन्थ्यो भने आमा कवि राईनी ब्यबसायी हुनुहुन्थ्यो । वहाँहरु दार्जीलिङको रेलवे स्टेशन नजिकै सिंह बिल्डिङमा बस्नुहुन्थ्यो । जुन भवनमा होटल कञ्चनजंघाका साथ साथ वहाँहरु पनि बस्नुहुन्थ्यो । सरनका एक भाइ लेखकुमार प्रधान पनि हुनुहुन्थ्यो । बुबा आमा सम्पन्न भएकै कारण सरन प्रधानको बाल्यकाल सुखसयलमा नै बितेको थियो । कवि राईनीको आफ्ना दुइ छोरा मात्र नभइ बहिनीहरु तथा पहिलो श्रीमानबाट जन्मेको छोरा र छोरी पनि साथमा नै हुर्काउनु भएको थियो । यसरी हर्कबहादुर प्रधान तथा कवि राईनीको परिवारका रुपमा दुइ छोरा सरनकुमार र लेखकुमार तथा कवि राईनीको पहिलो श्रीमानबाट जन्मिएका छोरा बि. कुमार गुरुङ र छोरी पदम गुरुङ पनि गरि ठूलो परिवार थियो ।

सरन प्रधानको जन्मको समय भारतमा ब्रिटिस शासनकाल नै थियो । ब्रिटिसहरुको लागि दार्जीलिङ प्रिय ठाउँ थियो । गर्मी महिनाभर गर्मी छल्न अंग्रेजका ठूला अफिसरहरु दार्जिलिङ पुग्ने गर्दथे । यहि समय वहाँको बाल्यकाल दार्जिलिङमा बित्यो । सरन कुमार प्रधान जुन बेला दार्जिलिङमा हुर्किनु भयो, त्यो समय दार्जिलिङको हावापानी नै संगीतले भरिएको थियो । अंग्रेजको मनपर्ने हिल स्टेशन भएको हुँदा यहाँ पश्चिमी संगित पप र ज्याज प्रिय थियो भने नेपालको पूर्वेली पहाडी गाउँहरुबाट दार्जिलिङ पुग्ने मनग्गे नेपालीहरुले आफ्नो लोकभाका पनि बोकेर पुगेको हुँदा नेपाली संगीत पनि दार्जिलिङमा प्रिय रहेको थियो । यसर्थ दार्जिलिङको वातावरण नै गीत, संगीत, साहित्य, कला र रङ्गमञ्च प्रति उत्तिकै प्रिय रहेको थियो । यहाँ नेपाली साहित्यका एक एक हस्तीहरु जन्मिए भने यहाँ गीतसंगीतमा डुबेका अनगिन्ति गायक, संगीतकार पनि जन्मिए । पचासको दशकमा दार्जिलिङ नेपाली गीत र संगीतका लागि स्वर्णिम काल रहेको थियो । यहिँ समय यहाँ प्रख्यात गायक गायिका तथा संगीतकारहरु जन्मिएका थिए । साथै इतिहासमा अमर र अजर हुने गीतसंगीत पनि यहि समय नै फैलिएको थियो । त्यो समय दार्जिलिङमा युवाहरु मात्र होइन ति युवाका बुबाआमाहरु पनि संगीत मन पराउँदथे । त्यसैले छोराछोरी गीताङ्गे भएर हिडेँमा कमैले गाली गर्ने गर्दथे ।

यहि समय स्वर्गीय रञ्जीत घिसिङको अग्रसरतामा हिमालय कला मन्दिरको स्थापना भइसकेको थियो । वहाँको साथमा स्व. विसाषन लामा, स्व. आलोक घोष, स्व. शिवप्रसाद सिंह, मानवीर सिंह, छविलाल शर्मा सक्रिय रहेका थिए । सबैको सहमतिमा २००७ सालको असोज १५ (१९५० अक्टोवर १) मा स्व. मोतीचन्द्र प्रधानको अध्यक्षतामा हिमालय कला मन्दिरको गठन भएको थियो । पछि हिमालय कला मन्दिरमा दार्जिलिङका प्रख्यात गीतकार, संगीतकार, गायक एवं रङ्गकर्मीहरु जोडिन पुगे । अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, दिलमाया खाती, बसन्त क्षेत्री तथा अन्य धेरै नै यहिँ हिमालय कला मन्दिरका उत्पादन थिए । हालसम्म पनि हिमालय कला मन्दिर, दार्जिलिङको पहिचान बनेको छ । यहि हिमालय कला मन्दिरमा केही समय सरन प्रधान पनि सदस्य रहेका थिए ।

सरनका बुबा हर्कबहादुर प्रधान पनि भायोलिन वादक थिए । तर बुबाले छोरालाई संगीत तर्फ लाग्न प्रेरणा दिनुभएन । तर पनि वहाँले बैन्जो र हार्मोनियम बजाउन सिक्नुभयो । पछि आमाले जन्मदिनको उपहारका रुपमा एउटा म्यान्डोलिन किनि दिनुभयो । जुन वहाँलाई औधी मनपर्यो । जसले गर्दा वहाँ पछि बिशेष गरेर म्यान्डोलिन तर्फ नै बढी आकर्षित हुनुभयो । बिस्तारै वहाँले म्यान्डोलिन बजाउन सिक्नुभयो । म्यान्डोलिनमा वहाँ यति निपुण हुनुभयो कि आज पनि वहाँका पुराना चिरपरिचित तथा प्रशंसकहरु वहाँको मिठो म्यान्डोलिनको धुनको मुक्तकण्ठले प्रशंसा गर्ने गर्दछन् ।

वहाँको शिक्षा

वहाँले सानैदेखि टर्नबुल हाई स्कूलमा पढ्नुभएको थियो । यहि स्कुलबाट नै स्कुल लेभल पुरा गर्नुभयो । यसपछि भने वहाँ सेन्ट जोसेफ कलेजमा पढ्न थाल्नुभयो । त्यहि सेन्ट जोसेफ कलेजबाट विज्ञानमा स्नातक (B.Sc.) उतिर्ण गर्नुभयो पनि । वहाँ गणित विषय र विज्ञान विषयमा निपूण भएकै कारणले पनि पछि वहाँले सेन्ट रोबट्र्स स्कूलमा गणित र विज्ञान शिक्षकको रूपमा जागीर पाउनुभयो । शिक्षण पेशाकै बिच वहाँले सो विद्यालयको विद्यालय गीत – सेन्ट रोवर्टस का बिद्यार्थी हामी – को रचना तथा संगीतवद्ध गर्नुभएको थियो । जुन गीत अहिले सम्म पनि सो विद्यालयमा गर्वका साथ गाउने गरिन्छ ।

सांगीतिक यात्रा र अरुणा लामासँगको भेट

सानैमा आमाले म्यान्डोलिन उपहारदिनु भएपछि जानि नजानि त्यही बजाएर बस्ने गर्नुहुन्थ्यो । यसरी नै बिस्तारै संगीतका गहिराइमा डुब्दै जानुभएको थियो । यस्तैमा बि.सं. २०१३ को असार तिर अम्बर गुरुङले आर्ट एकेडेमी अफ म्यूजिक (संगीत एकेडेमी)को स्थापना गर्नुभए पछि दार्जिलिङ वरपर बस्ने संगीत प्रति रुचि राख्नेहरु जोडिन पुगे । यहिँ नै सरन प्रधान पनि संगीत सिक्ने उद्देश्यले जोडिन पुग्नुभयो । यसरी अम्वर गुरुङको सानिघ्यतामा संगीत प्रति अझ गहिरिन मद्दत पुग्यो । अम्वर गुरुङको चर्चित संगीतमा अरुणा लामाको स्वर भएको गीत “ए कान्छा मलाई सुनको तारा खसाइ देउ न“ तथा अम्वर गुरुङ कै स्वरबद्ध भएको “म अम्वर हुँ तिमी धरती“ मा सरन प्रधानले मेन्डोलिन बजाउनुभएको थियो । त्यतिबेला अम्बर गुरुङको एकेडेमीमा अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, जितेन बर्देवा जस्ता संगीत हस्तीहरू पनि हुनुहुन्थ्यो । वहाँ केवल एक संगीतकार मात्र नभई एक गीतका रचनाकार पनि हुनुहुन्थ्यो ।

२०१७ सालतिर अम्वर गुरुङलाई पश्चिम बंगाल सरकारले लोक मनोरञ्जन शाखामा संगीत निर्देशकका रुपमा नियुक्त गरेपछि वहाँले संगीत एकेडेमीलाई समय कम दिन थाल्नुभयो । तर त्यहाँ एकेडेमीमा लागिरहेका साथीहरु भने आ–आफ्ना किसिमले गीतसंगीतमा लागिरहनु भएको थियो । अन्तत २०१९ सालमा अम्वर गुरुङको संगीत एकेडेमी सदाका लागि बन्द भयो । संगीत एकेडेमी बन्द हुनासाथ त्यहाँ रहेका अम्बर गुरुङका शिष्यहरु दुइ भागमा बिभक्त भए । सरन प्रधान, रञ्जित गजमेर, अरुणा लामा, जितेन्द्र बर्देवा, पिटर जे. कार्थक लगायत केही अन्य मिलेर “संगीत संगम“ गठन गरे । उता कर्म योञ्जन, गोपाल योञ्जन, दिलमाया खाती लगायतका भने हिमालय कला मन्दिरमा आबद्ध हुनुभयो । 

यसरी अम्वर गुरुङको संगीत एकेडेमीमा भेटघाट भइरहने अरुणा लामा प्रति सरन प्रधानको एकोहोरो प्रेम शुरु भयो । शुरुका केही वर्ष ब्यक्त पनि भएन । पछि सरनले मुख खोले पनि अरुणा लामाबाट सकारात्मक जवाफ नै आएन । अरुणा लामा केवल गीत र संगीतका लागि नै एकेडेमी आउनुहुन्थ्यो । साथ रहने साथीहरुसंग पनि संगीत सम्बन्धि कुराकानी मात्र गर्नुहुन्थ्यो । सरनको एकोहोरो प्रेम प्रस्ताव अन्तत अरुणाबाट स्विकृत भयो । सरन, घरमा आमाका लागि पनि बुहारी लगि हाल्ने सोचमा हुनुहुन्थ्यो भने अरुणा केही समय पर्खन चाहनुहुन्थ्यो । वहाँहरु दुइ बिचको प्रेमको चर्चा संगीत एकेडेमी भित्र मात्र होइन बाहिर पनि फैलिसकेको थियो । यहि समय जितेन्द्र वर्देवाको शव्दमा सरन प्रधान र रञ्जित गजमेरले संगीत संयोजन गरेर अरुणा लामाका लागि एउटा गीत तैयार गर्नुभयो ।

यहाँ फूल नखिलेछ, बहार आउन नै भुलेछ
यहाँ चोट दुखेकै छ
, तर सहनु परेकै छ ।

जुन गीतमा संगीत भिन्न प्रकारले तैयार गरिएको थियो । यो एउटै गीतमा रहेको संगीतमा “डि“ मेजर “इ“ मेजर “ए“ मेजर र “डी“ मेजरमा गीत संयोजन गरिएको थियो । यसैले यो गीतलाई “डि इ ए डी“-DEAD_सं गीत भएको गीत भनिएको थियो । यो गीत यति चल्यो कि सरन र अरुणाको जोडीको चर्चा दार्जिलिङ देखि नेपाल सम्म पुग्यो ।

सरन–रञ्जितकै युगल संगीतमा दोश्रो गीत भने अरुणा लामा द्वारा रचित थियो । यो गीत भने युगल थियो, र पुरुष स्वरका लागि जितेन्द्र वर्देवा स्वयंले गाउनुभएको थियो ।

हेर न हेर कान्छा, डाँडालाई फूलले ढाक्यो,
टिप न टिपेर एउटा चुल्ठोमा गाँसिदेउ न ।

यो गीत पनि निकै चल्यो । यसरी सरन प्रधानको संगीतमा आफूले गाएको गीतको चर्चा निकै हुन थाले पछि आफ्नो जोडी सरन प्रधानसंग हुनु भनेको नेपाली गीतसंगीतका लागि पनि निकै महत्वपूर्ण हुने सोच्नु भएर अन्तत अरुणा लामाले सरन प्रधानको प्रेम प्रस्ताव स्विकृति दिनुभयो र विवाह गर्न राजी हुनुभयो । जसले गर्दा बि.सं. २०२० असार २५ गते (९ जुलाई १९६३) मा वहाँहरुले विवाह गर्नुभयो । विवाह अगाडि नै वहाँहरुको जोडीले नेपाली संगीत क्ष्रेत्रलाई राम्रा राम्रा गीतहरु दिइ सक्नुभएको थियो । झन् विवाह पछि अझ धेरै कालजयी गीतहरू प्रस्तुत गर्नुभयो ।

सरन र अरुणाको विवाहको केही समय पछि नै सरन र रञ्जित गजमेरको सम्वन्ध पनि टुट्यो । रञ्जित गजमेर काठमाडौ जानुभयो र रेडियो नेपालमा आबद्ध हुनुभयो । सरन प्रधान र अरुणा लामा भने बम्बइ तर्फ लाग्नुभयो ।

बम्बईको यात्रा र संघर्ष

विवाहको केही समय पछि सरन प्रधान र अरुणा लामाले सांगीतिक यात्राबाट नै आफ्ना सपनाहरु पुरा हुन आशा बोक्दै बम्बई (मुम्बई) पुग्नुभएको थियो । त्यहाँ वहाँहरूले सानो कोठामा डेरा लिएर आर.डी. बर्मन, लता मंगेशकर र आशा भोसले जस्ता भारतीय चलचित्रका प्रख्यात कलाकारहरूलाई भेट्नुभएको थियो । अरुणा लामाको स्वर परिक्षा समेत भएको थियो । जसमा उतिर्ण समेत हुनुभएको थियो । यसै
बिच वहाँहरुको पहिलो सन्तानका रुपमा छोरी सपनाको बि.सं. २०२१ मंसिर २८ (१९६४ डिसेम्बर १३) मा जन्म भयो । पहिलो नातिनीको जन्म भएको खवर पाउनु भए पछि सरन प्रधानकी आमा कवि राईनी नातिनीको हेरचाह गर्न बम्बइ पुग्नुभयो । त्यहाँ वहाँहरुको अवस्था देखेर तुरुन्तै दार्जिलिङ फर्कन लगाउनुभयो । दुख कष्टसंग सानो कोठामा बसिरहेको देखेर आमाको मन मानेन । वहाँले नातिनी समाउँदै छोरा सरन
, बुहारी अरुणालाई बम्बइबाट दार्जीलिङ नै फिर्ता ल्याउनुभयो । आमाले छोरा बुहारीको दुख देख्न नसक्नु हुँदा वहाँहरुको ब्यक्तिगत सपना माथि भने तुषारापात भयो ।

बम्बईबाट फर्कनुभए पछि

यता दाजिलिङमाा राजा महेन्द्रको अनुरोधमा २०२४ सालमा अम्बर गुरुङले दार्जिलिङ छोड्नुभएको थियो । पढाइका लागि गोपाल योञ्जन पनि काठमाडौ लाग्नुभयो । त्यसपछि दार्जिलिङमा गीतसंगीतको एकप्रकारको रिक्तता छायो । बम्बइबाट सरन तथा अरुणा लामा पनि फर्किसक्नुभएको थियो । यसपछि सरन प्रधानले आफ्नो स्कुल देखिका साथी रञ्जित गजमेरसंग मिलेर दार्जीलिङमा “संगीत संगम“ नामक संस्था खोल्नुभयो । हिमालय कला मन्दिर गीतसंगीतका लागि मात्र नभएर, नाटक, चित्रकला तथा अन्य विविध विधाका लागि पनि थियो । तर संगीत संगम भने केवल गीतसंगीतका लागि मात्र थियो । यो संस्थामा दार्जिलिङमा रहेका धेरै गीतकार, संगीतकारहरु गाँसिनुभयो । जसले दार्जीलिङको नेपाली संगीतलाई फेरी नयाँ उचाइमा पु¥याउनु भयो ।

दार्जिलिङमा सरन रञ्जितको जोडी मिलेर “संगीत संगम“ बनाए भने योञ्जन दाजुभाइ कर्म र गोपाल “हिमालय कला मन्दिर“ मा नै सक्रिय भएर लागे । संगीत संगममा महिला स्वरका लागि अरुणा लामा हुनुहुन्थ्यो भने हिमालय कला मन्दिरमा दिलमाया खाती हुनुहुन्थ्यो । गोर्खा दुख निवारक संघले बर्षेनी नेपाली संगीत प्रतियोगिता गरेर “स्वरश्री“को उपाधी दिने गर्दथ्यो । यस प्रतियोगितामा कहिले संगीत संगम कहिले हिमालय कला मन्दिर प्रथम हुने गर्दथ्यो । जजका रुपमा रहनु हुने अम्वर गुरुङलाई कसलाई विजयी बनाउने भन्ने निर्णय दिन नै हम्मे हम्मे पर्दथ्यो । यसरी भएको कार्यक्रममा एकपटक सरन–रञ्जितको संगीत संगमबाट अरुणा लामा र कर्म–गोपाल योञ्जनको हिमालय कला मन्दिरबाट दिलमाया खाती दुइले भाग लिनुभएको थियो । अरुणा लामाले सो समय जितेन्द्र वर्देवाको शव्द तथा सरन–रञ्जितको संगीतमा “यहाँ फूल नखिलेछ बहार आउन नै भुलेछ“ गीत गाउनुभयो । यस्तै दिलमाया खातीले गोपाल योञ्जनको शव्द तथा कर्म–गोपाल योञ्जनको संगीतमा “सावन फेरि फर्की आयो“ गाउनु भयो । निर्णायक अम्बर गुरुङलाई कुन गीतलाई प्रथम बनाएर स्वरश्री बनाउने भन्ने नै अन्योल भयो । अन्तत दुइ गीतलाई नै प्रथम भएको घोषणा गर्दै दुइ गायिकालाई नै “स्वरश्री“को उपाधि दिइएको थियो ।

बम्बइबाट फर्कनुभए पछि सानी छोरी र श्रीमती अरुणाका लागि नै भए पनि जागीरको खोजीमा लाग्नुभयो । यसरी सरन प्रधानले सेन्ट रवट्र्स हाइस्कुलमा गणित र विज्ञान विषय पढाउने गरि शिक्षकका रुपमा जागीर थाल्नुभयो । पछि बि.सं. २०२६ मंसिर १५ (१९६९ नवम्वर ३०) मा वहाँहरूको छोरा सुप्रीत राजको जन्म दार्जिलिङमा भयो ।

अविस्मरणीय सिर्जनाहरू


सरन कुमार प्रधानले आफ्ना अधिकांश गीतहरू आफैँले लेख्नुभएको छ भने संगीतबद्ध पनि गर्नुभएको छ । वहाँका केही चर्चित गीतहरू हुन ।

·      यहाँ फूल नखिलेछ बहार आउन नै भुलेछ – स्वर अरुणा लामा

·       नेपाली गौरव गर्छौ आफ्नै पनमा घमण्डी त होइनौ है - स्वर अरुणा लामा
·  सबैले भन्थे लयालु फूल भइ – स्वर अरुणा लामा
·  हेर न हेर कान्छा – स्वर अरुणा लामा तथा जितेन्द्र वर्देवा
·  मैले जीवनलाई कसरी सजाए – स्वर अरुणा लामा
·   हाँसी राखे बोली राखे धेरै नहोला – स्वर अरुणा लामा
·   मान्छे सबै एउटै रगतको विचार किन बेग्ला बेग्लै – स्वर अरुणा लामा
·  आँखाहरुले, कसलाई कसलाई खोजे जस्तो लाग्छ – स्वर अरुणा लामा तथा मणीकमल क्षेत्री
·  जोवन गयो बैंस त गएन लै लै, केस फुल्यो मन अझै तन्नेरी लै लै – स्वर अरुणा लामा तथा दिपक गुरुङ
·  बालापनको ँगन त्यागेर, खोलानाला बाटो काटेर - स्वर अरुणा लामा
·  यो बहिनीको माया सयपत्रीको हारमा - स्वर अरुणा लामा
·  ँखैमा राखिन योग्य कहाँ छु – स्वर अरुणा लामा

 स्वर्गीय सरन प्रधानको नेपाल प्रति अगाढ माया रहेको थियो । वहाँले फू जन्मेको धर्ती त्यागेर नेपाल बस्न जान चाहनुभएन । तर वहाँको गीतहरुमा राष्ट्रियता प्रचुर रुपमा पाउँछौ ।  रचनाको यो राष्ट्रिय गीत सुन्दा भारतको एक राज्य दार्जिलिङमा जन्मे हुर्कि मरण समेत भएका एक नेपालीको नेपाल आमा प्रतिको सच्चा माया दर्शिन्छ । यो राष्ट्रिय गीतमा वहाँले नै संगीत भर्नुभएको थियो भने गायन वहाँकै धर्मपत्नी अरुणा लामाले गर्नुभएको थियो ।

नेपाली गौरव गर्छौ आफ्नै पनमा घमण्डी चै होइनौ है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौ है
आज पनि छ धामी झाक्री हाम्रै नेपाली
तर मरेको छैन ठूला ठूला बैध्य हाम्रै नेपाली
निधारमा नाम्लो अडाई जीवन काट्ने नेपाली
निधारमै बिद्या अटाई विद्वान छ नेपाली
छातीमा माया बोकी बाली राख्न सक्ने हाम्रो नेपाली
छातीमै गोली पनि सहिदिन सक्ने हाम्रो नेपाली
रावण झै राक्षस बन्न सक्छ हाम्रो नेपाली
तर आदर्श रामको भूली जाने होइन हाम्रो नेपाली
माया गर्नेको हामी मायालु हौ नेपाली
वैरी भएमा विषालु पनि छ नेपाली
काँधमा मादल भिरी लैबरीमा नाच्छन हाम्रो नेपाली
काँधैमा बन्दुक भिरी लड्न पनि सक्छ हाम्रो नेपाली

दुखद अन्त्य

सरन कुमार प्रधानलाई शारिरीक समस्या भए पनि ब्यक्त गर्नुहुदैनथ्यो । वहाँलाई “मिर्गी“-Epilepsy_ को समस्या थियो, जसलाई स्थानीय भाषामा “छारे रोग“ भनिन्थ्यो । यस रोगको बारेमा चेतनाको अभाव र उपचारको कमी थियो । साथै मानिसहरु छारे रोगलाई लडिहालेमा प्राथमिक उपचारको बदला अन्धविश्वासमा गलत प्रक्रियाहरु अपनाउँने गरिन्थ्यो । मिर्गी कै कारण वहाँ विद्यालयमा पनि समय समयमा विरामी हुने गर्नुभएको थियो ।

बि.सं. २०३१ बैशाख १९ (१९७४ मइ ३) का दिन विद्यालयमा नै असहज भए पछि घरमा आराम गर्नुभएको थियो । तर पनि वहाँलाई अन्य दिनमा झै निको हुँदै गएको महसुस भएन । राती वहाँलाई मिर्गीको असर झन बढी भयो, जसका कारणले वहाँलाई हृदयघात भयो । तत्कालै अस्पताल लग्ने सकिएन । मध्यरात पछि वहाँले अन्तिम सास लिनुभयो । एक महान गीतकार, संगीतकार तथा शिक्षकले जीवनबाट नै बिश्राम लिनुभयो । एउटा संयोग नै मान्नुपर्छ, जुन दिनमा वहाँ जन्मनु भएको थियो सोही दिन ३१ वर्ष पछि वहाँको निधन भयो । वहाँले एकदम छोटो केवल ३१ वर्षको जीवन पाउनुभयो । छोटो जीवनमा पनि वहाँले नेपाली गीत र संगीतका लागि अविस्मरणिय योगदान पुर्याउनुभयो । वहाँका गीतहरुमा नेपाल प्रति गहिरो सद्भाव रहेको प्रतित हुन्छ । कतिपय दार्जिलिङका गीतकार, संगीतकार तथा गायक गायीकाहरुले दार्जिलिङ छोडेर नेपाल पसे पनि वहाँले आफ्नो जन्मभूमी छोड्न चाहनुभएन । तर पनि नेपाल प्रतिको माया पनि त्याग्नुभएन ।

सरन प्रधानको निधनको खबरले सिङ्गो दार्जीलिङ शहर स्तब्ध बन्यो । वहाँको मृत्युसंगै एउटा परिवारले आफ्नो अभिवावक मात्र गुमाएन । सिङ्गो नेपालीभाषीले गीतसंगीतका श्रष्टा गुमायो । एउटा अभिवावक गुमायो । वहाँको मृत्यु पछि पनि दार्जिलिङका गल्लीहरुमा गलत हल्लाहरु पनि फैलाइए । जुन कति पनि सत्य थिए । यो त पिडामा बाँचेका परिवारका सदस्यहरु माथि अर्को अत्याचार थियो । पिडा माथि पिडा थियो ।


कहिले काँही सोच्छु, यदि सरन प्रधान र अरुणा लामा मुम्बइमा नै बस्नुभएको भए, वहाँको जीवन यति छोटो हुँदैनथ्यो कि !!! खैर, हुने कुरालाई कसै गरि तार्न सकिदैन भनिन्छ । तसर्थ यो हाम्रो तर्कना मात्र नै हो ।

वहाँको भौतिक शरीर यस संसारमा नरहे पनि वहाँले कोर्नुभएका गीत र संयोजन गर्नुभएको संगीतहरुले वहाँलाई सदैव अमर बनाइ रहनेछ । वहाँ नेपालीहरुको मन मस्तिष्कमा सदा जीवित नै रहिरहनु हुनेछ ।

सरन कुमार प्रधानको स्वर्गारोहण पछि अरुणा लामाको जीवन दुखद रह्यो । युवा उमेरमा पतिको निधन, तथा दुइ साना छोरा छोरीको भविष्य उज्वल बनाउनु पनि थियो । तर पनि जीवन देखि हार मान्नु भएन । केही समय पति वियोगको पिडामा गीतसंगीत देखि सन्यास लिनु भए पनि पछि पून गीतसंगीतमा फर्कनुभयो । साना दुइ छोरा र छोरीको शिक्षा तथा लालनपालन निकै राम्रोसंग गर्नुभयो । जीवन देखि थाकेर होइन लडेर नै विजय पाउन सकिन्छ, भन्ने सोचमा पून संघर्षमा लाग्नुभयो र सफल जीवनयापन गर्नुभयो ।

अहिले त छोरी सपना, ज्वाइ रवी, छोरा सुप्रित, बुहारी संगीता तथा नातिनातिनी सबै आ–आफ्ना परिवारका साथ खुशी हुनुहुन्छ । छोरा सुप्रित र ज्वाइ रवी टुरिज्म ब्यबसायमा नै आबद्ध हुनुहुन्छ ।

अन्तमा,

सरन कुमार प्रधानले उमेर धेरै पाउनु भएन । भौतिक रुपले वहाँ सबै सामु उभिन सक्नुभएन, बोल्न सक्नुभएन । तर वहाँका गीतसंगीत जबसम्म गुञ्जिरहनेछ, वहाँ अमर रहनुहुनेछ । वहाँ भौतिक रुपले नभए पनि अभौतिक रुपले हामी सामु सधै उभिइरहनु हुनेछ । हामी वहाँलाई सदैव सम्झिरहनेछौ । वहाँ गीत र संगीत रहुञ्जेल अमर रहनु हुनेछ ।

 

Comments

Popular posts from this blog

वीरशमशेर

२०४६ सालको जनआन्दोलन र भारतीय नाकाबन्दी

नौलखा हार र जङ्गबहादुरको श्रीपेच