२००६ सालमा भएको पोखराको भयावह आगलागी

७६ वर्ष अगाडि भएको त्यो भयावह आगलागी जसले पोखरालाई आधुनिक पोखरामा बिस्तारै परिवर्तन गरायो ।

पोखराको प्राकृतिक सुन्दरताले जो कोहीलाई पनि लोभ्याउने गर्दछ , चाहे ती ब्यक्ति स्वदेसी हुन या विदेसी । पोखराको उत्तर तर्फ लहरै देखिने हिमश्रृंखला, हिमालको कदलाई पछ्याउदै गरेका हरियाली पहाडहरु र तिनै पहाडको काखमा कैद भएको यो सुन्दर पोखरा, दिनभरी हेरीरहे पनि मन अघाउँदैन । तर के हामी कल्पना गर्नसक्छौं, प्रकृति प्रदत्त यो सुन्दर शहर ईतिहासको कुनै कालखण्डमा खण्डहर हुनेगरी भूकम्प तथा आगलागीबाट प्रताडित भएको थियो ? आज पोखराको त्यही कहाली लाग्दो ईतिहासको चर्चा गर्न गईरहेको छु ।

भूगर्भविदहरुको अनुसन्धानले पोखरा उपत्यकामा आजभन्दा करिव दश हजार वर्ष अगाडी भयावह वाढी आएको थियो । उक्त बाढीले पोखरा क्षेत्र पुरै डुबानमा परी ठूलो तालमा परिणत भएको थियो । कालान्तरमा उक्त ताल सुकेर गेग्य्रान र जङ्गलमा परिणत भएको थियो । त्यसपछि पून बि.सं. १३१२ को असारमा आएको ठूलो भूकम्पले अन्नपूर्ण चौथो हिमालको टुप्पाको करिव ५०० मीटर चोइटिएर खस्दा हिमनदीको निकास रोकिन गइ, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल बिचमा रहेको बिशाल साब्चे उपत्यकामा बिशाल हिमताल बनेको थियो । करिव २३ वर्ग किलोमीटर क्षेत्रमा बनेको बिशाल हिमताल केही समय पछि बिस्फोट भएर आएको बाढीले बगाएर ल्याएको हिलो, गेगर र ढुङ्गाहरुले पोखरा उपत्यकाको अधिकांश भूभाग पुरिएको थियो भने पोखरा पुरै डुबानमा परेर बिशाल तालमा परिवर्तन हुन पुगेको थियो ।

यसरी बाढी र शक्तिशाली भूकम्पले आफ्नो आकृति नै गुमाएको पोखरामा पानी सुक्दै गएपछि लामो समय पछि विस्तारै मानिसहरुको बसोबास हुन थाल्यो । खासगरी पश्चिम नेपालबाट आएका ब्राम्हणहरु यहाँ पन्ध्राै शताव्दी देखि नै बसोबास गर्न थालेका थिए । तथापी यहाँ खासै कुनै परिवर्तन भने भएको थिएन । पोखराको हालको मुख्य उपत्यका बस्ति योग्य बनेकै थिएन । बि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्दा शाह राजाबाट आफ्नो धर्म र संस्कृतिको रक्षा हुन नसक्ने तथा अन्य दुख समेत दिन सक्ने डर त्रासमा आफ्नो थातथलो छोडेर बाहिरिने क्रममा नेवाःहरु पोखरामा आई बसोबास गर्न थालेका थिए । यिनै नेवाःहरु पोखराको हालको पुरानो बजार क्षेत्रमा बसोबास गर्न थालेका थिए । यिनै नेवाःहरुबाट नै पोखराको धार्मिक, सांस्कृतिक एवं ब्यापारिक गतिविधिको शुरुवात भएको थियो ।

ईतिहासको हरेक कालखण्डमा विभिन्न दैवी प्रकोपको सामना गरेको पोखरामा बि.सं. १९९८ सालको फागुन ३० गते भयावह आगलागी भएको थियो । सो बेला १५ घर जलेर सखाप भएको थियो । ति पिडित मध्य तीन घर अति नै गरिव भएको हुँदा तत्कालिन बडाहाकिम धनशम्शेरको नेतृत्वमा नेपाल सरकारले खाना खर्च रू २० तथा घर बनाउन रु ५० गरि रू ७० का दरले तीन घरलाई सहयोग गरेको थियो ।

यस घटनाको ८ वर्ष पछि नै २००६ सालमा पोखरेलीहरुले लामो समयसम्म खडेरीको सामना गर्नुपर्यो । खडेरीका कारण पोखरेली बासिन्दा आकुलब्याकुल भए भने खेतीबाली समेत लगाउन पाएनन् । मानिससंग ईष्टदेवता रिसाए भने विपत्ति आईपर्छ भन्ने जनविश्वास बोकेका जनताहरु कास्कीका तत्कालिन बडाहाकिम धनशम्शेरलाई खडेरीबाट मोक्ष पाउने उपाय खोज्न विन्ति गरे । त्यसपछि बडाहाकिम धनशम्शेरले पण्डितहरुसंग परामर्श लिंदा बैशाख कृष्ण नवमी तिथिको दिन रुद्री पूजा गरेमा खडेरीबाट मुक्ति पाईने उपाय बताए । यता चैत्र शुक्ल पूर्णिमामा गरिने देवीको गुठी पूजा चन्द्रग्रहण परेका कारण स्थगित हुने भएपछि पण्डितहरुले दुबै पूजा एकै दिन गर्ने सल्लाह दिए ।

यसरी पण्डितहरुको परामर्श अनुसार तान्त्रिक विद्या समेत जानेका बडाहाकिम धनशम्शेरले बिन्द्यवासिनी मन्दिरमा एकातर्फ रुद्री पूजा लगाउने तैयारी गरे । साथै बिन्दूवासिनी मन्दिरमा चन्द्र ग्रहणका कारण चैत शुक्ल पूर्णिमामा गर्न नपाइएको वार्षिकी पूजा समेत यसै बैशाख कृष्ण नवमी तिथिका दिन गर्ने तैयारी शुरु भयो । साथै तान्त्रिक विधी अनुसार गरिनु पर्ने मांसाहुति यज्ञ समेत सोहि दिन सम्पन्न गर्नुपर्ने सुझाव आएपछि पण्डितहरुको परामर्श अनुसार धनशम्शेरले तान्त्रिक बिधीबाट लावामा मासुका टुक्रा मिसाएर आहुती दिईने मांसाहुती यज्ञ गर्न समेत अनुमति दिए । शुरुमा मांसाहुति यज्ञका लागि गुभाजुहरुबाट गराउने भनिए पनि ब्राम्हणहरुबाट नै गर्न सक्ने भनिए पछि गुभाजुहरु बोलाईएको थिएन ।

यता धुमधामसंग पूजा चलिरहेको थियो, यज्ञ पूर्णरुपमा समाप्त भएकै थिएन । त्यतिनै बेला संयोग हो या ईष्टदेवताको शक्तिले हो अचानक हावाहुरी चल्न थाल्यो । पूजामा रमाईरहेका भक्तजनहरु कसैले पनि यज्ञमा बलिरहेको आगोतर्फ ध्यान दिएनन् । एकैछिनमा हावाहुरीले पोखरा बजारका अधिकांश घरका छानाहरु उडाउन थाल्यो भने कतिपय रुखका हाँगाहरु भाच्चिएर खस्न थाले । यज्ञ कुण्ड नजिकैको आँपको रुखको एउटा ठूलो हाँगो भाँच्चिएर यज्ञको कुण्डमाथि नै खस्यो । खडेरीले सुकेको हाँगो अग्नि कुण्डमा पर्ने वित्तिकै सल्कन थाल्यो र यज्ञ कुण्डको आगो दन्दनी दन्कन थाल्यो । हावाहुरीका कारण आगो अनियन्त्रित भई मन्दिर नजिकै रहेको बैद्यखानाको खरको छानो सल्कन पुग्यो । हेर्दाहेर्दै वल्लो घर, पल्लो घर गर्दै आगोले बजारका सबै घरहरु खरानीमा परिणत हुन थाल्यो ।

पोखरामा त्यतिबेला पानीको राम्रो सुविधा थिएन । स्थानीय बासीले बजारका केही कलधारा र पोखरीको पानीले आगो निभाउने प्रयास गरे तर उनीहरुको जोर चलेन । क्षणभरमै बिन्ध्यवासिनी, मोहरिया टोल, अधिकारीटोल, लामाचौतारा, भिमसेन टोल, नालामुख, तेर्सापट्टी, गणेश टोल, रामकृष्ण टोल र गैह्रापाटनका अधिकांश घरहरु जलेर ध्वस्त भए । एकैक्षणमा पोखरा बजार सिङ्गो अग्निकुण्डमा परिणत भयो र जलेर खण्डहर बन्न पुग्यो ।

आगलागी पश्चात धनशम्शेरले ब्राम्हणहरुलाई बोलाई मांसाहुति यज्ञको अनुष्ठानमा त्रुटि भएकाले उक्त दुर्घटना निम्तिएको आरोप लगाए । उता ब्राम्हणहरुले पनि धनशम्शेरले यज्ञमा मांसाहुति दिएका कारण अनिष्ठ भई आगलागी हुन पुगेको प्रचार गरे । आगलागी हुनुका पछाडि कुनै दैवीशक्तिको हात थियो या थिएन त्यो त जनविस्वासको कुरा हो, तर उक्त आगलागीबाट पोखरेलीवासीको अत्यधिक भौतिक क्षति भएको थियो । त्यतिबेलाका घरहरुमा प्राय खरको छानो हुने र घर निर्माणमा अत्यधिक मात्रामा काठको प्रयोग हुने भएकाले पनि उक्त आगलागीले भयावह रुप लिएको थियो । आगलागीले कतिपय मानिसको शरीरमा लगाएको एकसरो कपडा बाहेक केही जोगिएन । अन्नपात, लुगाफाटा, भाँडाकुँडा, गरगहना, पैसा सबै जलेर नष्ट भए भने मानिसहरुले खुल्ला आकाशमुनि रात काट्न बाध्य भए ।

उतिबेला प्रकाशित गोरखापत्रको समाचार अनुसार उक्त आगलागीमा परी ९ जना पोखरेलीले ज्यान गुमाएका थिए भने ४७५ घर जलेर नष्ट भएका थिए । आगलागीमा मृत्यु हुनेहरुमा बजार क्षेत्रको मोहरियाटोल बस्नुहुने समरबहादुर बजिमयका श्रीमतीका साथै २ छोरा र २ छोरीहरु गरि एकै परिवारका ५ जना, मोहरियाटोलकै बेखामान सायमीको आमा, नदीपुरका चन्द्रकान्त पाैडेलका मा र नदीपुरकै रङ्गनाथ र काँहिला भन्ने २ जना गरि जम्मा ९ जनाको मृत्यु भएको थियो । यसैगरी आगलागीमा परी कैयौं ब्यक्तिहरु घाईते भएका थिए भने सयौं घरपालुवा जनावरहरु मर्नुका साथै घाइते भएका थिए ।

यस पटक पनि आगलागीको तत्कालै राहतको रुपमा बडाहाकिम मे.ज. धनशम्शेरले बिपन्नलाई आश्रय तथा खाना दिन मोरु ३००० खर्च गरेका थिए भने बडाहाकिम मे.ज. धनशम्शेरले महाराजा श्री ३ मोहनशम्शेर सामु पनि बिन्तीपत्र चढाएका थिए । यस अगाडि नै बडाहाकिम धनशम्शेरले घरवार नभएका ज्यालादारी गरेका बसेकालाई

तत्कालै राहत मोरु १३९५ तथा २०० मन चामल आधा दाममा उपलब्ध गराउँदा भएको नोक्सानी तथा ढुवानी खर्च गर्दा मोरु १०२७२ खर्च भएको थियो । श्री ३ ले बिन्तीपत्र पाउना साथ तुरुन्तै काठमाडौबाट सरदार फत्तेबहादुर पाण्डे र क्याप्टेन दिब्यशम्शेर थापा जाँचबुझका लागि पोखरा आइपुगेका थिए । केही दिनको पोखरा बसाइमा दुवै सदस्यले दुइ काम गर्न भ्याए । पहिलो त वास्तबिक क्षतीको विवरण तैयार बनाए भने दोश्रो धनशम्शेरको जनतासंगको उठवसको जासुसी गर्न पनि भ्याएका थिए ।
काठमाडौबाट आएका प्रतिनिधीले क्षतिको विवरण संकलन गर्न नापजाँच तथा सर्जमिन गरेर राहत स्वरुप पाउने निब्यार्जी ऋणको सीमा पनि तोकिएको थियो । यसरी सम्पूर्ण विवरण संकलन गरि सो टोली काठमाडौ फर्कियो । सो टोलिको भेट प्रधानमन्त्री मोहनशम्शेरसंग भए पछि २००७ साल भदौ ३० गते श्री ३ को भाषण दिने जानकारी दिइयो । सो भाषण पोरा गोश्वारा अड्डामा आकाशवाणीबाट प्रसारण हुने प्रबन्ध मिलाइएको थियो । जसलाई सुन्न बडाहाकिम, अफिसरहरु, अड्डाखानाका कर्मचारीहरु तथा रैतीहरु समेत गरि करिव २५०० मानिस जम्मा भएका थिए । अन्दाजी दिउसोको ४ बजे श्री ३ को भाषण प्रसारण भयो । श्री ३ ले निब्यार्जी ऋणको घोषणा गरिदिए पछि करिव मोरु अढाइ लाख निकासा गराउने घोषणा भयो । भदौ ३० गते श्री ३ बाट राहत दिने घोषणा गरे पनि राहत रकम आइपुग्न भने करिव ३७ दिन लाग्यो । कार्तिक ७ गते देखि पीडितहरुलाई राहत रकम बापत निब्र्याजी ऋण स्वरुप पाउन थालेका थिए ।
घरको क्षती र तलाको आधारमा रु तीनसय देखी रु १५०० सम्म बाँडिएको थियो । केही पहुच नभएका तथा विवरण पेश गर्न नसकेकाहरुले राहत पाउन सकेनन् भने केहीले अत्यधिक लाभ हासिल गर्न सफल भएका थिए । जम्मा २१९ परिवारले मात्र निब्र्याजी रकम ऋण सहयोग पाएका थिए । आगलागीमा पिडित २२ जनाको भने आफ्नो मूलघर थिएन । अंशबण्डा भइ मूलघरमा छ्ट्टै भान्सा बनाइ बसेकाहरु थिए । यसरी निब्र्याजी ऋण सहयोगको रुपमा बाँडिएको रकम जम्मा मोरु २,५४,५८३ थियो । यस रकममा कतिपय टाठाबाठाले सरकारको ऋण फिर्ता गरेनन् । सोझासाझाले भने ऋण रकम फिर्ता गरेका थिए ।

आगलागी पिडितहरुले बिन्द्यवासिनी मन्दिरमा पूजा गर्ने पण्डितहरुको घर लुट्ने योजना समेत बनाएका थिए । कतिपयले धनशम्शेरलाई नै दोषी समेत ठानेका थिए । तर पनि सरकारी सहयोग पाउने आश्वासनले अन्य दुखद घटना भएन । तर यसको एक वर्ष नबित्दै नेपालबाट सदाका लागि राणाशासन भने समाप्त भयो ।

यस दुखद घटनाको केवल एक सप्ताह अगाडि चैत २२ गते राती ११ बजे मेरो बुबा, आमा र साना साना दुइ दिदीहरु पोखरा पुग्नुभएको थियो । पोखरामा अंग्रेजी माध्यमबाट पढाउनका लागि पोखरा पब्लिक स्कुलको स्थापना भएको हुँदा सो स्कुलमा पढाउनका लागि पोखरामा बुबालाई बोलाउनु भएको थियो । साथै बडाहाकिम धनशम्शेरले भारी बोक्नका लागि आठपहरियाहरु समेत पठाएर बुबाको सामानहरु तथा दिदीहरुलाई समेत बोकेर पोखरा पुर्याउनु भएको थियो । यसरी पोखरा पुग्नुभएको बुबा आमा राम्रोसंग बस्ने ब्यबस्था पनि मिलाउन नपाउँदै अचानक आएको बिपत्तिले गर्दा लगाएको एकसरो कपडा र केही कितावको बाकस बाहेक भक्तपुरबाट ल्याउनुभएको सबै सामान जलेर गुमाउनु भयो ।

यस दुखद घटनाको अर्को सुखद पक्ष भनेको सरकारी निर्ब्याजी सहयोग पाउने भए पछि पोखराका अधिकांश घरमा जस्तापाताको छानो छाउन थालियो । पक्की घरको संरचनाहरु बने । एक प्रकारले पोखरामा बिकासको लहर शुरु भयो ।

Comments

Popular posts from this blog

वीरशमशेर

२०४६ सालको जनआन्दोलन र भारतीय नाकाबन्दी

नौलखा हार र जङ्गबहादुरको श्रीपेच