त्रिभुवनको पलायन र देशमा प्रजातन्त्र
फागुन ७ देशकै एक गर्विलो दिन । यस दिन देशले प्रजातन्त्र पाएको थियो । १०४ वर्ष लामो पारिवारिक राणाशासनबाट मुक्ति पाएको दिन थियो यो दिन । नाम मात्रको राजा रहने तथा सम्पूर्ण राजनैतिक, सामाजिक तथा आर्थिक अधिकार राणाहरुका आफ्नै परिवार भित्र मात्रै निहित हुने हुँदा राणाकाललाई जहाँनिया शासनको रुपमा लिने गरिन्छ । हामीले इतिहासमा पढेका विवरणहरु अनुसार राजा त्रिभुवन नै राणाशासन बिरुद्ध मोर्चावन्दीमा लागेर राजतन्त्रकै बाजी थापेर प्रजातन्त्र ल्याएका थिए । त्यसैले हामीले राजा त्रिभुवनलाई राष्ट्रपिता तथा फागुन ७ को त्यो अविस्मरणिय दिनलाई प्रजातन्त्र दिवसको रुपमा मनाउन थालेका हौ ।
के साच्चै राजा त्रिभुवन त्यति गर्व गर्न लायक थिए वा के राजा त्रिभुवनकै
नेतृत्वले गर्दा राणाशासनको अन्त्य भएको थियो । राणाशासन विरुद्धको मोर्चावन्दी
गर्न के भारतीय राजदूतावास नै शरण लिनु आबश्यक थियो । के देशमै बसेर राणाविरुद्ध
लाग्न सकिदैनथ्यो त ! भारतीय
राजदूतावास भित्र लुक्न जानु वा भारतसंग शरण माग्नु त कायरता होइन र ? कुनै बेला राजा सुरेन्द्रले पञ्जाछाप लगाएर सरकार चलाउने
अधिकार दिए पछि त्यो पञ्जाछाप रद्द भएको तथा राणाहरु भित्र जहाँनिया अधिकार बञ्चित
भएको घोषणा देश भित्र नै बसेर राजाले गर्न सक्दैनथ्यो ??
यी प्रश्नहरुको उत्तर खोज्न भारतीय प्रधानमन्त्री नेहरुका पुस्तकहरु पल्टाउन
खोजे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई जीवनकालमा सबैभन्दा बढि पत्रहरु
लेख्ने ब्यक्तित्वमा पनि लिने गरिन्छ । जब उनले लेखेका पत्रहरु सबै प्रकाशन गर्ने
जमर्को गरियो यो पुस्तकहरु करिव ७०० पेजका १०३ वटा ठेली नै भए । स्वतन्त्रता
अगाडिका १५ पुस्तक र स्वतन्त्रता पछिका ८८ पुस्तकहरु छन् । जसमा नेपालका बिषयमा
आफ्ना राजदूत, बरिष्ठ
कर्मचारी एवं बरिष्ठ नेताहरुलाई लेखिएका धेरै नै पत्रहरु छन् । मैले नेपालको
प्रजातन्त्रको लहरको शुरुवात २००६ चैत्र देखि प्रजातन्त्र आइसकेपछि २००८ कार्तिक
सम्म लेखिएका पत्रहरुलाई मात्र प्राथमिकतामा राखेर अध्ययन गरेको थिएँ ।
२००६ असार २८ गते नेहरुले विहारका मुख्यमन्त्री श्रीकृष्ण सिन्हालाई लेखेको
पत्रमा नेपाल सरकार बिरुद्ध आन्दोलनरत नेपाली राजनैतिक कार्यकर्ताहरुलाई विहार आउन
तथा अन्य कार्य गर्न दिन भनेको छ भने हिंसात्मक आन्दोलनको भने बिरोध गरेका छन् ।
साथै विहार प्रवेश गरेका कुनै पनि नेपालीलाई समाउन नेपाल सरकारका अफिसरलाई विहार
प्रवेश गर्न नदिन भनेको छ । तर २००६ को भदौ ३ गते नेपालका राणा प्रधानमन्त्री मोहन
शम्शेरलाई लेखेको पत्रमा नेपाल स्वाधिन राज्य भएकोमा सदैव सुखि रहेको तथा राजनैतिक
रुपले खासै समस्या नभएको तर नेपालमा राजनैतिक कैदीहरु माथि भने अन्तराष्ट्रिय
कानुन अनुसार ब्यबहार नभएको हुँदा यसमा सुधार गर्न अनुरोध गरेका छन् । साथै
मोहनशम्शेरले गर्न चाहेको भारत भ्रमणले अझ दुइ देश बिचको सम्बन्ध अझ बलियो हुने
विश्वास ब्यक्त गरेका छन् । २००६ को भदौ २५ गते आफ्ना राजदूतलाई नेपालको महाराजाको
ब्यबहारको कटू आलोचना गरेका छन् । आफूले दिएका सुझावहरु अस्विकार गरेकोमा रिस
पोखेका छन् । तर महाराजालाई लेखेको असोज १९ को पत्रमा आशावादी रहेको जनाएका छन् ।
महाराजाले नेपालका राजनीतिज्ञ डिल्लीरमण रेग्मीसंग भारतीय सहायक विदेश मन्त्री डा.
बि भि केस्करले भेटेको तथा नेहरुले बिपीसंग भेटेको विषयमा दुख ब्यक्त गरेकोमा भारत
प्रजातान्त्रिक मुलुक भएको हुँदा कसैले पनि भेट्न खोज्दा भेट नगर्ने भन्ने नीति
लिन नसक्ने जनाएका छन् । तर यसबाट दुइ देश विचको सम्बन्धमा कुनै अप्ठ्यारो
परिस्थितीको सिर्जना नहुने भनेका छन् ।
यसैगरि २००६ को चैत्र ४ गते संसद सामु बोल्दै नेहरुले भनेका छन् - भर्खरै
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण समाप्त भयो । सौहाद्रपूर्ण यस भेटघाटले हामी
दुबै राष्ट्रको उद्धेश्य एउटै रहेको देखिन्छ । नेपालमा केही सुधारको मात्र अनुरोध
गरेका हौ । यसका लागि हामी कुनै पनि किसिमको दवाव वा आक्रमण गर्ने हाम्रो मनसाय
छैन । तर म यो सदन तथा अन्यलाई जानकारी गराउन चाहन्छु कि यस किसिमको मामलामा
हाम्रो नीति कस्तो हुनुपर्छ ।
यसै बिच २००६ सालको चैत्र २४ गते भारतीय गृह मन्त्रालयले कुनै पनि नेपालीले
भारतको सार्वजनिक नौकरी गर्न पाउने छुट प्रदान गर्न संकल्प प्रस्ताव गर्यो । यसले
एउटा भारतीय प्रान्तिय अधिकार नेपाललाई पनि प्रदान गरेको अनूभुति दिलायो । नेपाल र
सिक्किम अलग अलग स्वतन्त्र राज्य रहेको भए तापनि दुबै राज्यलाई भारतले यो सुविधा
दियो । कालान्तरमा सिक्किमलाई आफू भित्र समाहित गर्न सफल भएको हुँदा कतै भारतको
मनसाय नेपाल प्रति पनि त्यहि रहेको त होइन भन्ने शंका उब्जने ठाउँ यसले बनायो ।
२००७ सालमा नेपालमा राणाशासन हटाउन आन्दोलनहरुको शुरुवात हुदै थियो । बिभिन्न
क्षेत्रमा जुलुस तथा आक्रमणहरु हुदै थियो । उता राणा सरकारसंग भारत सरकार एउटा
सन्धिको तैयारीमा लाग्दै थियो । राणाशासन पतनको संघारमा पुगिसकेको थियो जसले गर्दा
राणा प्रधानमन्त्री मोहनशम्शेर भारतको सहयोगले सत्ता अझ बढि लम्ब्याउन सकिने आशामा
भारतका शर्तहरु मान्न तैयार थियो । यता यहि समय चीन भने तिब्बत आफूमा मिलाउने
दाउमा थियो । जसले गर्दा चीन, नेपाल र भारत बिचको सन्धिमा खासै चासो नदिने
मनस्थितीमा थियो । यहि समयको मौकामा भारतले एउटा सन्घिको तैयारी गर्यो ।
अन्तत २००७ सालको साउन १६ गते नेपाल भारत शान्ति तथा मैत्री सन्धि भयो ।
सन्धिको तत्कालै भारतीय राजदूतले नेपालका प्रधानमन्त्री श्री ३ मोहनशम्शेरलाई र
नेपालका प्रधानमन्त्रीले भारतीय राजदूतलाई पनि चिट्ठी पठाएको देखिन्छ । ५ बुँदालाई
एक अर्कालाई चिट्ठी द्वारा पनि आदानप्रदान गरेको देखिन्छ ।
नेपाल भारत सन्धि भएको एक हप्ता पछि नेपालको तराइको प्रतिनिधित्व गर्ने दुइ
राजनीतिज्ञ भद्रकाली मिश्र तथा विन्देश्वरी प्रसाद मिश्र गोप्य रुपमा दिल्ली पुगेर
भारतीय राष्ट्रपति राजेन्द्र प्रसादसंग भेट्न सफल भए । भारतीय राष्ट्रपतिलाई यि
दुइले आफूहरु सामाजिक कार्यकर्ता रहेको तर नेपालको राजनीतिसंग कुनै सरोकार नरहेको
जानकारी दिएका थिए । साथै उनिहरुले राष्ट्रपतिलाई कांग्रेसको नेपालमा गहिरो छाप
नरहेको तथा धेरैजसो कार्यकर्ता भारतमा नै बस्ने हुँदा कुनै बलियो दलको रुपमा
नरहेको पनि जानकारी दिएका थिए । शायद यसै कारणले होला देशमा प्रजातन्त्र आए पछि
नेहरुको दवावमा मोहनशम्शेर र बिपीले भद्रकाली मिश्रलाई मन्त्रीमण्डलमा सामेल गर्न
बाध्य भएका थिए ।
नेहरु मोहनशम्शेरलाई सत्ता टिकाइदिने लालचमा ५० को सन्धिमा हस्ताक्षर गराउन
सफल त भए तर त्यसपछि श्री ३ माथि सहयोग गर्ने पक्षमा रहेको देखिएन । यहि बिच राजा
त्रिभुवनले भारतीय राजदूत सिपिएन सिंहलाई भेट गरेर नेहरुको लागि गोप्य सन्देश
पठाउन सफल भए । नेहरुलाई राजाले भारतीय राजदूतावासमा शरण लिन सक्ने जानकारी दिएका
थिए । यसको जवाफमा नेहरुले भनेका छन्,
"महामहिम राजदूतबाट जानकारी पाए अनुसार तपाइ र तपाइको प्रधानमन्त्री बिचको
सम्बन्ध र तपाइको ब्यक्तिगत सुरक्षाको कुरा सुन्दा दुख लागेको छ । म यहाँलाई
पूर्णरुपमा आश्वस्त पार्न चाहन्छु कि हाम्रो दूतावास अन्तराष्ट्रिय कानुनको मूल्य
र मान्यता अनुरुप हामीले दिन सक्ने सुरक्षा र शरणको लागि तैयार छ ।"
२००७ कार्तिक १२ गते नेहरुले सिपिएन सिंहलाई पठाएको पत्र अनुसार नेपालका
राजाको प्रधानमन्त्रीसंगको सम्बन्ध बिग्रदै गरेकोमा दुखी भएको जानकारी दिन भनिएको
थियो भने सुरक्षाका नाममा दूतावासमा शरण लिन तथा दूतावासबाट जहाजमा दिल्ली लग्ने
ब्यबस्था मिलाउने जानकारी राजालाई दिन भनिएको थियो । गोप्य सूचना अनुसार राजा त्रिभुवनको
पारिवारिक नर्सका रुपमा कार्यरत जर्मन फिजियोथेरापिस्ट एरिका पनि दरवार भित्र नै
बसेर राजा त्रिभुवनलाई भारतीय राजदूतावासका गोप्य तैयारीहरु बारे जानकारी
दिइरहेका थिए । यता दरवारहरूमा मिठाइ पठाउने काम गरिरहेका एक ब्यापारी बिएल शर्मा
पनि भारत सरकारको बिभिन्न योजनामा सहयोग गरिरहेका थिए ।
बिएल शर्माकै भनाइमा पनि राजालाई भारत तर्फ शरण दिन लैजाने तैयारी तीन महिना अगाडि साउन महिनामा
नै भएको थियो । पटनाबाट आउने नियमित प्यासेन्जर जहाजमा नै राजालाई गोप्य रुपमा चढाएर पठाउने योजना थियो । तर राणाहरुले चाल पाएर अत्यधिक
सुरक्षा गरिँदा असफल भएको थियो । बिएल शर्माकै भनाइमा पनि गौचर विमानस्थलको
निर्माण नै भारत सरकारको योजनामा राजा त्रिभुवनलाई दिल्ली लैजाने योजना अनुरुप नै
भारतीय सरकारो सहयोगमा नीजि खर्च गरेर २२ दिनमा नै विमानस्थल तैयार गरेका थिए ।
यसका लागि बिएल शर्माले, श्री ३ मोहनशमशेरका छोरा विजयशमशेको सहयोगमा विमानस्थल
बनाउने योजना स्विकृत गराएका थिए । स्विकृती पाए पछि इञ्जिनियर ज्यानबहादुर
प्रधानको सहयोगमा गौचरणका रुपमा रहेको जमिन मध्य ५०० गज चौडा र २५० गज
लम्बाइको जमिन सम्याएर जहाज अवतरण र उडान गर्न सकिने बनाएका थिए । विमानस्थल तैयार
भए पछि भारतबाट गोप्य रुपमा साधारण पोशाकमा १५-१६ भारतीय सैनिकहरु ल्याएर भारतीय
दूतावास भित्र तैनाथ गरिएका थिए ।
नभन्दै राजा त्रिभुवन, भारतीय राजदूत सिपिएन सिंहको सहयोग र सल्लाहले बि.सं.
२००७ साल कार्तिक २२ गते बिहान ९ बजे नारायणहिटी दरवारबाट शिकार खेल्ने बहानामा
शितल निवासमा रहेको भारतीय राजदूतावासमा शरण लिन पुगे । यस योजनामा भारतीय
राजदूतले राणा प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा राखिएको राजा त्रिभुवनको
एडिसी नारायण नरसिंह राणा पनि साथैमा दूतावास पुगेका थिए । नारायण नरसिंह, भैरव नरसिंह राणाका छोरा थिए ।
राजदूत सिपिएन सिहंले बिएल शर्मालाई बिहानै दूतावास भित्र
बोलाइसकेका थिए । राजा सहित राजपरिवारका अधिकांश सदस्यहरु दूतावास भित्र प्रवेश
गरिसके पछि यसको जानकारी तुरुन्तै भारतीय राजदूत सिपिएन सिंहले नेहरुलाई दिए भने
नेहरुले त्यसको भोलिपल्ट नै पत्र लेखेर भारतीय राष्ट्रपति राजेन्द्र प्रसादलाई
जानकारी दिएका थिए ।
राष्ट्रपतिको लागि पठाइएको पत्रमा नेहरुले लेखेका छन् - बम्बइ र पूनाको
भ्रमणमा आज साँझ दिल्ली आइपुगे । यस बिच मेरो अनुपस्थितिमा नेपालमा महत्वपूर्ण
घटनाक्रमहरु घटित भइसकेको रहेछ ।
भोलिपल्ट कार्तिक २३ मा नेहरुले सिपिएन सिंहलाई टेलिग्राम पठाएर केही कुरा
गर्न लगाएका छन् । नेहरुले राजदूतलाई राजासंग भेटेर भारत आउने तैयारी गर्न लगाएका
छन् । साथै तुरन्त जहाज पठाउन आफू तत्पर रहेको पनि जनाएका थिए ।
यसको भोलिपल्ट कार्तिक २४ मा भारतीय वायुसेवाको विमानलाई नेपालमा अवतरण गर्न
नदिएको तथा भारत र नेपाल विचको सन्धिको कारणले आफूले विमान अवतरण गर्न नसकिने
हुँदा छिट्टै नै कुनै समाधानको उपाय खोज्ने जानकारी भारतीय प्रधानमन्त्री नेहरुले
राजदूत सिपिएन सिंहलाई दिएका थिए ।
राणा श्री ३ मोहनशमशेरले काठमाडौको आकाशलाई हवाइ नाकावन्दी लगाएका थिए । कुनै पनि विमानलाई
गौचर आउन बन्देज लगाइएको थियो । भारतीय कुनै पनि विमानलाई गौचरमा अवतरण गर्न
बन्देज लगाइए पछि राजा त्रिभुवनका साथ परिवारका १७ सदस्यहरु ४ दिनसम्म भारतीय
राजदूतावासमा नै रहन बाध्य भएका थिए । दूतावास वरपर रामदल गणका प्रहरीहरु तैनाथ
गरिएका थिए । तिहारको यमपञ्चक शुरु भइसकेको थियो । जसले गर्दा उपत्यकाभर जुवा तास फुकुवा
भएको हुँदा कतिपय जुवातासमा नै भुलेका थिए । बाकी जनता पनि तिहारको रमझम भुल्न
थालिसकेका थिए । जसले गर्दा कतिपय दरवार भित्रका घटनाचक्रबाट अनविज्ञ थिए ।
कार्तिक २६ गते लक्ष्मी पूजाका दिन दिउसो ४ बजेतिर भारत
सरकारले केही सैनिकहरु सहित भारतीय एयरफोर्सको विशेष विमान गौचर विमानस्थलमा पठाए
। भारतीय सैनिकहरु सहित विमान पठाउनु अगाडि प्रधानमन्त्री श्री ३ मोहनशमशेरलाई
भारतीय सरकारका तर्फबाट चेतावनी युक्त सन्देश पठाइएको थियो, केही घटना भएमा यसको
जिम्मेवार श्री ३ हुनेछ । जसले गर्दा सैनिकहरु परिचालन गरिएन । राजदूतावासबाट ६
वटा गाडीमा राजा र परिवारका सदस्य सहित करिव ३० जना गौचर विमानस्थल पुगे । जहाज
सुरक्षित रुपमा दिल्लीका लागि उड्यो । यस विमान भित्र राजा त्रिभुवनका एडिसि नारायण
नरसिंह, करिव ११ जना साधारण पोशाकमा भारतीय सुरक्षाकर्मीहरु, राजा त्रिभुवन र
राजपरिवारका सदस्य १७ जना थिए । दिल्लीमा जहाज पालम विमानस्थलमा अवतरण गरिएको थियो
। राजा एवं राजपरिवारलाई स्वागत गर्न पालम विमानस्थलमा प्रधानमन्त्री नेहरू स्वयं
पुगेका थिए ।
पालम विमानस्थलबाट राजपरिवारलाई हैदरावाद भवन लगिएको थियो । हैदरावाद भवनमा राजपरिवारलाई कडा सुरक्षा बिच राखिएको थियो । त्यहाँ कसैलाई भेट्ने अनुमति
दिइएको थिइएन । कार्तिक २८ को
दिउँसो नेहरु र राजा त्रिभुवन
बिच निकै लामो वार्तालाप भएको थियो । यस वार्तामा भारतीय प्रधानमन्त्री नेहरुले
राजालाई कांग्रेसका नेताहरु तथा पत्रकारहरुलाई समेत नभेट्न भनेको हुँदा नेहरु
राजालाई आफ्नो अनुसार हिड्न बाध्य बनाउने तैयारीमा थिए भन्ने बुझ्न सकिन्छ ।
कार्तिक २८ गते
उपप्रधानमन्त्री बल्लभभाइ पटेलले नेहरुलाई लेखेको पत्रका अनुसार पटेलले नेपाली
कांग्रेसलाई त्यति नरुचाउने भन्ने देखिन्छ । त्यहि दिन इंटेलिजेंस ब्यूरोका डाइरेक्टर बि एन मल्लिकले
नेपालको तराइमा नेपाली कांग्रेसका बिद्रोहीहरुबाट गरेका कृयाकलापको विवरण भारतीय
प्रधानमन्त्री नेहरुलाई बुझाएका थिए । जसका अनुसार कलकत्ताबाट आएका नेपाली
कांग्रेसका करिव २०० हतियारधारी लडाकुहरुलाई मुजफ्फरपुरमा जम्मा गरि यि
लडाकुहरुलाई रक्सौलसम्म ट्रकमा राखेर ल्याइएको थियो । हतियार तथा गोलाबारुद पनि
कलकत्ताबाट नै ल्याइएको थियो । सोही हतियारधारी लडाकुका सहयोगमा नेपाली कांग्रेसले
वीरगञ्जमा रहेको सदर मुलुकी खानाबाट नगद २६ लाख लुटेको रहेछ । त्यस्तै तीन बक्सा
सुनको ढिक्का तथा दुइ बक्सामा सुनको सिक्का पनि चोरेर लगेका थिए । तिनीहरुले
लुटेको रकम तथा सुनहरु भारतीय भूमीमा लुकाएर राखेको आशंका गरिएको थियो ।
यी यावत कारणले पटेल
नेपाललाई स्वतन्त्र राष्ट्रका
रुपमा राख्न दिने मनसायमा थिएनन् । नेहरूलाई बारम्बार दवाव दिएर नेपाललाई भारतको एक
राज्यका रुपमा स्थापित गर्न अनुरोध गर्दथे । हैदरावाद भवन भित्र रहेका राजालाई पनि उनले कुनै एक कागजमा हस्ताक्षर गर्न बारम्बार
अनुरोध गरिरहेको पनि बिभिन्न ब्यक्तिले उल्लेख गरेको पाइन्छ । सो कागजमा एक भारतीय
राज्य बनाउने बारेको कागज हो पनि भन्ने सुनिन्छ । तर यसको यकिन प्रमाण भने कतै
देखिदैन ।
कार्तिक २९ गतेको बिहानै
बिपी कोइरालाले भारतीय प्रधानमन्त्री नेहरुको निजी सचिव एमओ मथाइ संग भेट गरेर
भारत सरकारले राजा त्रिभुवनको नेतृत्वमा गठन हुने नेपाली कांग्रेसको सरकारलाई
मान्यता दिने आशा ब्यक्त गरे । उनले हतियारको लिष्ट दिदै भारत सरकारबाट सहयोग पाउने
आशा पनि ब्यक्त गरे । साथै भारतीय सेनामा कार्यरत गोर्खाली सैनिकहरुलाई पनि
नेपालमा राणा विरुद्धको युद्धमा राजा त्रिभुवनको सहयोगमा लड्ने अनुमति दिन पनि
अनुरोध गरे । र अन्तमा बिपीले छिट्टै नेहरुसंगको भेटघाटको अपेक्षा पनि राखे ।
बिपीसंगको भेट र बिपीको
भारत सरकारबाट राखेको अपेक्षा बारेमा निजी सचिवले नेहरुलाई सुनाए । नेहरु बिपी
प्रति रुष्ट भए । उनले भने यिनीहरुको माग देखेर म आश्चर्यित भए । यिनीहरु निकै
ठूलो भ्रममा छन् । भारत सरकार के हो र सरकारले के कसरी काम गर्दछ भन्ने नै यिनीहरुलाई
थाहा छैन ।
भारत सरकारले अझै पनि
नेपालको राजाको रुपमा त्रिभुवनलाई लिइरहेको छ । र नेपालमा रहेको राणा सरकारसंग पनि
सम्बन्ध कायमै छ । यि दुइको बिचमा नेपाली कांग्रेस कतै आउँदैन । साथै नेपाली
कांग्रेसले सरकार बनाइ हाल्ने र त्यसलाई मान्यता दिइ हाल्नुपर्छ भन्ने देखिदैन ।
नेपाल र भारत सरकार बिच
कुनै युद्धको अवस्था नै नहुँदा नेपालको बिद्रोहीहरुलाई सैनिक सहयोग गर्ने कुनै
कुरै आउँदैन । हामी त हाम्रो भूमीको उपयोग आक्रमणको लागि समेत नेपाल सरकार तथा
बिद्रोही दुबैबाट हुन दिदैनौ ।
कोइराला र उनका साथीहरुले
यो स्पष्ट बुझ्नुपर्दछ कि उनिहरुले नेपालको स्वतन्त्रता तथा सुधारका लागि जुन
कृयाकलाप गरिरहेका छन् यसले नेपालको राजा तथा भारत सरकारलाई निकै लज्जास्पद बनाएको
छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुको कतिपय कामहरु बिना सुझबुझ तथा दुस्साहस
पूर्ण रहेको छ जसले यिनीहरुलाई नै हानी पुर्याइरहेको छ । हिजो नेपालमा लुटिएको रकम
बोकेर जसरी दिल्ली आइपुगे यसले भारत सरकारलाई निकै लज्जास्पद बनाएको छ ।
नेपाली कांग्रेसका
नेताहरुलाई मेरो यो सुझाव छ कि यिनीहरु भारत सरकार तथा नेपालको राजासंगबाट टाढा
रहनु । साथै दिल्लीमा कोही पनि नबस्नु । यदि भारतमा बसेर गलत गतिविधी सञ्चालन
गर्दछ भने यिनीहरुको कृयाकलाप माथि प्रतिवन्ध लगाउन भारत सरकार बाध्य हुनेछ ।
भारत सरकार नेपालको हालको
समस्याबाट मुक्त दिलाउन तथा नयाँ सरकार गठन गर्ने कार्यमा सहयोग गर्न तैयार छ ।
त्यसको लागि नेपाली कांग्रेसले सबै किसिमका लज्जास्पद गतिविधी त्याग्नु पर्दछ ।
यदि नेपाली कांग्रेसबाट भइरहेको युद्धरत कृयाकलाप बन्द भयो भने नेपाल सरकारलाई
शान्तिवार्ताको लागि आह्वान गर्न सकिन्छ । जसले छिट्टै नै कुनै हल निकाल्नेछ ।
यो सबै कृयाकलापमा बिपी
कोइराला हुनु हुदैन । छिट्टै नै बिपी तथा उनका साथीहरुले दिल्ली छोडुन भन्ने म
चाहन्छु ।
यसरी नेहरुले आफ्ना निजी
सचिव एमओ मथाइलाई दिएको जानकारी हेर्दा भारत सरकारको रवैया नेपाल प्रति कस्तो थियो
भन्ने सहजै बुझ्न सकिन्छ । नेहरुले राजा त्रिभुवन र श्री ३ मोहन शम्शेर बिच
मध्यस्तता गर्न चाहेको बुझ्न सकिन्छ । आम नेपालीहरुले देशभर चलाएको आन्दोलन हिँसक
र अराजक भएको हुँदा तुरुन्तै बन्द होस भन्ने नेहरु चाहन्थ्यो । यसरी त्रिपक्षिय
वार्तामा नेहरु, राजा र राणा मात्र होस
भन्ने चाहेको देखिन्छ । यसैले बिपीले बारम्बार हैदरावाद हाउसमा राजासंग भेट्न
चाहँदा पनि भेट गर्न दिइएन । तर त्यसबेला राजाका कट्टर समर्थक रहेका इश्वर
शम्शेरलाई भने नेहरुले राजासंग भेट गर्न दिएका थिए ।
२० नवम्बर १९५० अर्थात २००७ मंसिर ५ गते बेलायती मन्त्रीपरिषदको बैठकले नाबालक
राजा ज्ञानेन्द्रलाई मान्यता दिने तैयारी भइसकेको थियो । यहि समय मंसिर १ गते
नेहरुले बेलायती विदेश मन्त्रालयका सचिवलाई लामो पत्र पठाएर बेलायती सरकारले
नाबालक राजालाई मान्यता नदिन अनुरोध गरे । साथै नेहरुले उत्तर प्रदेशका
मुख्यमन्त्री गोविन्द बल्लभ पन्तलाई पनि लामो पत्र लेखेर आफू नेपालमा शान्तिपूर्ण
वार्ताबाट शान्तीबहाली भएको देख्न चाहेको जानकारी दिएका छन् । आफू बम्बइ भ्रमणमा
रहेको समय अचानक राजाले सपरिवार भारतीय राजदूतावासमा शरण लिन आएको हुँदा आफूले
सुरक्षित दिल्लीमा ल्याएको जानकारी दिएका थिए ।
मंसिर १२ गते राजदूत विजयशम्शेर र केशरशम्शेरले नेहरुसंग भेट गरेर राजाको
रुपमा नाबालक ज्ञानेन्द्र राखिसकेको हुँदा हटाउन मिल्दैन । यस्तो परिस्थितीमा
त्रिभुवन स्वदेश फर्कनु त्यति सुरक्षित पनि हुदैन । तर सरकारमा गैर राणालाई पनि
राखेर सरकार गठन गर्न सकिन्छ । बजेटको घोषणा पनि गर्न सकिन्छ । संविधान सभाको
गठनमा केही समय लाग्ने हुँदा यसलाई भविष्यमा गर्न सकिन्छ भन्ने जानकारी दिए ।
नेहरुले पनि आफ्नो पुरानै धारणा राखिरहे । जबसम्म नाबालक राजालाई हटाएर
त्रिभुवनलाई राजा स्विकार गरिदैन कुनै पनि अन्य शर्ट मान्न तैयार नभएको जिकिर गरे
।
यता नेपालका प्रधानमन्त्री मोहन शम्शेर भारतको हस्तक्षेपको नीति बिरुद्ध
अन्तराष्ट्रिय रुपमा के गर्न सकिन्छ भन्ने बाटो पनि खोज्दै थिए । संयुक्त राष्ट्र
संघको सदस्यतामा छेकवार लगाउँदै बसेको भारतले त्यो बाटो पनि एक किसिमले बन्द नै
गरिदिएको थियो । बेलायत र अमेरिकाको साथ साथै पाकिस्तानले पनि बालक राजालाई
मान्यता दिन सक्ने सूचना पठाइसकेको थियो । सबै तिरबाट घेरिएका नेहरु भने नेपालको
सबैभन्दा नजिकको राष्ट्र भारत नै भएको हुँदा भारतले जे चाहन्छ त्यहि गर्नुपर्छ
भन्ने दवाव सिर्जना गर्न ब्यस्त थिए ।
अन्तत पुस १० गते विजय शम्शेर र नरेन्द्रमणि दीक्षित निष्कर्षपूर्ण वार्ताको
लागि पुगेका थिए । यो वार्ता करिव करिव नेहरुको प्रस्ताव नै स्विकार गर्नु थियो ।
एउटै मुख्य बुँदामा भने मोहनशम्शेरले अट्को थाप्यो । राजा कसलाई स्विकार गर्ने
भन्ने निर्णय संविधान सभाले नै गर्नेछ । तर यो नेहरुलाई स्विकार्य भएन । नेहरु त
राजा त्रिभुवन नामको कठपुतली राजा बनाउन चाहिरहेका थिए । जसलाई नेहरुले जे चाहन्छ
गराउन सक्थे । तसर्थ नेहरुले ढिपी छोडेनन् ।
पुस १८ गते भारतले जे चाहन्छ त्यो सबै स्विकार गर्न विजयशम्शेर तैयार भयो ।
भोलिपल्ट विजयशम्शेर नै नेपाल फर्किए । पुस २४ गते मोहनशम्शेरले बक्तव्य दिदै
पुरानो निर्णय वदर भएको घोषणा गरे । साथै भारतको प्रस्ताव हितकर भएको हुँदा
स्विकार गरिएको पनि घोषणा गरे । नेहरु सो समय लण्डनमा थिए उनले पनि खुशी ब्यक्त
गरे । यसको भोलिपल्ट राजा त्रिभुवनले पनि मोहनशम्शेरको बक्तव्यको स्वागत गरे । तर
नेपाली कांग्रेस भने यो सबै कार्यमा खुशी भएन । पुस २६ मा मातृका प्रसादले
मोहनशम्शेरको घोषणाको विरोध गरे साथै स्विकार गर्न नसकिने पनि बक्तव्य दिए ।
त्रिपक्षिय वार्तामा कांग्रेसलाई सहभागी गराउनुपर्छ भन्ने नेहरुले ठानेनन् । केवल
भारत सरकार र मौजुदा नेपाल सरकार मात्र सहभागी रह्यो । राजा त्रिभुवन पनि त्यसमा
सहभागी थिएनन् । त्रिभुवनलाई पूनर्वहाली गरिदिने बाचामा नै मख्ख थिए । अन्य के
कस्ता प्रावधान राखिए भन्नेमा चासो नै थिएन ।
माघ १ मा नेहरुले नेपाली कांग्रेसका शिर्षस्थ मातृका, बिपी र सुवर्णसंग वार्ता
गरे । सरकारमा सम्मिलित गराउने आश्वासनमा नेपाली कांग्रेसका मातृकाप्रसादको अर्को
दिनको वक्तव्यमा भारतलाई धन्यवाद दिदै भारतको प्रस्ताव स्विकार गरेको पनि जनाए ।
| भारत प्रवासका बिच सार्वजनिक समारोहमा भारतीय गणतन्त्र दिवसका दिन राजा त्रिभुवन |
माघ १३ गते अर्थात सन् १९५१ जनवरी २६ मा भारतीय गणतन्त्र दिवसको अवसरमा दिल्लीमा आयोजित कार्यक्रममा भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसादको साथमा राजा त्रिभुवन पनि सामेल भएका थिए । दिल्ली पुगेका राजा पहिलो पटक सार्वजनिक समारोहमा भाग लिएका थिए ।
यसरी अन्तत फागुन ७ गते देशले प्रजातन्त्र त पायो । तर पूर्णरुपमा स्वाधिनता
पाएन । भारतीय अघोषित औपनिवेशितामा रहन बाध्य भयो । तर आम नेपालीहरुका लागि भने
त्रिभुवन प्रिय राजा बने ।
Comments
Post a Comment