जीवित देवीका रुपमा पूजिने कुमारी
कुमारी अर्थात अविवाहित महिला वा बालिका । अझ भन्ने हो भने रजस्वला हुनु अगाडिको बालिकालाई कुमारीका रुपमा लिने गरिन्छ । तर बोलिचालिमा अविवाहित महिलालाई पनि
कुमारी भन्ने गरिन्छ । कुमारी पूजा गर्ने प्रचलन केवल नेपालमा मात्रै होइन । भारतमा रहेको प्रख्यात मन्दिर कन्याकुमारीले पनि कन्या त्यसमा पनि कुमारीको पूजा गर्ने
प्रचलन भारतमा पनि रहेको बुझिन्छ । त्यस्तै ग्रीक कथामा पनि जिउस र मेथिसको छोरी एथेना पनि कुमारी देवी थिइन । हुन त उनलाई बुद्धिको देवीका रुपमा पूजिने गर्दछ ।
जापानी पौराणिक कथाहरुमा पनि अमातरासु देवीलाई कुमारी देवीका रुपमा लिने गर्दछन् ।
श्रृष्टि नै नारी र पुरुषमा अडिएको हुन्छ । तसर्थ कुमारी रहनु श्रृष्टीको बिपरित हुनु पनि हो । तर पनि कुमारीको पूजा गर्ने प्रचलन भने धेरै अगाडि देखि नै रहेको
देख्न सकिन्छ । इशा पूर्व छैठौ शताव्दी तिर लेखिएको मानिएको "तैत्तिरीय-आरण्यक" मा शक्ति अर्थात देवीको रुपमा कन्याकुमारीका रुपमा उल्लेख गरिएको पाइन्छ । यसर्थ
कन्याकुमारीलाई देवीको रुपमा शैवहरुको शुरुवाती कालमा नै पूज्न थालेको देखिन्छ । चौथो शताव्दीमा लेखिएको देवी महात्म्यमा सप्तमातृकाको प्रसंग आउँदा त्यसमध्य एक
कुमारी पनि रहेको छ । भारत कन्याकुमारीमा रहेको कुमारीलाई कृष्णकी दिदीको रुपमा पनि लिने गरिन्छ ।
तर उपत्यकामा जीवित देवीका रुपमा पूजा गरिने कुमारी भने एघारौ शताव्दीमा शुरु भएको मानिन्छ । लिच्छवी राजा लक्ष्मीकामदेवले कुमारीको पूजा गर्ने प्रचलनको शुरुवात गरेका थिए । यिनै लक्ष्मीकामदेवले नै पाटन दरवारको निर्माण पनि थालेका थिए । पाटनको नाम यल भने किराँती राजा यलम्बरको नामबाट रहन गएको हो । यलम्बरले राज्य गरेको शहर भएको हुँदा यल भनिएको हो ।
लक्ष्मीकामदेवले कुमारी देवी कै कारणले दरवार निर्माण सम्पन्न भएको तथा राज्य प्राप्त भएको भन्दै हखः बहाः बनाउनुका साथै बहाः कै अनुयायी एक बाँडाको छोरीलाई कुमारी बनाएर पूज्न थालेका थिए । दरवार नजिकै बनाइएको बहाः जसलाई लक्ष्मी बहाः (हखः बहाः) भनिने गरिन्थ्यो । जसको पुरा नाम लक्ष्मीकल्याण वम्र्मन संस्कारित रत्नाकर महाविहार राखिएको थियो । साथै यस बहाःमा कुमारीको मुर्ति समेत बनाएर कुमारी पूजाको आरम्भ समेत गराएका थिए । तर सत्रौ शताव्दीमा पाटन दरवारलाई बिशाल दरवार बनाउने क्रममा यो बहाः भत्काएर हालको गाः बहाः मा सारियो ।
यसरी एघारौ शताव्दीमा पहिलो पटक पाटनमा कुमारी चयन गरि जीवित देवीका रुपमा पूजा गर्न थालिए पनि पछि छुट्टै किंवदन्ती बनाएर जीवित देवी कुमारी तलेजु भवानी नै भएको प्रचार गरिएको पाइन्छ । प्रत्येक रातमा राजासंग पासा खेल्न आउने युवती तलेजु भवानी भएको तथा राजाले अनुरोध गरेपछि कुमारीका रुपमा रहने बाचा गरेको हुँदा जीवित देवी कुमारी, तलेजु भवानी नै रहेको भन्ने गरिन्छ । जबकी तलेजु भवानी भारतबाट ल्याइएको देवी हो । यसमा कुनै मुर्ति होइन एक यन्त्र (मण्डः)लाई पूज्ने गरिन्थ्यो र गरिन्छ पनि ।
चौधौ शताव्दीमा सिमरौनगढका राजा हरिसिंहदेवले आफ्नो राज्य खोसिए पछि आफूले पूजा गर्दै आएको तलेजू भवानीलाई पनि साथमा भक्तपुर लिएर आएका थिए । भक्तपुर पुग्नु अगाडि सो देवीलाई अन्यत्र नै स्थापना गरेका थिए । राजा हरिसिंहदेवको भक्तपुर पुग्नु अगाडि नै देहावसान भएको थियो । तसर्थ उनका रानीले तलेजु भवानीलाई भक्तपुर लगेका थिए । शुरुमा तलेजु भवानीका रुपमा श्रीयन्त्रलाई पूजा गर्ने गरिन्थ्यो । पछि तलेजु भवानीको मुर्ति बनाइएको थियो ।
मल्ल राजाहरुले मिथिलाका प्रथम राजा नान्यदेवलाई नै प्रधान पूर्व पुरुष मान्दै आएको हुँदा पनि तलेजु भवानीलाई पनि कुलदेवताका रुपमा स्विकार गरेको भन्नेमा अत्युक्ति नहोला । र पछि आएका शाह राजाहरुले उपत्यकामा पूजिदै आएको देवीदेवता तथा यहाँको संस्कार र सम्पदालाई अंगिकार गरि बस्दा सहज हुने र जनताबाट बिरोधको अवस्था नआउने आकलन गरेर उपत्यकामा मान्दै आएको देवी देवता तथा चाडपर्व र संस्कार सबैलाई स्विकार गर्न तैयार रहँदा तलेजु भवानीलाई कुलदेवताका रुपमा स्विकार नगरे पनि बिशेष पूजा गरेर अंगिकार गरेका थिए ।
उपत्यकामा प्रवेश गरेर राजाको प्रिय देवी भएर स्थान पाएको तलेजु भवानीको शुरुवातको बासस्थान भने भारत मध्यप्रदेशमा रहेको अनुमान गरिएको छ । मराठाहरुको कूलदेवताका रुपमा पूजिने देवी सिमरौनगढका राजा नान्यदेवले पनि कूलदेवताका रुपमा पूजा गर्न थालेका थिए । कुनै बिशेष देवी वा भनौ शक्तिको देवीलाई अन्यले पनि स्विकार गर्नु मनासिव नै हुने गर्दछ ।
तर जीवित कुमारीलाई देवीका रुपमा पूजा गर्ने प्रचलन भने नेपालमा मात्र रहेको पाउँछौ ।
पहिलो पटक रत्न मल्लले बि.सं. १५५८ मा कान्तिपुरमा तलेजु भवानीको सानो मन्दिर बनाए । १५९६ मा महेन्द्रमल्ले तीन तले मन्दिर बनाए । यता पाटनमा सिद्धिनरसिंह मल्लले १६७७ तिर पाटन दरवार भित्र पनि तलेजुको मन्दिर बनाएका थिए । भिन्न भिन्न किंवदन्तीहरुमा भिन्न भिन्न राजाको नाम गाँसिएको पाउँछौ । धेरै राजाको कथामा तलेजु भवानी पासा खेल्न रातमा आउने चर्चा गरेको पाइन्छ । तत्कालिन समयमा राजाहरुले आफूलाई विष्णु भगवानका रुपमा रहेको प्रचार गर्दथे । यसर्थ आफूहरुसंग बिशेष दैवी शक्ति भएको कारणले देवीसंग पासा खेल्न पाएको प्रचार गरिएको हुनुपर्दछ ।
तत्कालिन समयमा मल्ल राजाहरुले तलेजु भवानीलाई कुलदेवीका रुपमा अंगिकार गरे संगै कुमारी पनि प्रत्येक शहरमा राख्न थालियो । हाल उपत्यकाका बिभिन्न शहरहरुमा गरि दश कुमारी रहेको देखिन्छ ।
तलेजु भवानीको कथा पनि रोचक छ । हाम्रा आख्यानहरुले प्रत्येक देवीदेवताका कथा रोचक मात्र होइन विश्वसनिय बनाएर आस्था जगाउने काम पनि गर्दछ । तलेजु भवानी शुरुमा मुर्तिका रुपमा थिएन । यो एक श्रीयन्त्र मात्र थियो । महादेवले श्रीयन्त्र सिर्जना गरेर पार्वतीलाई खुशी पारेका थिए । महादेवले यो श्रीयन्त्र इन्द्रलाई उपहारमा दिए । रावणका छोरा मेघदुतले स्वर्गमा आक्रमण गरेर इन्द्रलाई पराजित गरेपछि श्रीयन्त्र खोसेर लंका ल्याए । इन्द्रलाई पनि पराजित गरेको हुँदा उनको नाम नै इन्द्रजित पनि रहन गएको थियो ।
श्रीयन्त्रको प्रभावले लंकाधिपति रावणलाई कसैले पनि हराउन सक्दैनथे । रामसंगको युद्धमा भने श्रीयन्त्रको प्रभाव कम भएर वा श्रीयन्त्रले पनि रामको साथ दिएर हो रावणको हार हुन्छ । यसपछि यो श्रीयन्त्र रामले आफ्नो साथ अयोध्या लिएर गए । रामले आफ्नो राज्यकाल भरि यसलाई साथमा राखे । मृत्यु नजिक पुग्दा भने रामले यस श्रीयन्त्रको दुरुपयोग अन्यले नगरुन भनेर सरयूमा डुबाएर छोडे ।
यसरी डुबाएर छोडेको श्रीयन्त्रको कथा मिथिला राज्यका जनक तथा मल्ल राजाहरुको बंशपुरुष नान्यदेवको हात लाग्यो । नान्यदेवका पुर्खा कोंकण प्रदेशबाट आएर चन्द्रभागा नदि किनारमा बसेका थिए । नान्यदेव त्यहाँबाट दिल्लीमा आइ दिल्लीका बादशाहकोमा नौकरी गरेर बसे । यहि रहँदै बाबुआमा तथा पत्नीको पनि देहान्त भएपछि फकिरका रुपमा घुम्दै घुम्दै अयोध्या पुगे । संयोगले अयोध्यामा सरयू किनारमा बसिरहँदा अचानक उनको हातमा सुनको पेटारो भित्र राखिएको श्रीयन्त्र हात लाग्यो । साथमा श्रीयन्त्र पूजाबिधी पनि थियो ।
श्रीयन्त्र स्थापना गरि पूजा गर्दा अचानक राजा अलार्काले गाडेर राखेको धन उनको हात लाग्यो । यसरी पर्याप्त धन भए पछि राज्य गर्ने र राजा बन्ने मनसायले शुरुमा काठमाडौ उपत्यका आक्रमण गर्न आए । तर यसमा उनको हार भयो । यहाँबाट फर्केर मिथिलामा सिमरौनगढ राज्य स्थापना गरि त्यहाँको राजा बनेर बसे ।
यिनै राजा नान्यदेवको वंशमा रहेका राजा हरिसिंहदेवको समयमा भने दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको आक्रमण पछि बि.सं. १३८२ मा राजा हरिसिंहदेव सपरिवार आफ्ना भारदारहरु सहित भागेर ससुराली भक्तपुर तर्फ राजा रुद्र मल्लसंग शरण लिने मनसायले लागे । तर उनको बाटोमा तीनपाटनमा नै निधन भयो । यसरी भाग्ने क्रममा उनले सिमरौनगढबाट पुर्खौ देखि पूज्दै आएको कूलदेवीका रुपमा रहेको तलेजू भवानी स्वरुपको श्रीयन्त्र बोकेर आएका थिए ।
भक्तपुरमा सिमरौनगढका राजा हरिसिंहदेवकी रानी देवलदेवी तथा छोरा जगतसिंह मात्र पुगेपछि राजा यक्ष मल्लको शरण लिएर बस्न थाले । अचानक बि.सं. १३८३ मा राजा यक्ष मल्लको निधन भएपछि नाबालिका छोरीको अख्तियारीमा बज्यै प्रदुमलदेवीले नै राज्य सञ्चालन गरे । राजा यक्ष मल्लको छोराहरुको निधन भइसकेको हुँदा नाबालिका छोरी नायकदेवीको हकमा राज्य सञ्चालन आएको थियो । यता अर्का राजगद्दीका हकदार रहेका अरिमल्लको पनि छोरी कामादेवी मात्र थिइन् । तसर्थ बज्यै प्रदुमल देवीले दक्षिणबाट दुइ राजकुमार झिकाइ विवाह गराइ दिए । राजगद्दीका उत्तराधिकारी रहेका हरिश्चन्द्र देवको हत्या भयो । अर्का राजकुमार गोपाल देव पनि भागेर पाटन गए । यसरी राजकुमारी नायकदेवी सानैमा बिधवा भइन जसले गर्दा राजगद्दीमा राजा को बन्ने भन्ने फेरी अन्योल भयो । यहि समय देवलदेवीले पून कूटनीति खेल्दै आफ्नो छोरा जगतसिंहको विवाह बिधवा राजकुमारी नायकदेवीसंग गराउन सफल भए । बि.सं. १४०३ मा नायकदेवी तथा जगतसिंहको छोरीको जन्म भयो । छोरी राजल्लदेवीको जन्म भएको १० दिनमा नै नायकदेवको निधन भयो । यसरी राजगद्दीमा आसिन हुने सपना देखिरहेका जगतसिंहलाई दरवारका भारदारहरुले बिभिन्न आरोप लगाएर कैद गरे ।
यसरी जगतसिंह कैद भए पछि बुढी हजुरआमा प्रदुमलदेवीले नै सानी राजकुमारी राजल्लदेवीको हेरचाह गर्दै हुर्काउन थालिन् । यि बालिका ८ वर्षको हुँदा दक्षिणबाट डोला झिकाएर स्थिती मल्लसंग राजल्लदेवीको विवाह गराइदिए । यसरी रघुकूलका स्थितिमल्ल पछि भक्तपुरका राजा जयस्थिति मल्ल बनेका थिए । यिनै रघुकूलका राजा जयस्थिति मल्लले आफ्नो कूलदेवी श्रीयन्त्रका रुपमा रहेको तलेजु भवानीलाई पूजा गर्न थाले ।
यहि श्री यन्त्र स्थापित गरेर पहिलो तलेजू भवानीको मन्दिर भक्तपुरमा बनाइएको थियो । यसरी तलेजू भवानीको मन्दिर बनाइएपछि मल्ल राजाहरुले पनि तलेजू भवानीलाई नै कूलदेवीका रुपमा पूज्न थालेको देखिन्छ । मल्ल राजाहरुको कूलदेवीका रुपमा रहेको तलेजू भवानी उपत्यकामा जहाँ जहाँ मल्ल राजाहरुले राज्य गर्न थाले त्यहाँ पनि तलेजू भवानीको मन्दिर स्थापना गरेर पूजा गर्न थाले । भक्तपुर पछि पाटन, काठमाडौ, लगायत साना साना राज्यहरुमा समेत तलेजू भवानीको मन्दिर स्थापना गरेर कूलदेवीका रुपमा पूज्न थालेका थिए ।
तत्कालिन राजाहरु आफूलाई विष्णु भगवानको अवतारका रुपमा स्थापित गर्न चाहन्थे । जसले गर्दा राजाहरुमा पनि दैवी शक्ति हुने तथा दैवी स्वरुप नै हुन भन्ने चरितार्थ गर्न बिभिन्न कृयाकलापहरुका प्रचार प्रसार गर्दथे । पछि राजाले तलेजु भवानीसंग राती राती पासा खेल्ने समेत गर्ने गरेको किंवदन्ती फैलाइएको देखिन्छ । यसरी राजाले पासा खेल्ने क्रममा युवतीका रुपमा आएकी तलेजु भवानी प्रति राजाले कुदृष्टी लगाएपछि देवी आउन छाडेको र सपनामा अब म कुमारीका रुपमा प्रकट हुने भनिएपछि गुभाजूको कन्या छोरीलाई कुमारीका रुपमा पूजेर तलेजु भवानीका रुपमा स्विकार गरिएको किंवदन्ती रहेको पाइन्छ ।
यसरी एघारौ शताव्दीमा लिच्छवी राजा लक्ष्मीकामदेवले पाटनमा हाल हाल पाटन दरवार रहेको क्षेत्रको दक्षिणमा हखः बहाः निर्माण गराइ बहाः कै अनुयायी एक वाँडाको
छोरीलाई कुमारी बनाएर पूज्न थालेको इतिहासलाई धाकछोप गरि मल्ल राजाले कुमारी पूजाको थालनी गरेको नयाँ इतिहास लेखिएको हामी पाउँछौ ।
पछि मल्ल राजाहरुले बिभिन्न साना तथा ठूला राज्यहरुमा समेत कुमारी चयन गरेर पूजा गर्ने परम्पराको थालनी गरेका थिए । उपत्यकाको प्रमुख शहर काठमाडौमा समेत कुमारी पूजा गर्न थालिएको थियो । काठमाडौका अन्तिम राजा जयप्रकाश मल्लले काठमाडौमा कुमारी जात्रा चलाएका थिए भन्ने गरिन्छ । पहिले दिन देखि मानिँदै आएको येँया पुन्हीको समय पारेर उनले कुमारी जात्राको पनि चलन चलाएका थिए भनिन्छ । तर बिभिन्न आधारमा कुमारी जात्रा भने जयप्रकाश मल्लको शासनकाल भन्दा पहिले देखि रहेको अनुमान गर्न सकिन्छ ।
बि.सं. १८२५ को कुमारी जात्राकै समयमा राजा पृथ्वीनारायण शाहले काठमाडौको राजगद्दी आसन भएर कुमारीको टीका ग्रहण गरेका थिए । यसरी काठमाडौ उपत्यकामा बिस्तार भएको गोरखा राज्यका अधिपति पृथ्वीनारायण शाहले पनि जीवित देवी कुमारीलाई अगिकार गर्नु र मल्ल राजाहरुको कूलदेवी तलेजुलाई पनि पूजा गरेर आत्मसात गर्नुले राजाहरुको उद्देश्य राज्य चलाउनु मात्र नभएर जनताको चाहना बमोजिम धर्म स्विकार गर्नु र आफूलाई दैवीय शक्ति स्वरुप विष्णु भगवानको अवतारका रुपमा प्रस्तुत गर्न खोजेको हामी पाउँछौ ।
कुमारी पूजा गर्ने र पूजारी चयन गर्ने बिभिन्न स्थानमा रहेको हामी पाउँछौ ।
काठमाडौ
१. लायकु कुमारी - राजाले पनि पूजा गर्ने कुमारी बसन्तपुरमा रहेकी कुमारी हुन । शाक्य
परिवारको कुमारी कन्याबाट चयन हुने गरिन्छ ।
२. मूबहाः कुमारी - मूः बहाः वटुमा रहेको कुमारी जसलाई मुख्य कुमारी पनि भन्ने गरिन्छ । बज्राचार्य परिवारबाट चयन
गर्ने गरिन्छ ।
३. क्वाबहाः कुमारी - थ बहाः तथा क्व बहाःकाहरुले पूज्ने कुमारी । बज्राचार्य परिवारबाट चयन गरिन्छ ।
४. किलागः कुमारी - किलागल तथा इतुम्बहालमा बसोबास गर्नेहरुले बिशेष रुपले पूज्ने गर्दछ । खासगरी ज्यापू परिवारबाट चयन गरिन्छ ।
५. तानाबहाः कुमारी - मखन टोलको कुमारी खासगरि ज्यापू परिवारबाट चयन गरिन्छ ।
६. चाबहीः कुमारी - चाबहिलको कुमारी जो शाक्य परिवारबाट चयन गर्ने गरिन्छ ।
पाटन
७. हखः बहाः हाल गाबहाः मा रहेको कुमारी । बज्राचार्य परिवारबाट चयन गर्ने गरिन्छ ।
८. सोनिम्ह कुमारी - मिखा बहाः का ज्यापू परिवारबाट चयन हुने कुमारी ।
भक्तपुर
९. एकान्त कुमारी - दिपांकर बहाः को कुमारी । शाक्य अथवा बज्राचार्य परिवारबाट चयन गरिने कुमारी । पहिले भक्तपुरका राजाले पूजा गर्ने गर्दथे । हाल प्राय सबैले पूजा
गर्ने गर्दछ ।
१०. वनेलायकु कुमारी - दत्तात्रेय मन्दिर नजिकै रहेको कुमारी । शाक्य परिवारबाट चयन गरिने कुमारी । दशैमा मात्र पूजा गर्ने गरिन्छ ।
११. टिबुक्छे कुमारी - मुख्य गरेर टिबुकका ज्यापू समुदायले पूजा गर्ने कुमारी । शाक्य वा बज्राचार्य
परिवारबाट चयन गर्ने गरिन्छ ।
अन्य क्षेत्रमा रहेका कुमारीहरु
१२. टोखा कुमारी - टोखामा रहेको ज्यापू समुदायबाट चयन हुने कुमारी । खासगरि ज्यापू समुदायले नै पूजा
गर्ने गर्दछन् ।
१३. बुंग कुमारी - बुंगमतीमा रहेको कुमारी । बज्राचार्य परिवारबाट चयन गर्ने गरिन्छ ।
१४. त्रिशुली कुमारी - नुवाकोट दरवार नजिकै रहेको कुमारी । डंगोल परिवारबाट चयन गर्ने गरिन्छ ।
Comments
Post a Comment