२०४५ सालको भूकम्प र ह्योजुको हत्या

बि.सं. २०४५ भदौ ५ गते १९८८ अगष्ट २१ आइतवारका दिन बिहान ४:५५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु भएर ६.६ रेक्टरको भूकम्प गएको थियो । यस भूकम्पले गर्दा ७१७ जनाको मृत्यु भएको थियो भने ६,४४५ जना घाइते भएका थिए । यस भूकम्पले गर्दा २२,६६५ घर पूर्ण क्षति भएको थियो भने ४२,४८० घर बस्न नमिल्ने गरि चर्किएका थिए । यस भूकम्पले सबैभन्दा बढि असर धनकुटा र धरानलाई गरेको थियो । 

धरान अत्यधिक तहसनहस नै भएको थियो । सुनसरी जिल्लामा मात्र १३८ जनाको मृत्यु भएको थियो । ३२७ जना गम्भीर घाइते तथा १७९० जना सामान्य घाइते भएका थिए । खासगरी धरानमा धेरै घर चर्किने तथा भत्किने नभए पनि संगैको धनकुटामा भने ३३८७ घर पूर्ण रुपमा क्षति भएको थियो । भूकम्पको क्षतिले भन्दा जनमानसमा बसेको त्रासले धरानका लाहुरे समुदाय पलायन हुन थालेको थियो । इटहरी बजार चम्किनुको मुख्य कारण नै २०४५ सालको भूकम्प थियो । 

सो भूकम्पले गर्दा काठमाडौ देखि पूर्वका २७ जिल्लामा त्यसबेला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र नै घोषित गरिएको थियो । तर मृत्यु तथा घरको क्षति भने २२ जिल्लामा मात्र भएको थियो । यस भूकम्प पछि प्रधानमन्त्री मरिचमान सिंहको अध्यक्षतामा १३ जनाको केन्द्रिय उद्दार समिति गठन गरिएको थियो । यस समितिमा ७ जना मन्त्रीहरु पनि रहेको थियो । 

सोही दिन राजा बिरेन्द्रको शाही सम्बोधनबाट शोकाकुल परिवार प्रति हार्दिक समेवेदनाका साथ तत्कालै सक्दो सहयोगका लागि सरकारलाई निर्देशन समेत भएको थियो । जसका कारणले सरकारले हरेक पूर्णरुपमा घर क्षति भएकालाई रु १० हजार तथा आंशिक क्षति भएकालाई रु ५ हजार ऋण सहयोग गरेको थियो । जुन ऋण पछि अनुदानका रुपमा परिवर्तन गरेर जनतालाई राहत दिइएको थियो । 

भक्तपुरको भूकम्प र राहतको तैयारी 

यस भूकम्पले भक्तपुरमा भने अन्य जिल्लाको तुलनामा सामान्य क्षति मात्र भएको थियो । भक्तपुरमा केवल ७ जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए । त्यस्तै २८३ घर पूर्णरुपमा क्षति भएको थियो भने १४८८ घर आंशिक क्षति भएको थियो । अन्य जिल्लामा झै भक्तपुरमा पनि राहत वितरणका कार्यक्रमहरु भएका थिए । भक्तपुर नगर पंचायतले पनि तत्कालै राहतका घोषणा गरेका थिए । तत्कालीन प्रधानपञ्च आशाकाजी बासुकलाको अध्यक्षतामा भूकम्प पीडित सहयोग समिति गठन गरेर सो समितिमा नगर पञ्चायतका तर्फबाट रु २ लाख छुट्याउने निर्णय गर्यो । तुरुन्तै दश हजार रुपैया निकासा गरि राहतका लागि शुरुवात समेत गरेको थियो । यता सोही दिन भक्तपुर जिल्ला पञ्चायतले पनि उपसभापति गौरीमान सिंहको अध्यक्षतामा भूकम्प पीडित उद्दार समिति गठन गरि रु ५ हजार छुट्याएको निर्णय गर्यो । यसरी एउटै क्षेत्रमा रहेका दुइ पञ्चायतहरुले एक अर्कोमा समन्वय नगरि दुइ उद्दार समिति गठन गरेको थियो । 

यसरी स्थानीय स्तरमा दुइ समिति गठन गरे पनि भदौ ८ मा भने चन्दा संकलनमा एक द्वार प्रणाली हुनुपर्ने भन्दै अञ्चलाधिश वा प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृति तथा चन्दा संकलन गर्ने स्थान निश्चित गर्नुपर्ने सूचना प्रकाशित गरिएको थियो । साथै संकलित सहयोग रकम केन्द्रीय भूकम्प उद्दार तथा पुनर्स्थापना कोषमा जम्मा गर्नुपर्ने पनि भनिएको थियो । यसरी संकलित तथा कोषमा जम्मा भएको रकमको विवरण अञ्चलाधिश वा प्रमुख जिल्ला अधिकारीलाई लिखित रुपमा पेश गर्नुपर्ने तथा केन्द्रीय कोषले उद्दार सामग्री बितरण सम्वन्धित नगर वा गाउँ पञ्चायतका प्रधानपञ्च मार्फत गराउने पनि जानकारी गराइएको थियो । 

भदौ ९ गते गोरखापत्रमा भक्तपुर जिल्ला पञ्चायत समितिका अध्यक्ष सुरेन्द्रप्रताप शाहको अध्यक्षतामा उद्दार उपसमिति गठन भएको समाचार छापिएको थियो । जसमा सदस्यहरुमा रा.प.स. गोविन्द दुवाल, पूर्व रा.प.स. मदनकृष्ण हाडा, प्रमुख जिल्ला अधिकारी र अन्य थिए । तर दिउसो राहत वितरणका लागि भने पूर्व रा.प.स. कर्णप्रसाद ह्योजू आइपुगेका थिए । 

महत्वपूर्ण विषय के थियो भने कुनै पनि समित वा उपसमितिमा सदस्य समेत नरहेका कर्णप्रसाद ह्योजूलाई किराना खाद्य संस्थानले उपलब्ध गराएको चामल, दाल, क्वाँती लगायतको खाद्यान्न पीडित परिवारलाई वितरणका लागि कुपन बाँड्ने जिम्मा दिइएको थियो । शुरुमा फसिदेग अगाडि ट्रक राखेर चामल, दाल, क्वाँती वितरण गर्न थाल्यो । कतिपय कुनै पनि क्षति नभएका धनाध्यहरुले राहत कुपन लिएर दाल चामल बोकेको देखेपछि वास्तविक पिडितहरुले राहतका लागि कुपन माग्न जाँदा पाएनन् । कुपन दिनुको सत्ता फसिदेगः बाट राहतको गाडी भगवतीस्थान, त्यहाँबाट नविन स्कुल, त्यसपछि हनुमानघाटको बालसेवक स्कुल, र सूर्योदय स्कुलमा कुपन बाड्दै राहत वितरण गरिएको थियो । तर यो कुपनहरु पिडित को हो वा होइन भनेर होइन सिडियोबाट प्राप्त सूची अनुसार बाँडेको हुँ भनेर कर्णप्रसाद ह्योजुले जानकारी दिएका थिए । 

यस्तैमा विवाद चर्कियो । ह्योजुलाई जनप्रतिनिधिले "नगर पञ्चायतसंग रहेको सूची अनुसार वितरण गर्नुपर्ने हो" भनेर जानकारी दिँदा ह्योजु जंगिदै "यो मेरो अधिकारको कुरा हो, कसैसंग सूची माग्नुपर्ने जरुरत छैन" भनेर जवाफ दिए । यस जवाफ पछि वास्तविक पिडित जसले राहत कुपन प्राप्त गरेका थिएनन् त्यो समुहका मानिसहरु जंगिएर ह्योजु सामु पुगे । राहत वितरणमा सुरक्षाका लागि आएका प्रहरी बिस्तारै हिडे । ज्यापूहरुको भिड बिस्तारै बढ्ने मात्र होइन ह्योजु माथि जाइ लाग्न पनि थाले । भिडमा केहीले ह्योजुलाई वास्तविक भूकम्पले भत्केका घरहरु देखाउन लाने भन्दै तान्न थाले । भिडले दोहोर्याए झै ह्योजु, चन्द्रबहादुर र उत्तम श्रेष्ठ भिडले जता तान्यो उतै जान बाध्य भए । 

शुरुमा वाँचु टोल लगेर भत्केका घरहरु देखाइयो । त्यसपछि माकः गल्लीमा भत्केका घरहरु देखाए पछि दत्तात्रेय लगियो । त्यहाँबाट पून सुजमारी (सूर्यमढी) तर्फ लगियो । सबैले मिलेर ह्योजुलाई डबलीमा उभिन बाध्य बनाएको थियो । त्यहाँबाट च्याम्हसिं तर्फ लग्न लाग्दा भिड ठूलै भइसकेको थियो । यसरी कहिले कता कहिले कता भिडले लछारपछार गर्दा ह्योजुलाई धेरैले कहिले लातले कहिले मुक्काले हानिसकेका थिए । तर पनि खासै घायल भएको थिएन । 

च्याम्हसिं चोकबाट गर्खचा (गरुडकुण्ड)मा पुगेर रोकियो । यहीँ पुग्दा भिडले ह्योजुलाई जुत्ताको माला समेत लगाउन सक्षम भयो । यस पछि फेरी केही ब्यक्तिले ह्योजुलाई जोगाउँदै च्याम्हसिं चोक तर्फ ल्यायो । त्यहाँबाट पुनः सुजमारी तर्फ लगियो । दत्तात्रेय पुगेपछि प्रहरीको भ्यानमा ह्योजुलाई राखियो । तर भिडको अगाडि केही लागेन । भिडले प्रहरीको भ्यानबाट ह्योजुलाई तान्न सफल भयो । साथै त्यसबेला सम्म ह्योजुलाई जोगाउन खोज्नेहरु पनि हराइसकेका थिए । अब भिडको लछारपछारमा ह्योजु एक्लो भयो । जोगाउने कोही पनि भएन । प्रहरी पनि मुकदर्शक नै रह्यो । यसबिच त्यो भिडबाट कसैले ब्लेडले शरिरमा चिरा पार्न थाले । कसैले छाताले दुबै आँखा घोँचेर फुटाइसकेका थिए । ब्लेडले चिरेको घाउँमा नुन खुर्सानी समेत दल्न भ्याएका थिए । करिव एक घण्टा उनको मृत प्राय शरिरमा भिडले जथाभावी कुट्ने तथा शरिरमा ठाउँ ठाउँमा चिरा चिरा पारिसकेका थिए । 

प्रहरीको ठूलै समुह आइपुगेपछि उनको मृत प्राय शरिरलाई सुकुलढोकाबाट आफ्नो नियन्त्रणमा लिइ वीर अस्पतालमा लगिएको थियो । जहाँ रातको ११:४५ बजे अस्पतालले ह्योजुको देहान्त भएको रिपोर्ट दियो । उनको पोष्टमार्टम रिपोर्टमा शरिर भरि सयौ घाउँ भएको, दुबै आँखा फुटेको तथा गुप्ताङ्ग समेत काटिएको भन्ने लेखिएको थियो । अत्यधिक चोट र रक्तश्रावका कारण निधन भएको भन्ने लेखिएको थियो । 

यस घटनाको भोलिपल्ट देखि भक्तपुरमा ह्योजु हत्याको आरोपमा धरपकड शुरु भयो । राष्ट्रिय पञ्चायत सदस्य गोविन्द दुवाल सहित नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे तथा पार्टीसंग आबद्ध धेरैलाई प्रहरीले नियन्त्रणमा लिइ हत्या आरोपमा अदालतमा मुद्दा दायर समेत गरिसकेको थियो । 

को हुन त कर्णप्रसाद ह्योजु 

पञ्चायतको दमन कालमा भक्तपुरमा साहित्य सम्मेलनका नाममा एकजुट हुन थालेका थिए । २०२७ सालमा साहित्यिक गतिविधि गर्ने बिचारका साथ "झि बिकास मण्डल" गठन भयो । अध्यक्षका रुपमा चन्द्रबहादुर उलक, उपाध्यक्ष शिवप्रसाद मारिखु, सचिव तुल्सीराम श्रेष्ठ, कोषाध्यक्षमा तिर्थप्रसाद भद्रा, सदस्यहरुमा चैत्यराज शाक्य, धनभाजु सुवाल, गणेशराम श्रेष्ठ सदस्य रहेका थिए । 

केही वर्ष पछि नारायणमान बिजुक्छे चीनबाट फर्किए पछि केही बिद्यार्थीहरुलाई अंग्रेजी पढाउन थाल्नुभयो । वहाँ गोप्य रुपमा २०२७ सालमा नै नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनिसक्नुभएको थियो । एकदिन कर्णप्रसाद ह्योजुले त्यहाँ सक्रिय झि बिकास मण्डलका सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनाउनु भयो । यसरी पहिलो पटक वडा नं ४ मा नेपाल कम्युनिष्ट पार्टीको प्रारम्भिक कमिटिको गठन भयो । यसको केही समय पछि पुष्पलालसंग केही बिषयमा अनबन भएपछि नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी त्याग गरेर २०३१ माघमा नेपाल मजदुर किसान पार्टीको गठन गर्नुभयो । 

नयाँ पार्टीको गठनसंगै पञ्चायती सरकारको धरपकडका कारण वहाँ भारत निर्वासनमा लाग्नुभयो । २०३६ सालमा बिद्यार्थी आन्दोलन चर्किए पछि अन्तत राजाबाट बहुदल माथि केही छुट भएपछि नेपाल फर्कनुभयो । ह्योजु, बिजुक्छे लगायत अन्य सदस्यहरु पून सक्रिय राजनीतिमा अगाडि आउनु भयो । २०३७ सालको चुनावमा बहुदलको हार भए पनि सुधारिएको पञ्चायती ब्यबस्थामा कतिपय दलले चुनावमा भाग लिएर राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी भए । यस्तैमा २०३८ सालको चुनावमा नेपाल मजदुर किसान पार्टीले पनि भाग लियो । जसमा कर्णप्रसाद ह्योजुलाई उम्मेदवार बनाएको थियो । जसमा उनले विजय हासिल गरे । यसरी राष्ट्रिय पञ्चायतका सदस्य बनेका ह्योजु पछि नेमकिपाको निर्देशन भन्दा पञ्चायतको निर्देशनमा लागेपछि पार्टीबाट निष्काशनमा परे । उनि पञ्चायती ब्यबस्थाका हिमायती बने । राष्ट्रिय पञ्चायतको सदस्य बन्नु अगाडि ह्योजु आदर्श आजाद प्रा.वि.का प्रधानाध्यापक हुनुहुन्थ्यो । २०३९ सालको स्थानीय निकायको निर्वाचनमा पनि नेमकिपाकै ज्ञानबहादुर न्याईच्वाई बिजयी भएर प्रधानपञ्च बनेका थिए । सदस्यहरुमा पनि १७ मा १५ वटा वडामा बिजय हासिल गरेको थियो । 

२०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा नेमकिपाले गोविन्द दुवाललाई चुनावमा उठायो र विजयी पनि भयो । ह्योजु भने पञ्चायतका हिमायती भएर सक्रिय हुन थाले । ह्योजु पञ्च भइसकेको नेमकिपाको आरोप थियो । अन्तत पञ्चहरुले ह्योजुलाई भूकम्प पछि राहत बाँड्ने काममा जिम्मा दिएर भक्तपुर पठाए । जसमा धाँधलीको आरोपमा कुटपिट हुँदा उनको मृत्यु भयो । 

ह्योजुको मृत्यु पछिको भक्तपुर 

ह्योजुको हत्या कसैको षडयन्त्रले भयो वा अनियन्त्रित भिडले आबेशमा आएर कुटपिट गर्ने क्रममा भयो भन्ने यसै भन्न सकिदैन । नेमकिपाले बारम्बार यस घटनालाई नियोजित र पार्टीलाई बदनाम गर्न गरिएको भन्ने गरिरहेको छ भने स्वतन्त्र रुपले हेर्दा हत्या अनियन्त्रित भिडको आबेशमा नै भएको थियो । तर हत्याको भोलिपल्ट देखि जुन किसिमले शंकास्पदका रुपमा प्रहरीले बिभिन्न ब्यक्तिहरुलाई समाउन थाल्यो । त्यो हेर्दा भने षडयन्त्रको गन्ध पाइन्छ । पक्राउ परेका अधिकांश कुनै न कुनै रुपमा पार्टीसंग आबद्धहरु थिए । ह्योजु हत्याको आरोपमा जन्मकैदको सजाय दायर गरिएको थियो । 

२०४६ सालको जनआन्दोलन 

यसरी ह्योजुको हत्याको आरोपमा नेमकिपाका प्रमुखहरु अधिकांश थुनामा रहेका थिए । अदालतको कारवाही भइ रहेको थियो । फैसला आइसकेको थिएन । यस्तैमा बिभिन्द दलहरु मिलेर २०४६ को माघमा फागुन ७ गतेबाट जनआन्दोलन गर्ने तैयारी गर्न थाले । आन्दोलनको बलले पञ्चायती ब्यबस्था ढल्यो । पञ्चायतले बिभिन्न आरोपमा जेलमा हालेका सबैलाई आममाफी दिने भयो । जसले गर्दा नारायणमान बिजुक्छे सहित थुनामा रहेका सबै नेमकिपाका सदस्यहरु पनि छुटे । यसरी ह्योजु हत्याकाण्ड बारेको विवाद समाप्त भयो । ह्योजुको हत्या नारायणमान बिजुक्छे सहित नेमकिपाले नै गराएको थियो भन्ने दलिल सावित गर्न त्यसबेलाको पञ्चायती सरकार सफल भएको थिएन । यता नेमकिपाको भनाइ बमोजिम पञ्चायती सरकारले नै नारायणमान बिजुक्छे सहित नेमकिपाको राजनैतिक भविष्य समाप्त गर्न ह्योजुको हत्या गराएको थियो भन्ने पनि प्रमाणित गर्न सकिदैन । तर ह्योजुलाई प्रहरी सक्रिय भएको भए भिडबाट बचाउन सकिन्थ्यो । यसमा भने तत्कालिन भक्तपुर जिल्ला प्रहरी कार्यालयको केही कमीकमजोरी भने पक्कै भएको थियो । एक्लो ब्यक्तिलाई हजारौको भिडमा छोडिदिँदा उनको मृत्यु हुनु अस्वभाविक थिएन ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

लाखे: भैरव कि राक्षस

पोखराको ताहामचा