पोखराको ताहामचा

नेवाःहरू संस्कृतीमा धनी छन् । आफ्नो संस्कृती जगेर्ना गर्न नेवाःहरू जति अरू सिपालु हुदैनन् पनि । वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउछन् भनेर नेवाःलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, "राणा बिग्रियो मोजले नेवाः बिग्रियो भोजले" । नेवाःहरू हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् । तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवाः जात्रा मनाएर ब्यापार बृद्धी गर्दथे । 

पुराणमा लेखिए अनुसार भाद्र कृष्ण प्रतिपदाको दिन यमलोकको ढोका एक दिनको लागी खुल्दछ यसै अवसरमा आफ्ना मृत आफन्तजनले पनि सहज प्रबेश पाउन भन्नको लागी नेवाः सम्प्रदायमा "साँपारू" मनाउने चलन बस्यो । यस दिन सिङ्गारिएको गाई वा गाईको प्रतिकात्मक रूपमा बनाइएको ताहासाँ तथा दोक चा साँ मा सेतो कपडा भुइसम्म बाँधेर सो समाइ गाईको पुच्छर समातेर बैतरणी तारिनेको रूपमा बजार परिक्रमा गर्ने परम्परा बस्न गयो ।

 गाईको रूपमा बनाइने प्रतिकात्मक रूप तिनै शहरमा केही भिन्न देखिन्छ । भक्तपुरमा ताहासाँ (ताहामचा) बनाएर, काठमाडौमा बालकहरूलाई सिङ्गारेर शिरमा उल्टो पेरूङ्गो राखेर त्यसमा गाईको चित्र टाँसेर तथा पाटनमा बिभिन्न देवीदेवताको रूपमा सजिएर बजार परिक्रमा गर्ने गरिन्छ । पाटनमा गाईजात्राको भोलिपल्ट मतया अर्थात दिपयात्रा गर्दै मन्दिर तथा बिहारहरूको परिक्रमा गर्ने गर्दछन् । अन्य क्षेत्रमा भने आफ्नो पूर्वज आएको ठाउको आधारमा गर्न थालेको भेटिन्छ ।

 भक्तपुरमा ताहामचाको साथमा बिभिन्न नाचहरू पनि यसै दिन नचाउने प्रचलन छ । जस्तै -

            ताहामचा गना ते ग्वाखू प्वाले ते
            ग्वाखु प्वाले मन्ह्यासा खुशीङ चुइक छ्वे

भन्दै गीत गाउदै घिन्ता घिसिङ नाच्ने गर्दछन् । यो मौसम सर्प निस्कने र सर्पको बच्चा जन्माउने समय हुँदा गीतले प्राकृतिक जीव प्रतिको माया दर्शाउछ ।

 

शुरुवात

साँपारु (गाईजात्रा) वा भनौ ताहामचाको जात्राको शुरुवात प्रताप मल्लबाट भएको थियो भन्ने गरिन्छ । तर पछिल्लो समय प्राप्त भएका तथ्यहरुले पुत्र शोकले ब्याकुल भएका रानीका लागि हसाँउन साँपारुका दिन ख्यालीहरु निस्कने प्रचलन मात्र प्रताप मल्लले शुरु गरेका थिए । साँपारुको शुरुवात गोपालवंशीको समय नै भएको केही तथ्यहरु भेटिन्छ । गाई पालन गरेर जीविकोपार्जन गर्ने गोपालहरुको समय साँपूजा (लक्ष्मीपूजा) देखि साँपारु (गाईजात्रा) सम्मलाई एक वर्षका रुपमा लिने गरेका थिए । साँपूजाका दिन गाईको पूजा गर्दथे । भोलिपल्ट गोरुको पूजा गरेर ति गोरुलाई पनि गाईको साथ चर्न पठाउँथे । अरु बेला गोरु तथा गाईलाई अलग अलग चर्ने ब्यबस्था गरिएको हुन्थ्यो । गोरुको पूजा गरेर गाईको साथ चर्न पठाइए पछि गाई र गोरुको समागम भएर गर्भ रहन्थ्यो । यसपछि फेरी गाई र गोरुलाई अलग अलग चराउन पठाइन्थ्यो । यसरी गाईको पूजा गरेर पठाएको २८३ दिन पछि साँपारु (गाईजात्रा) मनाउँथे । यस दिन गाई र गोरुका साथ नयाँ जन्म भएको गाईको बाच्छोलाई पनि साथ राखेर खुशीयाली पूर्वक परिक्रमा गर्दथे । साँपूजा देखि साँपारु अर्थात लक्ष्मीपूजा देखि गाईजात्राको समय २८३ दिन गाईको गर्भाधानको समय हो । यसरी गाईको गर्भाधान पछि स्वस्थ्य बाच्छो जन्म हुने अवधीलाई सम (स्वस्थ्य)+वत्स (बाच्छो)+(गर्भ) सम्वत्सर भनेर एक वर्ष भन्न थालियो । यहि सम्वत्सर नै पछि सम्वतका रुपमा उल्लेख हुन थाल्यो ।

पोखरामा साँपारु

पोखरामा पनि उन्नाइसौ शताव्दीको शुरूमा प्रबेश गरेका नेवाःहरूले आफ्नो बाहुल्यताको आधारमा भक्तपुरको सापारूलाई नै भित्राएको पाउँछौ । कुनै लिखित दस्तावेज केही नभेटिएको परिस्थितीमा पोखराका अग्रजहरूसंग भएको जानकारीलाई नै दस्तावेज मान्नुपर्ने हाम्रो बाध्यता छ । पोखरामा पनि बिक्रम सम्वत १९९० को दशक सम्म ताहासाँ बनाएर बजार परिक्रमा गरेको भन्ने बाजेको मुखबाट सुनेको भन्दै बयोबृद्ध अग्नीमान बाटाजु बताउनु हुन्छ । गाई नै बनाएर गाईको चारवटा खुट्टामा लामो लामो बाँस राखेर बनाइने ताहासाँलाई बजार परिक्रमा गरिन्थ्यो ।
गाई नै न

सिलिगढीमा निकालिने ताहासाँ

बनाए पनि डोकोमा बाँस राखेर दोक चि साँ बनाउने चलन भने अध्यावधी छ । भक्तपुरमा झै पोखरामा पनि यसरी बनाइएका अग्ला अग्ला मृतात्माको प्रतिक आकृतीलाई ताहामचा भनिन्थ्यो ।

भक्तपुरमा जसरी नेवाःहरूले साँपारू वा साँजात (गाईजात्रा)को साथमा मनोरञ्जनको रूपमा घिन्ता घिसीमाक प्याख, हनुमान नाच प्रदर्शन गरे झै बि.सं. १९४० को दशकमा त्यसबेलाका नामुद संगीतकार रत्न कुमार बिजुक्छेले एउटा नृत्य नाटक प्रदर्शन गरेका थिए भनेर बाजेको मुखबाट सुनेको भन्दै अग्नीमान बाटाजूज्यूले नाटकको कथा यसरी सुनाउनु हुन्छ । दही लीला नाम दिइएको नाटकमा चार जना गोपीनीहरु दहीले भरिएको घडा लिएर नाच्दै कृष्णलाई जिस्काउदथे । कृष्ण सो दही खोसेर खान खोज्दथ्यो । यसरी गोपिनीहरू र कृष्ण बिचको यो रमाईलो नृत्य कृष्ण जन्माष्टमीको केही दिन अगाडी हुने हुँदा यसको आकर्षण अझ बढी हुन्थ्यो । यस नाचलाई मन पराए पछि गाउँबाट नाच हेर्न आउनेको संख्या अचानक बढ्न थाल्यो । यसले त्यसबेला अप्रत्यक्ष रूपमा ब्यापार बढ्न थाल्यो । त्यसपछि यो नाच वर्षेनी देखाउन थालियो । रत्न कुमार बिजुक्छे पछि शुकराम बैद्य (पदम बैद्यका बुबा) ले यस नाचलाई अझ सुधार गर्दै तेर्सापट्टीबाट पनि देखाउन थाले । बिस्तारै दहि लीलाबाट दहिको घडा हटाईयो तर नाम भने दहि लीला नै रह्यो । पछि यो नाच अन्यले पनि अनुसरण गर्न थाले । लामा

पोखरामा निकालिने डोकोसाँ
चौतारा, मोहरिया टोल, गणेश टोल पनि थपिदै आए । यसरी निस्कने नाच भीमसेन मन्दिरमा रहेको नास:द्य: को दर्शन गराउन लगिन्थ्यो ।

यसरी नौलो प्रस्तुती गर्दा यसको ब्यापकता बढ्दै गयो । यहि क्रममा मोहरिया टोलबाट नाचमा नाच्नेहरूमा केही परिवर्तनको शुरूवात भयो । नाचमा नाच्ने गोपिनीलाई पखेटा तथा शिरमा ताज राखेर परी बनाइयो । केही बिरोध भए पनि पछि यसलाई नै स्विकार गरियो । यस पछि नाचले रौनकता थप्यो । नाचमा पनि समय समयमा परिवर्तन हुदै गयो ।

बि.सं. २०२५ सालमा रानी रत्नको जन्म दिन र कन्या स्कुलको वार्षिकोत्सव मनाउने क्रममा कन्या स्कुलको प्राङ्गणमा अनौपचारिक रुपमा प्रतियोगिताको आयोजना गरिएको थियो । बि.सं. २०३८ सालमा पहिलो पटक पोखराको युनेस्को क्लवबाट प्रतियोगिताको आयोजना भयो । बि.सं. २०४१ देखी पोखरा सांस्कृतिक परिवारले आयोजनाको जिम्मेवारी लियो । ४३ साल पछि महेन्द्रपुल क्लवले आयोजनाको जिम्मा लियो । तर नियमित आयोजना हुन सकेन । बि.सं. २०५० सावन १९ गते स्थानिय क्लवको रूपमा स्थापित सिद्धार्थ क्लवले जमर्को गरेर पुरा पनि गर्यो । बि.सं. २०५० मा नै नेवा: खल: कास्कीको जन्म भए पनि कुनै कार्यक्रम गर्ने जमर्को भने गर्न सकेन । बि.सं. २०५१ मा पनि प्रतियोगिता आयोजना भएन । बि.सं. २०५२-५३ तिर सिमलचौरले नाचको प्रतियोगिता गर्न जमर्को कस्यो ।बि.सं. २०५६ देखी भने नेवा: खल: कास्कीले निरन्तरता दिन थाल्यो । जुन अध्यावधी भइ नै रहेको छ ।

पोखराको ताहामचा नृत्य
नेवाःहरुले सांस्कृतिक आयोजनाहरु गरिएको देखिए पनि वास्तवमा नेवाःहरूले आफ्नो ब्यापार प्रवर्धनका लागि नै यस्ता कार्यक्रमको थालनी गरेका थिए । पोखरामा वर्षेनी हुने गाईजात्रामा नाच हेर्न तथा घरायसी सामग्री किन्न घान्द्रुक देखी सिकलेस, गिलुङ, घलेगाँउसम्मका गुरूङ तथा शिखा घाराका मगर तथा थाकखोलाका थकाली पनि आइपुग्थे । चामल पिठो आफै बोकेर आउने कोही आफन्त कहा कोही नेवाः इष्टकहा बस्दथे । हप्ता दिन बसेर फर्कदा बजारबाट आबश्यक लत्ताकपडा, भाडावर्तन तथा मरमसलाहरू किनेर फर्कन्थे ।

समग्रमा भन्नु पर्दा १९औ शताव्दीको शुरुमा नेवाःहरुले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक बिकासले गति लियो । पोखरा आजको पोखरा बनाउनुमा छब्बिस कुरियाका नेवाःहरुको प्रमुख भूमिका छ । पहिले पहिले यहाँका नेवाःहरु आफ्नो संस्कृति प्रति निकै संयमित भएर कुन समयमा के गर्न हुन्छ के गर्न हुदैन भनेर बिचार गर्दथे । तर अचेल नेवाःहरुको संस्कृति बोकेको जात्राहरु आयोजना गर्दा यस किसिमको ख्याल गरेको पाइदैन । केवल मनोरञ्जन र अर्थ संकलनका लागि मात्र जात्राहरुलाई ब्यापक बनाएर लगेको पाइन्छ । जसले गर्दा जात्राका नीतिनियम, पोशाक, साजसज्जा तथा बाजाका ताललाई नियमन गरेको पाइदैन । जात्रा हो जहिले निकाले पनि हुन्छ र जसरी पनि निकाले हुन्छ भन्ने सोच भएको झै देखिन्छ । यहाँ त ताहामचाको नाम नै तायामचा राखिदिएको छ । नयाँ पुस्ताले यसको नाम ताहामचा हो भनेर थाहा नै पाएका छैनन् । भने पुरानाहरु मौन बस्नु बाहेक केही गर्न पनि सकेका छैनन् ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

लाखे: भैरव कि राक्षस