लाखे: भैरव कि राक्षस

निकै प्रचलित छ लाखे । गथामुँग चह्रेका दिन देखि प्राय नेवाः बस्ती रहेको शहरहरुमा लाखे नाचको शुभारम्भ हुन्छ । निकै चाख मानेर बच्चा देखि बुढासम्मका सबैले हेर्ने गर्दछन् । आखिर के छ र यसका प्रमुख आकर्षण हुनु पछाडिको कारण । यसमा लाखेको नाचले वा लाखेको मकुण्डोले वा यसले गर्ने ख्यालठट्टाले गर्दा । प्रश्न जति सहज छ जवाफ सहज छैन । यसको आकर्षणको कारण खासमा अरु नै छ । त्यसै तान्न सक्ने आकर्षण के ले गर्दा भयो होला ? 

वास्तवमा लाखे एक प्रेमी हुन् । प्रेममा पागल भएका प्रेमी । मानव बस्तीमा मानव कन्यासंग प्रेम बसेपछि मानव हुन खोजेको राक्षस । साथै राक्षस हुन नचाहेको राक्षस । मानवले स्विकार नगरेर मानव हुन नसकेको राक्षस । 

लाखेका किंवदन्ती भने किसिम किसिमका छन् । कथा भिन्न भिन्न किसिमका छन् । त्यस मध्य एक किंवदन्तीका अनुसारको कथा भने काठमाडौ उपत्यकाकै को हो । 

लाखे एक युवा थिए, राक्षस कूलमा जन्म भएका युवा । ति युवा काठमाडौ उपत्यकाका एक युवती देखेर पागल भएका थिए । उनको रुपमा पागल भएका ति युवा युवतीको प्रेममा फसेर सधै मानव रुप लिएर भेट्न आउँथे । उनकी प्रेमिका एक किसान ज्यापूको छोरी थिइन् नाम भने बाँलामैंचा । नामै बाँलामैंचा त्यसैले नराम्री हुने कुरै थिएन । हुन त उनलाई मनपराउने धेरै थिए होला । तर रुप फेर्न सक्ने ति राक्षस युवाले आफूलाई सबैभन्दा राम्रो रुप बनाएर उनीसंग भेट्न आउँथे । त्यसैले बाँलामैंचा पनि ति युवाको प्रेममा पागल भइसकेका थिए । येँ लायकु (बसन्तपुर) नजिकै मजिपा:मा बस्ने ति युवती बाँलामैंचा आफ्ना प्रेमि लाखेसंग भेट्नका लागि एक्लै खेतमा काम गर्ने बहानामा जान्थिन् । वा भनौ बाँलामैंचा एक्लै भएको मौका मिलाएर ति युवा खेतमा आउँथे । बाँलामैंचालाई ति युवा मानव होइन भन्ने थाहा थिएन । कतै छिमेकी गाउँको युवा सम्झेर नै प्रेम गर्न थालेका थिए । युवकको रुपमा आउने लाखे पनि खेतमा आएर काममा सघाउँदै आफ्नी प्रेमिकासंग दिन बिताउँथे । एवं क्रम चलिरहेको थियो । यता ज्यापू पनि छोरी खेतमा जाँदा अन्य दिनमा भन्दा काम बढि हुने हुँदा छोरी एक्लै जाँदा एकाग्र भएर काम गर्ने भएकोले धेरै काम हुने सोचेर छोरीलाई मात्र पठाउँथे । बिस्तारै खेतमा युवतीका साथ एक युवा पनि सधै आउने हल्ला गाउँलेले युवतीका बाबुलाई सुनाए । खेतीको काम सकियो त्यसपछि ति युवा युवतीसंग राती राती भेट्न आउन थाल्यो । 

यस्तै क्रममा एक दिन बाँलामैंचा ति युवकसंग भागेर बिहे गर्न भनि युवकको साथ साथ गयो । युवकले आफ्नो घरमा लग्ने अपेक्षा गरेको बाँलामैंचालाई ति युवकले एउटा गुफामा लगेर आफ्नो घर यहि भएको सुनाए । साथमा युवकले आफू मानव नभएको राक्षस कूलमा जन्मेको पनि सुनाए । तर आफूमा राक्षसको जस्तो कुनै पनि अवगुण नभएको सुनाए पनि बाँलामैंचा आफू गलत ब्यक्तिको प्रेममा फसेको सोचेर ति युवाबाट भागेर घर आउन खोजे । तर ति वास्तविक राक्षस लाखे युवाले बाँलामैंचालाई फर्कन पनि दिएन । धेरै सोच बिचार गरेर जुक्ति निकाल्न थाल्यो ।
 यता छोरी बाँलामैंचा हराए पछि परिवारका सदस्य खोज्दै खोज्दै हिड्न थाल्यो । उता बाँलामैंचा पनि लाखेको चंगुलबाट भाग्ने जुक्ति निकाल्दै थिए । लाखेलाई बाँलामैंचाले आफू त्यहि गुफामा प्रेमिलाई नै पति स्विकार गरेर बस्न चाहेको सुनाइ लाखेलाई मोहित पारेर जाँड तन्न खुवाए । जाँडले लट्ठ परेपछि लाखे निदाउन थाल्यो । यहिँ मौकाको ताकमा रहेको बाँलामैँचा त्यसपछि कुलेलम गुफाबाट बाहिर भाग्यो । यहि समय उनलाई खोज्दै आएका युवाहरु बाहिर सडकमा भेटेपछि उनिहरुसंगै बाबुआमा कहाँ फर्केर आए । बाँलामैँचा भागेर आएपछि लाखे खोज्दै खोज्दै किसान ज्यापूको घर आइपुगे । बाँलामैंचाको बाबु आमालाई भने राक्षस फेरी आएर छोरीलाई फकाएर वा जबर्जस्ति लग्न सक्ने डरले बलियोसंग कोठाको ढोका बन्द गरेर छोरीलाई थुनेर राखे । रुप परिवर्तन गर्न सक्ने लाखेका लागि कोठामा लगाएका बलिया साङ्ला वा चुकुलहरुको केही महत्व थिएन । तसर्थ लाखेले सुक्ष्म रुप लिइ बाँलामैंचालाई बन्द गरिराखेको कोठामा प्रवेश गरेर बाँलामैंचासंग बस्न थाले । यसरी कोठामा राक्षस लाखे आएको एकदिन थाहा पाए पछि बाँलामैंचाको बाबु आमाले लाखेलाई समाएर राजा कहाँ सुम्पिदिए । राजा कहाँ लगिए पछि बाँलामैंचा र लाखेसंग सोधपुछ भयो । बाँलामैँचालाई लाखेसंग बस्न चाहेको वा नचाहेको पनि सोधपुछ भयो । साथै पञ्चभलाद्मीको रायसल्लाह पनि लिइयो । लाखेले आफूले बाँलामैँचालाई कुनै पनि हालतमा छोड्न नसक्ने तर यदि बाँलामैँचासंग नै बस्न दिएमा आफूले राज्यका लागि जस्तो सुकै कार्य गरेर सहयोग गर्ने बचन दिए । यदि उनलाई सजायँ दिइ बाँलामैँचासंग टाढा राख्न खोजेमा गाउँमा सधै दुख दिइरहने धम्कीपूर्ण भाषा पनि दिए । लाखेसंग साच्चै नै शक्ति रहेको कुरा तान्त्रिकहरुबाट जानकारी पाए पछि राजाले लाखेलाई आफ्नो राज्यमा बस्ने प्रवन्ध मिलाउने बाँलामैंचाको विवाह लाखेसंग नै गराउने तय गरे । यसका लागि बाँलामैँचाका बाबुआमासंग पनि मनाए । काठमाडौ उपत्यका बसाउने मञ्जुश्रीका नाममा बसेको मञ्जुपत्तन समय कालसंगै अप्रभंश भएर मजिपाट नामाकरण भइसकेको थियो । यहि मजिपाटमा लाखेका लागि घर तैयार गराइ घर ज्वाइका रुपमा बसाउने निर्णय भयो । यो सुने पछि लाखे खुशि भएर नाच्न थाले । काम खासै नहुने एक महिनाको काम दिए एकै दिनमा सिध्याउने र फुर्सद पायो कि दंग परेर नाच्दै हिड्ने । उनको बेढंगको शरिर र डरलाग्दा आँखा देखाएर बाह्रै महिना नाच्दै बस्दा बच्चाहरुमा डराउन थाले । अब यसरी सधै नाचिराख्यो भने बच्चाहरु डरले बाहिर ननिस्कन सक्ने हुँदा राजाले अब केही गर्नै पर्ने भनेर दरवारमा सल्लाह गर्न थाल्यो । त्यसपछि राजाको निर्णयमा लाखेलाई नाचगान गर्ने निश्चित समय तोकियो । उनले अब निश्चित समय मात्र नाच्न पाउने भयो । अन्य समयमा राज्यका सुरक्षा गरेर बस्नपर्ने नियम बाँधियो । त्यसपछि उनले वर्षमा एक महिना गथामुँग चह्रे देखि येँया पुन्ही (इन्द्रजात्रा)को समय मात्र नाच्दै हिड्न पाउने ब्यबस्था गरिदियो । तसर्थ आज पनि लाखेलाई यहि समय मात्र नाच्न पाउने छुट दिइएको छ । 

यसरी त्यो बेला घरज्वाइको सत्कार पाएर बास पाएका लाखेले खेतहरुमा खेति गर्ने तथा सुरक्षा गर्ने पानीको प्रबन्ध गर्ने नियमित कार्य गरिरहे । उनले खेतको सुरक्षा गरिरहेको हुँदा काठमाडौ उपत्यकामा खेतहरुलाई बाढीले बगाउने भन्ने खासै सुनिदैन । लाखेको शक्तिले बागमती तथा बिष्णुमतीमा ठूला ठूला खेत नै बगाउने बाढी नआउने बिश्वास अझै पनि पुराना उपत्यकावासी नेवाःहरुमा रहेको छ । लाखेलाई कबोल गरे अनुसार अहिले पनि इन्द्रजात्राको समय मात्र लाखे नचाइन्छ । लाखे मजिपाटमा रहेको लाखे घरमा नै सिद्ध भएको हुँदा अहिले पनि मतिपाटमा रहेको लाखे घरमा लाखेको ख्वापा राख्ने गरिन्छ । लाखेलाई लाखे आजुको रुपमा पूज्ने गरिन्छ । पुरानो मान्यता अनुसार लाखेलाई हल्चोकको शान्त भैरवको रुप पनि मान्ने परम्परा रहेको छ । 

यसरी लाखे आजुका रुपमा पूज्दै आएको लाखेको प्रसंग जङ्गबहादुर राणासंग पनि गाँसिएको कथा छ । बेलायत यात्राबाट फर्केका जङ्गबहादुर एक दिन लाखेआजुलाई पूजा गर्न मजिपा पुग्दा अनौठो घटना घटेछ । जङ्गबहादुर आउँदा सबै झुकेर सलाम गर्ने वा केही टाढा उभिने गर्दथे । तर त्यसदिन लाखेआजुलाई पूजा गर्न आएका जङ्गबहादुरलाई एक झ्यालिँचा नाम गरेका जड्याहाले बाटोमा बसेर थर्काउन थालेछ । ए जङ्गे तेरो घोडाको मोल कति हो भन । म तेरो घोडा किन्न चाहन्छु भन्दै कराउन थालेछ । 

लाखे आजुको पूजामा मगन जङ्गबहादुरले झ्यालिँचालाई केही पनि जवाफ दिएन । गाली पनि गरेन मृत्युदण्डको त कुरै भएन । चुपचाप जङ्गबहादुर त्यहाँबाट हिडेछ । त्यसपछि झ्यालिँचाले लाखेको हात समाउँदै नाच्न थालेछ । म तिम्रो झ्यालिँचा तिमी मेरो लाखे । यसरी झ्यालिँचा र लाखे निकै बेर नाचेछ । त्यसपछि बर्षै पिच्छे झ्यालिँचा लाखेसंग नाच्ने क्रम टुटेन । झ्यालिँचाको मृत्यु पछि लाखे नाचमा खल्लो अनुभुति भयो । त्यसपछि झ्यालिँचाको ख्याली भएर अरु नाच्न थाल्यो । यहि क्रम आजसम्म पनि कायम छ । 

यो त एउटा कथा भयो साथमा जङ्गबहादुरको एउटा प्रसंग पनि । यस्तै कथा उपत्यकामा धेरै सुन्न पाइन्छ । अब त धेरै बृद्ध बुबाआमाहरु बितेर जानु भयो । यस किसिमका कथाहरुका श्रोत नै सुक्दै गए । केही लिखतमा भएका दोहरिरहेका छन् । तर कतिपय हराइसके । कतिपय लाखे अचेल केवल मनोरञ्जनका लागि मात्र निकालिन्छन् । लाखे को हो र किन लाखे नाच निकालिन्छ भन्ने जानकारी लाखे नाच्नेहरुलाई पनि दिइदैन । 

अर्को कथाको लाखे पनि युवा नै छ । प्रेममा पागल भएकै छ । प्रेमिका पनि ज्यापूकै छोरी हुन । तर उनिहरुको भेट खेतमा मात्रै होइन रातको समय घरमा पनि हुन्थ्यो । यो प्रेमकथाको चर्चा बाबुआमाले त थाहा पाएनन् तर गाउँघरमा निकै चर्चा हुन थाल्यो । निकै गाइगुइ हुन थाल्यो । बिस्तारै घरसम्म पनि छोरीको चर्तिकलाका कथा सुनाउन छिमेकी पुग्न थाले । आजित भएर बाबुले हुन नसकेका ज्वाइ लाखेलाई समाएर राजालाई बुझाइ दिए । यसरी राजाको शर्त अनुसार वर्षको एक महिना गथेमुँग चह्रे देखि इन्द्रजात्रासम्म लाखे शहर प्रवेश गरेर खुशियालीका साथ उफ्रने नाच्ने दौडने गर्दछ । जुन अहिले सम्म पनि कायम छ । तर यहाँ लाखेको प्रेमिकाको के भयो भन्ने कतै किंवदन्ती सुनिदैन । यसरी मजिपा:मा बस्ने प्रेमिका भेट्न आउने लाखेको नाम मजिपा लाखे रहन गयो । 

मजिपा: लाखे नाच नाच्नेहरुमा एउटा बिशेषता हुने गर्दथ्यो । त्यो भने अचेल खासै छैन । मजिपा लाखे खासगरी रञ्जितकारहरु मात्र नाच्दथे । तर अचेल भने अन्य थरहरु पनि नाच्ने गर्दछन् । काठमाडौ उपत्यकालाई ब्यबस्थित शहरका रुपमा स्थापित गराउने राजा गुणकामदेवले थुप्रै जात्राहरु शुरु गरेका थिए । लाखेजात्रा पनि १२औं शताव्दीमा राजा गुणकामदेवले शुरु गरेको भन्ने मान्यता छ । 

हुन त अर्को यसैलाई अझ साथ दिने अर्को किंवदन्ती पनि पाटन तिर प्रचलित छ । लाखेको प्रेमिका पाटन पिम्बहा: नजिकै बस्दथ्यो । सधै मानिसहरु सुतिसकेपछि अध्यारोमा हातमा आगो बाल्दै लाखे प्रेमिका भेट्न आउँथ्यो । केही समय मिठा मिठा प्रेमका कुरा गरिरहँदा प्रेमिका बिहानै उठेर टाढा पानी भर्न जानुपर्ने भन्दै लाखेसंग छिट्टै छुट्टिने गर्दथ्यो । यसरी आफ्नी प्रेमिकाले दुख पाएको तथा आफूसंग बस्ने लामो समय नपाएको हुँदा पिम्बहा: मा नै पोखरी खन्ने निधो गर्दछ । रातभरीमा गोदावरी देखि ढुङ्गा ल्याएर पोखरी बनाउने निधो गरेर ढुङ्गा ओसार्दै गर्दा एक जना मानिसले देखे पछि पूर्णचण्डीमा पनि पोखरी बनाउन अनुरोध गर्दै ढुङ्गा केही पूर्णचण्डीका लागि पनि ल्याउन लगाए । रातभरमा सबै काम गर्न निकै हतार भयो । अर्को पूर्णचण्डीका लागि पनि ढुङ्गा ओसार्नु पर्दा काम छिटो छिटो गरे । पोखरीका लागि खाल्डो खनेर ढुङ्गा केवल बिछ्याए मात्र । त्यसैमाथि पानी भरे । न त ढुङ्गा माटोको गाह्रो नै लगाउन पाए । हतार हतार जग नै नराखि बनाएको पोखरी हुँदा जगमदू पुखु पनि भन्ने गरिन्छ । साथै पानी भर्दा भर्दै बिहान भयो र मानिसहरु बाहिर निस्कन थाले पछि लाखे पोखरीको पिँधमा रहेको ढुङ्गामा नै लुके । 

बिहानी पख पिम्बहा: मा पोखरी देखेपछि सबै खुशी भए । कसले बनायो भन्ने चालै पाएनन् । तर लाखेको प्रेमिकालाई मात्र थाहा थियो । भोलिपल्ट राती लाखे आउने बाटो हेरि बसेकी प्रेमिकाले लाखेलाई भेट्न सकेन । लाखे ढुङ्गाको कापामा पोखरी मुनि लुकेको निस्कन नै सकेन । अहिले पनि पिम्बहा:को पोखरीको एक कुनामा लाखे लुकेको ढुङ्गा "लाखे ल्होँ" रहेको छ । हिउँदमा सुक्खा मौसम हुँदै जाँदा पानीको सतह घट्दै जान्छ । त्यसबेला लाखे ल्होँ देखिन्छ । स्थानियमा एउटा बिश्वास अझै छ । लाखे ल्होँमा घाम परे पछि बर्षात शुरु हुन्छ । यसरी यो लाखे पिम्बहा:को पोखरीमा अझै भएको बिश्वास गर्ने गर्दछ । यसरी हातमा आगोको लप्का बालेर आउने लाखे भएको हुँदा यो लाखेको नाम मि: प्वा: लाखे रहन गयो । 

खेतीपातीमा सहयोग गर्ने लाखेसंग बालकहरु पनि नाच्ने गर्दछ । यि बालकहरुलाई खासगरि झ्यालिंचा भन्ने गरिन्छ । वास्तवमा बालकहरु झ्यालिंचा र ब्यांचा थिए । तर कमै स्थानमा दुइ बालकहरु नचाउने गर्दछ । खासगरी झ्यालिंचा भनेको गाइने किरा हो जसले धान खेतमा हुने अन्य किरालाई खाएर धान खेतको उब्जाउ बढाउन मद्दत गर्छ । अर्को ब्यांचा भनेको भ्यागुता हो । जसले धानखेतको माटोलाई मलिलो बनाएर धान सप्रन मद्दत गर्दछ । साथै भ्यागुताले पनि किरा फट्याङ्ग्रा खाएर बालीको रक्षा गर्छ । लाखेले खेतमा धान रोपे पछि यि दुइलाई पनि साथ साथ ल्याएको हुँदा लाखे नाचमा झ्यालिंचा र ब्यांचाको पनि नाच हुने गर्दछ । झ्यालिंचाहरुले लाखेलाई गिज्याउन र दगुराउने गरि थकाउने गर्दछ । नाचका रुपमा यि दुइ पात्रको उपस्थितीले रोचकता थप्ने ‍गर्दछ । 

कतै कतै लाखेहरु कुनै राक्षस होइन तर राक्षस जस्तै बलिया हामी जस्तै मानव हो भन्ने पनि गरिन्छ । हालको आसामको नाम लिच्छवी कालमा कामरुप थियो । कामरुप निकै ठूला ठूला गुरुहरुको थलो थियो । यहि कामरुपबाट त्यहाँका राजकुमारका रुपमा रहेका गुरु मच्छिन्द्रनाथलाई उपत्यकाका राजा नरेन्द्रदेवले आचाजू बन्धुदत्तको सहयोगमा बि.सं. ७१६ तिर गोप्यरुपमा कलशमा लुकाइछिपाइ ल्याएको भन्ने गरिन्छ । यसरी लुकाइ छिपाइ ल्याए पछि कामरुपबाट उनको खोजीमा आएका मानिस (गैर हिन्दूलाई राक्षस भनिने हुँदा राक्षस नै लेखिएको छ) हरुलाई उपत्यका प्रवेश गर्न दिइएन । जसरी पनि मच्छिन्द्रनाथलाई फिर्ता लिएर जान भनेर आएकाहरु उपत्यका प्रवेश गर्न नपाए पछि उपत्यका बाहिर बसेर जनताका सहयोगी बन्दै लोकप्रिय हुन थाले । खेती किसानीमा सहयोग गर्दै जनताका प्रिय बन्न थाले । तर जब लामो समय बितेपछि जनता न त उनिहरुको सहयोग बिना खेती गर्न सक्ने भए न त उनिहरु फर्कन नै माने । अन्तमा तान्त्रिकहरुले उनिहरुका मुखियालाई समाएर बाचा गराउन सक्षम भए । जस अनुसार वर्ष भरि खेती किसानी गरेर सहयोग गरिरहने तथा वर्षको एक महिना उपत्यका प्रवेश गरेर नाचगान गर्दै रमाइलो गर्न पाउने । तथा जुन दिन उपत्यकाको खेतमा सुन फल्न थाल्छ त्यहि दिन मच्छिन्द्रनाथलाई कामरुप फिर्ता लिएर जान पाइन्छ । यहि शर्त अहिले सम्म मच्छिन्द्रनाथलाई फिर्ता लाने दिन अर्थात उपत्यकाका खेतमा सुन फल्ने दिन कुर्दै कामरुपका ति बासिन्दाले बाचा पुरा गरिरहेको मान्यता स्वरुप लाखे रुपी मच्छिन्द्रनाथको देश कामरुपका बासिन्दा उपत्यकामा गथामुगे चह्रे देखि इन्द्रजात्रासम्म नाचगान गर्दै गल्ली घुम्न छुट पाएका छन् । 

तर किंवदन्ती जे जस्तो भए पनि पहिलो पटक लाखेको नृत्य भने सकल सिङ्गो उपत्यकाका राजा जयस्थिती मल्लको छोरा श्रीधर्म मल्लदेवको विवाह समारोहमा मञ्चन भएको भैरवानन्द नृत्यको समय लाखेको नृत्य पनि प्रदर्शन भएको भन्ने बुझिन्छ । जयस्थिती मल्ल तत्कालिन तिरहूतबाट ल्याइएका घरज्वाइका रुपमा भक्तपुरका राजा बनेका थिए । उनको थर भने मल्ल नभइ ठाकुर थियो । तर घरज्वाइ बनेपछि उनले जयस्थिती मल्लदेव भनेर राजाको रुपमा नाम उल्लेख गर्न थालेका थिए । यिनै जयस्थिती मल्लदेवका जेठाछोरा श्री जयधर्म मल्लदेवको भव्य विवाह बि.सं. १४३९ को फागुन शुक्ल तृतिया बिहीवारका दिन भएको थियो । हुन त श्रीजयधर्म मल्लदेवको जन्म भन्दा अगाडि पनि भव्य रुपमा भएको थियो । बि.सं १४२२ जेष्ठ कृष्ण पञ्चमीका दिन पनि चतुरङ्क रामायण नाटकका रुपमा प्रदर्शन भएको थियो । त्यस पछि बि.सं. १४३४ जेष्ठ शुक्ल पञ्चमीका दिनमा पनि ठूलो उत्सवका साथ बालरामायण मञ्चन गरिएको थियो ।

आखिर जे जस्तो स्वरुपमा वा मान्यता वा किंवदन्तीका कारण होस वा इतिहासमा उल्लेख भए नभएका कारणले होस नेपाल उपत्यकामा लाखे नाचिरहेका छन् । हिजो संस्कृतिका परिचायक यि लाखे आज देशको प्रतिनिधित्व गर्ने पात्र नै बनेका छन् । बिदेशी भूमीमा नेपालका सांस्कृतिक परिचय दिनुपर्दा लाखे नाच देखाउने गरिन्छ । पहिले नेवा: बस्तीहरुमा मात्र देखाइने यो नाच अहिले अन्य जातिले पनि अंगिकार गरेको छ । यो सांस्कृतिक सौहाद्रताको प्रतिक हो । एकले अर्कोको जातिय उत्सव वा नाचगानलाई स्विकार गर्नु अहिलेको सबल पक्ष पनि हो, भाइचाराको उदाहरण पनि हो । तर पनि कताकता एउटा पिडा हुन्छ । कुन तालमा लाखे नाच्ने हो वा कुन भेषभुषा वा ख्वापामा लाखे नाच्ने हो त्यो भने भिन्नता हुदै गएको छ । यसरी यदि पहिलो पटक बि.सं. १४३९ मा नाचिएको तथ्यलाई नै स्विकार गर्ने हो भने बिगत ६४० वर्ष देखि नेवा: बस्तीको गल्ली गल्लीमा वर्षेनी उफ्रेर लाखे नाचिरहेको छ । यसले मनोरञ्जन दिइरहेको छ । त्यो बेला पनि यो लाखे नृत्य यस्तै थियो वा थिएन निश्चित रुपले भन्न सकिदैन । तर अचेल भने लाखे नृत्यमा अलि बढी उच्छृंखलता भने देखिन्छ । लाखेलाई गिज्याउने तथा लाखे रिसाए झै देखिने नाचको बिच बिचमा देखिन्छ । वास्तवमा लाखे हेर्दा राक्षस जस्तो देखिए पनि लाखेलाई शान्त भनिने गरिएको थियो । तर अचेल भने नाच हेर्दा केही भिन्न अनूभुति हुन्छ । 

लाखे नाचको पोखराको प्रसंग जोड्नुपर्दा भने बाल्यकालमा लाखे यहाँको खड्गी समुदायले मात्र नाचेको पाउँछौ । अन्यले नाचेको जस्तो लाग्दैन । हाम्रो टोल नजिकै परियारहरुको सानो बस्ती नै थियो । त्यहाँ परियारहरुको बस्तीको शुरुवात भने बि.सं. १८६७ चैतको लालमोहरका अनुसार भीमसेन मन्दिरमा साँझ बिहान दमाहा बजाउनका लागि जागीर दिइएको थियो । यस बापत बस्नका लागि जग्गा दिइएको थियो भने जागीर झारमा लगाइएको थियो । यसरी शुरुमा दमाहा तथा शहनाइ बजाउन जागीर पाएका हिर्या दमाइ, भुर्या दमाइ, भक्त्या दमाइ, मान्या दमाइकै सन्ततीहरु मध्यका डल्ला दमाइले मट्टीतेलको टिन ठटाए पछि लाखे नाच शुरु हुन लाग्यो भन्ने थाहा हुन्थ्यो । टोलका बच्चाहरु सबै जम्मा हुन्थे । त्यसको केही समय पछि कैले कसाइ लाखेका रुपमा उफ्रदै आइपुग्थे । त्यो बेलाको लाखेनाचको रौनक नै अलग हुन्थ्यो । टिनको ठटाइबाट आउने आवाज र लाखेको उफ्राइ अलग्गै किसिमको हुन्थ्यो । 

अचेल लाखे ब्यापक त भएको छ तर लाखेको मर्म हराइसकेको छ । लाखे बच्चाहरु बिच लखेट्न जाने, महिलाहरु सामु अश्लिल हरकत गर्ने जस्ता कार्य गरेको भेटिन्छ । यी कुराहरु लाखेको चरित्रसंग मेल खादैन । लाखे मानिस हुने खोजेको राक्षस भएको हुँदा मानिसहरु बिच सकेसम्म रमाइलो गर्न र मित्रवत बन्न खोज्नुपर्ने हो । मनोरञ्जनका नाममा अश्लिलता प्रदर्शन गर्नु हुदैन ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

पोखराको ताहामचा