दोलखाको तेल दलिने झोलुङ्गे पुल

तेल दलिने झोलुङ्गे पुल

एउटा भिन्न इतिहास बोकेको दोलखाको उत्तरमा रहेको यो झोलुङ्गे पुल संरक्षणको पर्खाइमा रहेको छ । यस पुलको आफ्नै इतिहास छ । यस पुललाई बिशेष रुपले तेल दलिने पुलको रुपमा चिनिने गर्दछ । हुन त यस पुलमा पुल दल्न छाडेको पनि पचास वर्ष भयो । तर पनि यस पुलको बिशेषता अझै पनि कायम नै रहेको छ । 

यस पुल बारेमा जानकारी रेडियो नेपालका दोलखा सम्वाददाता चिरञ्जीवी मास्केले केही महिना अगाडि रेडियो नेपाल अनलाइनमा लेखेका थिए । यहाँ वहाँकै अनुमतिमा वहाँको लेखमा केही फेरबदल सहित प्रस्तुत गर्न गइरहेको छु । तस्विरमा पनि मसंग रहेको ५३ वर्ष अगाडिको तस्विर भन्दा केही भिन्न देखिन्छ ।  

बि.सं. २००३ सालमा दोलखा जिल्लाको उत्तरमा रहेको बुलुङ र खारे बिचको जामुनेमा तामाकोशी नदी माथि झोलुङ्गे पुल बनाइएको थियो । खारे, मार्बु, बुलुङ, ओराङ, चंखु गाउँहरुका जनताहरुले तामाकोशीमा कुनै पुल नहुँदा आवतजावतमा दुख पाएको देखेर स्थानिय समाजसेवी प्रयागराज पण्डितले आफ्नो निजि खर्चमा झोलुङ्गे पुल बनाउने सोच बनाए । झोलुङ्गे पुल बनाउनु सहज थिएन । पुलको लागि आबश्यक फलामका मोटा मोटा सिक्रीको आबश्यकता थियो । सिक्री भारतीय बजारबाट खरिद गरेर ल्याउनु त्यति सहज थिएन । तसर्थ काँचो फलाम रामेछापको ठोसे मेक्चनको फलाम खानीबाट ल्याइ जामुनेमा नै आरन बनाएर काँचो फलामबाट स्थानिय कामीहरुको सहयोगले ठूला ठूला फलामा साङ्लो बनाइ पुल बनाइएको थियो । प्रयागराजले आफ्नै निजि खर्चमा ठोसेबाट काँचो फलामका धाउ खरिद गरेर त्यसलाई आरनमा गालेर त्यसलाई पिटेर साङ्लो बनाइएको थियो । 

लामा लामा साङ्लो बनाइसकेपछि नदीको दुइ किनारमा बलिया खाँबो गाडेर सिक्री बाँधेर त्यसको बिच बिचमा लामो फलामे तारहरुले लामा लामा मुढालाई अड्याएर पुल बनाइएको थियो । यसरी बनाइएका पुलहरु हेर्दा असुरक्षित भए पनि निकै बलिया हुन्थे । भरियाहरु ठूला ठूला भारी बोकेर यस किसिमको पुलहरुमा ओहोरदोहोर गर्न सक्थे । 

यस प्रकारले आफ्नो निजि खर्चमा झोलुङ्गे पुल बनाइदिने समाजसेवी प्रयागराज पण्डितलाई केवल पुल बनाइदिएर सन्तुष्टी भएन । उनलाई यो पुल लामो अवधी सम्म गाउँलेहरुको लागि उपयोगीपूर्ण र टिकाउ होस भन्ने पनि चिन्ता लागि रह्यो । घामपानीले फलाममा खिया लागेर फलाम खिइन थाल्ने र झोलुङ्गे पुल कमजोर भइ भाच्चिने सम्भावना हुने हुँदा उनले पुलमा प्रयोग हुने फलाममा खिया नलागोस भनेर तेल हाल्ने ब्यबस्था पनि गराएका थिए ।

नेपालमा रहेका हजारौ झोलुङ्गे पुलहरुमा दोलखाको जामुनेको झोलुङ्गे पुल एक मात्र उदाहरणीय पुल हो । प्रयागराजले पुलको मर्मत सम्भार तथा तेल दल्नको लागि आफ्नो निजि जग्गा गुठी प्रयोजनको लागि छोडेका थिए । गुठीको जग्गा कमाउनेले नै पुलको मर्मत सम्भार तथा पुलमा तेल दल्ने कार्य गर्नुपर्दथ्यो । तर दुर्भाग्य गुठी कमाउनले पुलको मर्मत सम्भार तथा तेल दल्ने कार्य प्रयागराज जीवित हुँदा सम्म मात्र गरे । 

बि.सं. २०२८ साल तिर प्रयागराजको निधन भयो । प्रयागराजको निधन पछि पुलको रखवाला तथा साधारण मर्मत गुठी कमाउने बलबहादुर खड्काले गरिरहेका छन् । तर तेल दल्ने काम भने २०२८ साल पछि नै बन्द भयो । २५ वर्षे उमेरमा बलबहादुर खड्कालाई प्रयागराजले नै पुलको जिम्मा दिन आफूले स्थापना गरेको गुठी जग्गामा ल्याएर राखेका थिए । सरकारको खासै नजर नपुगेको ऐतिहासिक पुलको साक्षी बनेर पुलको कुरुवाको रुपमा जीवित छन् । ७५ वर्ष उमेर पुगिसकेका बलबहादुर पुलको मर्मत सम्भार सरकारले गरिदिए हुने थियो भन्दछन् । 

२०४४ सालमा एकपटक मात्र सो बेलाको जिल्ला पञ्चायतले पुलको मर्मत गरिदिएको भए पनि त्यस यता पुलको मर्मत कुनै पनि श्रोतबाट हुन सकेको छैन । अहिले चरिकोट लामाबगरको सडक नजिकैबाट जोडिएको तथा तामाकोशीमा बिभिन्न नयाँ पक्की पुलहरु पनि बनिसकेको हुँदा यो ऐतिहासिक पुल भने महत्वहिन भएको छ । तर पनि एउटा इतिहासको साक्षी बनेको यो पुलको मर्मत गरिदिने हो भने यसको ऐतिहासिकता अझै जनताले नियाल्ने अवसरहरु पाइरहने थिए । साथै स्वर्गिय प्रयागराजको आत्माले पनि सुखानुभुती पाउँथे होला । समाजसेवी प्रयागराज प्रति हार्दिक कृतज्ञता सहित वहाँ प्रति श्रद्धाञ्जली दिन चाहन्छु । स्वर्गिय प्रयागराज सधै अमर रहनु हुनेछ ।

फोटो श्रोत चिरञ्जीवी मास्के

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

लाखे: भैरव कि राक्षस

पोखराको ताहामचा