नेवाःहरूको मोहनी नखः तथा मौलिकताले भरिएको हाम्रो दसैँ
नेवाः परम्पराअनुसार दसैँलाई मोहनी नखः भनिन्छ । हुन त अरु जातिले मनाउने दसैँमा झैँ मोहनी नखः मा पनि घटस्थापनाकै दिन नःला स्वाः (जमरा) रोपिन्छ । नलास्वाः रोप्ने कोठालाई नःलाकू भन्ने गरिन्छ । अँध्यारो र सकभर घामको किरण नपरोस् भन्ने गरिन्छ । जमरा रोप्नका लागि शुद्ध बालुवा र पानी खोलाबाट नै ल्याउनुपर्छ । यो नेवाः परम्परामा तान्त्रिक विधिअन्तर्गत पर्छ ।
जमराको प्रचलन दसैँमा नेवाःबाट नै भित्र्याइएको हो । नेवाःहरूमा नःला स्वा रोप्ने, कलश स्थापना गर्ने तथा खड्गसिद्धि गर्ने प्रचलन उपत्यकामा तलेजु भवानी भित्रिएसँगै सुरु भएको मान्यता छ । तान्त्रिक विधिबाट रोपिएको जमराको बीचमा देवीको प्रतीकका रूपमा कलश स्थापना गरिन्छ । जब भगवान्मा कुनै आकृति थिएन वा भनौँ एक काल्पनिक शक्तिलाई भगवान्का रूपमा पुज्न सुरु गरियो । त्यो समय कलशलाई नै भगवान्का रूपमा पुज्न थालिएको थियो । पछि भगवान्का रूपमा विभिन्न नाम र आकृतिहरू बनाउन थालियो । भगवान्का कथाहरू गाँसेर पुराण र आख्यानहरू लेखिए । राम, कृष्ण, ब्रह्मा, विष्णु, महादेव या लक्ष्मी, पार्वती, दुर्गा, सरस्वतीका कथाहरू आख्यानका रूपमा प्रचलित हुन थाले । त्यसपछि मात्र आकृतिमा पूजा गर्न थालिएको हो । त्यसभन्दा अगाडि केवल कलश मात्र पुजिन्थ्यो । कलश मात्र थापिन्थ्यो ।
यसैले त अझै पनि वैदिक ब्राह्मणले कुनै पनि ठूलो पूजाको थालनी गर्दा कलश स्थापना गर्ने गर्दछन् । तलेजु भवानी पनि केवल कलशका रूपमा रहेको छ भने असनको अन्नपूर्ण पनि कलशका रूपमा नै रहेको छ । कलश स्थापना गरेर त्यस कलशमा जुनसुकै देवदेवीका रूपमा पनि पूजा गर्न सकिने हुँदा नै कलशको महत्त्व अति नै बढी भएको हो । दसैँमा पनि कलश स्थापना गरेर मात्र नःला स्वाः रोप्ने गरिन्छ । कलशबिना नःला स्वाःको खासै महत्त्व छैन । सुरुमा कलश स्थापना गरिए पनि पछि यस कलशलाई शक्तिका देवीका रूपमा लिन थालिएको हो ।
जमरा रोप्दा सकेसम्म भेगः (माटोको भिउट)मा रोप्नुपर्छ । यसरी रोपिएको जौमा टुसा पलाएको देखिएपछि अर्को भेगःले छोपिन्छ । यसरी छोपिने भेगःलाई नेवाःभाषामा वःलाः भेगः भनिन्छ । यो भेगः अन्यभन्दा केही ठूलो हुन्छ ।
जौ नै नःल स्वाःका रूपमा किन रोजियो भन्ने विषयमा भने गहिरो खोज गर्न आवश्यक देखिन्छ । जौ मानिसले खेती गर्न सिके त्यो समय जौ नै रोपेका थिए । इशापूर्व ९००० मा सुरु भएको थियो । जौको खेतीको पुरानो प्रमाण भने ५००० इशापूर्वमा इजिप्टमा भेटिएको थियो । यस्तै, इशापूर्व १५०० मा चीनमा खेती गर्न थालिएको प्रमाण भेटिएको थियो ।
यसरी हेर्दा नेपाल वा भारतमा पनि यसै समयकालतिर खेती गर्न थालिएको अनुमान गर्न सकिन्छ । कृषि र गाईपालनमा निर्भर गोपालवंशीहरूको समयकालमा नेपालमा पनि जौ रोप्न थालिएको हुनुपर्छ । सुरुमा जौ उम्रिएको देखेपछि खुसीले शिरमा उनेर रमाइलो गर्न थालेको हुनुपर्छ । यसरी नै जमरा पूजाको फूलका रूपमा प्रयोग भएको अनुमान गर्न सकिन्छ । जमरा दसैँसँग गाँसिएको प्रसङ्ग भने धेरैपछि मात्र भएको अनुमान गर्न सकिन्छ । जमरा स्वास्थ्यको दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको धेरै पछिको अनुसन्धानले प्रमाणित भएको छ । त्यसमा पनि एक हप्तासम्मको बिरुवामा धेरै नै औषधीय गुण हुने पत्ता लागेको छ ।
हाम्रा हिन्दु संस्कारहरूमा जौ गाँसिनुको कारण भने हाम्रा पुराण तथा आख्यानहरूमा वर्णित कथाअनुसार ब्रह्माले सृष्टि गर्ने क्रममा विभिन्न जीवित प्राणीहरूको सृष्टि गरेपछि तिनको जीवनयापनका लागि अन्नहरूको सिर्जना गर्न थाल्नुभयो । यसरी ब्रह्माले सबैभन्दा पहिले जौ सिर्जना गरेको मानिएको हुँदा जौ पूजामा पनि महत्त्वपूर्ण रहन गएको हो । यी पुराणका कथा भए पनि वास्तविक इतिहासमा पनि मानिसले पहिलोपटक खेती गर्न थालेको अन्न जौ नै हो ।
भारतमा पनि गुजरातमा दसैँको पहिलो दिन जौ रोप्ने गरिन्छ । हामीले जमरा भन्ने गरिएको यस अंकुरणलाई गुजरातीहरू जवारे भन्न गर्छन् । यसरी रोपिएको जौ जति राम्रो हुन्छ, त्यो वर्ष परिवारका लागि राम्रो हुन्छ भन्ने मान्यता राख्ने गर्दछन् । दुर्गा माताले त्यो घरमा फलिफाप गराइदिने विश्वास गर्ने गर्छन् । यदि जमरा उम्रँदा कालो भयो भने त्यो वर्ष त्यस घरमा कुनै अनिष्ट हुन सक्ने भन्ने गरिन्छ । राम्रोसँग नउम्रिने, थोरै र सानासाना मात्र भएमा दुष्ट आत्माको बास घरमा हुने विश्वास गर्ने गर्छन् ।
तर नःला स्वाः रोपिएपछि बीचका दिनहरूमा खासै केही गरिँदैन । नित्य पूजा र नःला स्वाःमा दैनिक रूपमा पानी राख्नेबाहेक खासै पूजा हुँदैन । तर पछि दश दिन दश शक्ति पीठहरूमा पूजा गर्ने प्रचलनको थालनी भयो । अहिले पनि उपत्यकावासीहरू दश दिन दश शक्तिपिठका रूपमा दश अजिमालाई पूजा गर्ने गर्छन् । काठमाडौंमा भने पञ्चमीको दिन पचिमह्र अर्थात् पचली भैरवको जात्रा मनाउने गरिन्छ । उपत्यकामा दश दिन दश पीठमा पूजा गर्ने परम्परा छ । मातृशक्तिकै प्रतीकका रूपमा धेरैजसो अन्य स्थानहरूमा पनि देवीकोे नै दर्शन गर्ने गरिन्छ ।
नेवाः परम्परामा नला स्वाः रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा कलशको पूजा मात्र गरिन्छ । सप्तमीको दिनमा नेवाःहरू फूलपाती भित्र्याउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसँगै विभिन्न स्थानमा मनाउन थालिएको हो । नेवाः परम्परामा फूलपातीका दिन राँगोको मासु भित्र्याउने गर्थे । फूलपातीका दिन मासु भित्रिएपछि नै वास्तवमा केटाकेटीहरू दसैँ आएको अनुभूति गर्ने गर्थे ।
फूलपातीका दिन मल्लकालमा पत्रिका स्थापनाका रूपमा विभिन्न पातहरू पूजा कोठामा राखेर पूजा गर्थे । तर पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि आफ्नो मूलथलोका देवीको फूल उपत्यका भित्र्याउने प्रचलनको थालनी गरेका थिए, जसले गर्दा फूलपाती भन्ने गरियो ।
नेवाःहरूले फूलपातीका दिन सामूहिक रूपमा राँगो काट्थे र घरघरमा मासुको भाग भित्र्याइन्थ्यो । यसरी भित्र्याइने मासु घरको मूलढोका पुग्ने बेलामा मासु बिसाएर मासुका सानासाना तीन टुक्रा निकालेर एक टुक्रा दाँया, एक टुक्रा बाँया र एक टुक्रा पछाडि फ्याँक्थे । दायाँतर्फ देवदेवीका लागि बायातर्फ पितृका लागि र पछाडि पिखालखुः अर्थात् घरका रक्षकका लागि चढाइन्थ्यो ।
यसरी चढाइसकेपछि मात्र मासु घरभित्र भित्र्याउने प्रचलन थियो । यसरी मासु घरमा भित्रिएपछि बल्ल मोहनी नखःको सुरुवात मानिन्थ्यो । किनकि नेवाःहरूको मोहनी नखः अष्टमीको दिनमा कुछिभ्वय, नवमीका दिन स्याक्वत्याक्व र दशमीका दिन मोहनी सिन्ह लगाएर चालं मनाउने गरिन्छ ।
तर असनमा बसोबास गर्ने तुलाधर, स्थापित, कंसाकार तथा शिलाकारहरूले भने एकादशीका दिन मात्र चालं मनाउने गर्छन् । यी व्यापारी समुदायले कुनै बेला व्यापारको व्यस्तताले दशमीका दिनमा मनाउनुपर्ने चालं मनाउन नै बिर्सिएकाले भोलिपल्ट चालं मनाएको हुँदा त्यसबेलादेखि नै एकादशीका दिन चालं मनाउने गरेका हुन् भनिन्छ । तर यो कुनै विश्वसनीय तर्क भने हुन सक्दैन । किनकि एक वर्ष बिर्सिएको चाड अर्को वर्षदेखि सुधार गर्न सकिन्थ्यो । असनले भोलिपल्ट चालं मनाउने हुँदा असं चालंका रूपमा परिचित हुन पुगेको छ ।
खासगरी नेवाःहरूको मोहनी नखः अष्टमीबाट सुरु हुन्छ । अष्टमीको बिहान देवीको प्रतीक रूपमा खड्गलाई पूजा गरिन्छ । यो खड्ग शक्तिको प्रतीक पनि हो । तान्त्रिक रूपमा खड्गमा पूजा गरेर खड्गको रूपमा निडरता हामीमा आओस् भन्ने नै हो । यस दिन पूजा गरेको खड्ग भोलिपल्ट स्याक्वत्याक्वका दिन यही खड्गले जीवको बलि दिएर यो खड्गलाई पूजा गरिन्छ । जीव बलिको अर्थ हामी शत्रुलाई यसरी नै परास्त गर्न सक्षम छौँ भन्ने हो ।
पूजापछि समयवजी खाने गरिन्छ । समयवजीको भाग भने मूलढोकाअगाडि रहेको पिखालखुःमा पनि चढाइन्छ । अष्टमीको राति हरेक नेवाःहरूको घरमा 'कुछिभ्वय' खाने गरिन्छ । कुलका सबै सदस्यहरू मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा 'कुलछिभ्वय' भनिएको हो । तर पछि अप्रभंश भई 'कुछिभ्वय' भन्न थालिएको भनिन्छ । यो भोजलेे नेवाः परम्परामा विशेष महत्त्व राख्ने गर्छ । यस भोजमा कुलका कुनै सदस्य उपस्थित हुन सकेनन् भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै, विवाहित दिदीबहिनीहरूको ब्व राखेर भोलिपल्ट उनीहरूको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर, अचेल खासै त्यस्तो गरेको देखिँदैन ।
साथै, अर्को महत्त्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुँदैन भन्दै परिवारको सदस्यको मृत्यु भई मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानुपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्यु भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रूपमा तथा मासको वःको ठाउँमा केराउको वः बनाएर कुछिभ्वय खाने गरिन्छ ।
कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनुपर्छ । धौब्व तथा आगँब्व (आँगनमा पिखालखुःको भाग)का साथ साथ ओखल, ढिकी, चुल्हो, थापिंचा आदिलाई पनि भाग लगाउने चलन छ ।
यसरी भाग लगाउँदा केराको पात सानोसानो बनाएर त्यसमा भाग लगाएर राख्ने गरिन्छ । यसरी सबैको भाग लगाइसकेपछि परिवारको संख्याबराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पातमा राखिन्छ । केराको पातको बीचमा चिउरा (कतैकतै दुई माना भनिन्छ) राखिन्छ । त्यसपछि विभिन्न खानेकुरा राखेर सजाइन्छ । खास गरी मासको वः, सुकाएको माछा, पकाएको फर्सी, भुटेको बोडी, केराउ, हरियो साग, मासुको परिकार, थ्वं (जाँड), आदि सबै खानेकुरा राखेपछि कुछिभ्वय तयार हुन्छ । भनिन्छ, खानेकुराहरू कम्तीमा १२ प्रकारका हुनुपर्छ ।
कुछिभ्वयको भोलिपल्ट 'स्याक्वत्याक्व' भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारीसाधनको पूजा तथा बलि दिने गरिन्छ । साथै, घरमा प्रयोग गरिने विभिन्न ज्याबलहरू, पुस्तकहरू, हतियारहरू सबैलाई पूजा गर्दछन् । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारीसाधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारीसाधन तथा ज्याबलहरू पूजा गर्ने चलनको सुरुवात भएको पाउँछौँ । नवमीका दिन रक्सी बनाउनेहरूले रक्सी बनाउने भाँडा (थापिंचा) पनि पूजा गर्ने गर्दछन् । यसका साथै अघिल्लो दिन कुछिभ्वयको भाग लगाइएका ओखल, ढिकी, चुल्हो आदिलाई पनि पूजा गरिन्छ । यसका साथै नेवाःहरू विशेष गरेर कुभिन्डो स्थापना गरेर पूजा गर्ने गर्दछन् । यसरी पूजा गर्दा कुभिन्डोमा स्वस्तिक वा अनुहारको चिह्न पनि बनाउँछन् । यसका साथै घरमा रहेका विभिन्न ठाउँमा पनि पूजा गर्ने गरिन्छ ।
'स्याक्वत्याक्व' शव्द भने सयेकुक्व त्यात शब्दबाट अप्रभंश भई भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शब्द अचेल काटमार गर्ने दिनको रूपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई 'सिकाःभू' लिने गरिन्छ । शरीरको सबैभन्दा महत्त्वपूर्ण पाँच इन्द्रिय ग्रहण गर्ने रूपमा सिकाःभू लिने प्रचलनको सुरुवात भएको मानिन्छ ।
पाँच इन्द्रियहरू आँखाले हेर्ने, कानले सुन्ने, नाकले सुँघ्ने, जिब्रोले स्वाद लिने तथा छालाले स्पर्श गर्ने अंगका रूपमा लिइन्छ । दुई आँखा, दुई कान, एक नाक, एक जिब्रो र बङ्गाराको दुई भाग गरेर आठ भाग बनाइन्छ । यसरी लगाइएको आठ भाग आठ शीर्ष सदस्यहरूमा सिकाःभूका रूपमा बाँडिन्छ ।
यसरी सिकाःभूमा पनि परिवारका ज्येष्ठ सदस्यलाई दाहिने आँखा, त्यसपछि बायाँ आँखा, त्यसपछि तेस्रो सदस्यलाई दाहिने कान, चौथो सदस्यलाई बायाँ कान, पाँचौँ सदस्यलाई नाक, छैटौँ सदस्यलाई जिब्रो, सातौँ सदस्यलाई माथिल्लो बङ्गारा र आठौँ सदस्यलाई तल्लो बङ्गारा दिइन्छ । यदि परिवारमा पुरुष सदस्य यसभन्दा कम भएमा बाँकी रहेको भाग पनि थकाली सदस्यलाई नै दिने गरिन्छ ।
सिकाःभू खाइसकेपछि बल्ल भोज खाने गरिन्छ । भोजका पनि आफ्नै नियमहरू हुने गर्छन् । तर, अचेल नियमविपरीत खाने गरिँदा भोज खाएर पेट दुख्यो वा बिमारी भइयो भन्ने गरिन्छ । भोज कसरी खाने, के के खाने तथा कति खाने भन्ने छुट्टै विवरण लेखिएको पुरानो थ्यासफूहरू भेटिन्छ ।
भोजनका चार चरण हुन्छ । यसमा थप्ने क्रम भोजन बाँड्नेले नै तय गरेको हुन्छ । यसभन्दा बढी कुनै सदस्यले लिएमा पछिल्लो चरणका खानेकुराहरू खान सकिँदैन बिरामी हुने सम्भावना हुन्छ ।
खानाको परिकारमा पहिलो चरणमा ठूलादेखि सानासम्म लहरै बस्ने कार्य गर्नुपर्छ । त्यसपछि लहरै केराको पात ओछ्याउने कार्य सुरु हुन्छ । केराको बोटलाई शुद्ध मानिने हुँदा केराको पातमा खाने प्रचलनको सुरुवात भएको हो । यसपछि चिउरा राख्न थालिन्छ । चिउरा राख्दा एक एक मुट्ठी मात्र राखिन्छ । यसपछि पकाएको मासु राखिन्छ । त्यसछि हरियो साग राखिन्छ । यसपछि प्रत्येकले बलि दिने (पितृलाई भाग दिने) कार्यपछि चिपंथि (जुठो हाल्ने) गरिन्छ । यसपछि छोयला, फर्सी, बोडीको तरकारी राखिन्छ । यो भोजन पहिलो चरणमा हुने गर्छ ।
दोस्रो चरणमा सबैभन्दा पहिलो चिउरा नै राखिन्छ । दोस्रोमा भुटेको मासु, सिमीको तरकारी, केराउ, चना दिइन्छ । यी परिकारहरू करिबकरिब सुक्खा परिकारहरू हुन् । तेस्रो चरणमा फेरि चिउरा राखिन्छ र अमिलोमा पाउँ क्वा अथवा मि क्वा, अयला (रक्सी), ह्याउ थ्व (जाँड) दिइन्छ । यी परिकारहरू खाना पचाउनका लागि नै दिने गरिन्छ ।
चौथो चरणमा अन्तिम रूपमा फेरि चिउरा राखिन्छ । चिउरासँगै दही राखिन्छ । दहीको साथमा आवश्यकता र स्वादअनुसार चिनी पनि राखिन्छ । दहीपछि फलफूल राखिन्छ । यसपछि भोजनको परिकार समाप्त हुन्छ । यसरी खाना समाप्त भएपछि आवश्यकताअनुसार दाँत कोट्याउने सिन्को दिइन्छ । यसपछि बाटा तथा पानीको भाँडा लिएर आउँछन् र मुख चुठ्ने कार्य गरिन्छ । सबैभन्दा अन्त्यमा ल्वाङ, सुकुमेल, सुपारी दिइन्छ । यसरी भोज समाप्त हुन्छ ।
नवमीको रात मोहनीको मुख्य टीका मोहनी सिन्ह बनाउने गरिन्छ । यही मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो । बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्ट्याएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टीकालाई पहिले तान्त्रिक विधिबाट बनाई यसलाई परिवारका सदस्यको निधारमा लगाइदिएमा सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
दशमीको दिनलाई नेवाःहरू चालं वा चालं क्वकायेगु भन्ने गर्छन् । नवमीको दिन स्थापना गरी पूजा गरिएको कुभिन्डोलाई घरमा रहेको खड्ग वा खुकुरीले काट्ने गरिन्छ । यसरी कुभिन्डो काट्ने कार्य कसैले जहाँ स्थापना गरिएको हुन्छ, त्यही परिवारका सदस्यहरूले पालोपालो गई मार हानेझैँ काट्छन् भने कसैले मुख्य कोठाको बीचमा राखेर तीनपटक घुमेर सबैभन्दा ज्येष्ठ सदस्यले काट्ने गर्छन् । खड्ग प्रयोग गरेर हत्याको अभिनय गर्नु पनि शक्ति संचयको तान्त्रिक कार्य भन्ने गरिन्छ । यसले नराम्रो कार्यको अन्त्य गरी जीवनमा सफलताको सुरुवात हुने मानिन्छ । तर, यसलाई पछिल्लो समयमा दुर्गाले रक्तबीजलाई मारेको प्रतीक हो पनि भन्ने गर्छन् । यसपछि ज्याबल तथा पुस्तकहरू परिवारका सदस्यहरू एक–एकलाई दिने गरिन्छ । यो अब दश दिन लामो चाड समाप्त भयो । गलत तत्त्वहरूको नाश पनि गरियो । अब आफ्नो दैनिक जीवनमा फर्कनका लागि विद्यार्थीहरूलाई पुस्तक तथा कामदारहरूलाई ज्याबल दिइएको हो ।
अब नराम्रा कुराको अन्त्य भइसकेको हुँदा अबको दिनमा सफलता हासिल होस् भनेर नवमीको रात तान्त्रिक शक्तिले थापिएको मोहनी सिन्ह लगाइदिने गरिन्छ । साथै, घटस्थापनाका दिन लगाइएको नःला स्वाः पनि शिरमा लगाइदिइन्छ । अन्य जातिले पनि नेवाःहरूको देखासिकी गरेर घटस्थापनाको दिन रोपिएको नःला स्वाः (जमरा) निकालेर रातो टीका लगाइदिने र जमरा राखिदिने गरेको पाइन्छ । नेवाःहरूमा रातो वा सेतो रङको 'क्वखा' अर्थात् कपडाको धजा पनि लगाइदिने गरिन्छ । यस दिन लगाइने विशेष टीकाका कारण नै यस पर्वको नाम मोहनी भनिएको हो । यसरी टीका थाप्न भने परिवारका ज्येष्ठ सदस्यहरूबाट थाप्ने प्रचलन छ । पारिवारिक सदस्यभन्दा अन्यसँग टीका थाप्ने चलन भने नेवाःहरूमा छैन ।
दसैँमा राजा वा स्थानीय क्षेत्रको उच्च तहको प्रमुखसँग रातो टीका थाप्न जाने प्रचलन भने पृथ्वीनारायण शाहको विजय अभियानमा सफलता हासिल हुँदै गएपछि जितेका राज्यमा त्यहाँ नियुक्त गरिएका प्रमुखको हातबाट टीका थापेर अब तिमीहरू पनि मेरो राज्यको प्रजा भयौ भन्ने अभिप्रायले टीका लगाउन जाने प्रचलनको सुरुवात भएको हो । यसका साथै दसैँ सबै राज्यमा मनाउन पनि लगाइएको थियो । बिस्तारै यो राष्ट्रिय पर्वका रूपमा स्थापित हुँदै गएको हो ।
दशमीको भोलिपल्ट स्वा क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएका औजारहरू तथा पुस्तकहरूलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई लःल्हाये (दिने) गरिन्छ । टीका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरू सबैकोमा टीका थाप्न जानुपर्छ ।
मोहनी नख, समुच्च रूपमा शक्ति सङ्ग्रहका लागि मनाइने पर्व हो । मोहनी सिन्ह लगाएर होस् वा खड्ग पूजा गरेर, यसै खड्गले पशुबलि दिएर होस् शक्ति सङ्ग्रह गर्ने गरिन्छ । हिजोका दिनमा हामी घरमा नै काटमार गर्थ्यौं । बच्चाहरू पनि काटमारलाई नजिकबाट हेर्थें र निडर तथा सुरा हुन्थे । अचेल बजारमा काटकुट गरेर राखिएको तैयारी मासु किनेर ल्याउने गरिन्छ । तसर्थ बच्चाहरू सानोसानो समस्यासँग पनि जुझ्न सक्दैनन् । साथै जोकोहीसँग डराउने गर्दछन् ।
दसैँ स्पष्ट रूपमा भन्ने हो भने मांसहारी पर्व हो । यस पर्वमा काटमार पशुबलि तथा मासु खाने गरिन्छ । पछिल्लो समय केही नयाँ सम्प्रदायहरूको जन्म तथा पशु संरक्षण र अधिकारका कुरा व्यापक हुँदैमा दसैँलाई शाकाहारी पर्वका रूपमा परिवर्तनका नारा ल्याउन आवश्यक देखिँदैन । जसलाई मासु खान रहर लाग्दैन, तिनीहरूले नखाँदा हुन्छ । कसैलाई पनि करकाप वा दबाब दिएर शाकाहारीको नारा दिनु हुँदैन । मन जितेर छोड्न सकेमा भने शाकाहारी बन्नुमा कुनै आपत्ति हुँदैन । समग्रमा दसैँ यस्तो पर्व हो, जसलाई शाकाहारी बनाउन खोज्नु नै मूर्खता हो । दसैँ भनेपछि मासु र यसका विभिन्न परिकारहरू जोडिन्छ ।
अहिले केही वर्षदेखि अर्को समस्या नेवाःहरूको पर्व कसरी र कहिले मनाउने भन्नेमा विवाद हुँदै आएको छ । नेवाःहरूमा विभाजन गर्न खोजिएजस्तो लाग्ने भिन्न किसिमका तर्कहरूभित्र सत्यता के हो भन्ने समयमै निर्क्योल गर्नु आवश्यक देखिन्छ । नेवाःहरूले मनाउने दसैँ दश दिनको भए पनि मुख्य रूपमा कुछिभ्वय, स्याक्वत्याक्व र चालं हो । जुन अष्टमी, नवमी र दशमीमा पर्छ ।
चन्द्र महिनामा कुनै तिथि छुट भयो भन्दैमा यी दिनहरूलाई अन्य दिनमा मनाउन सकिँदैन । र, यस पर्वलाई चार दिनमा मनाउन वा बीचमा छठ भयो भन्दैमा दुई दिनमा समेट्न सकिँदैन । तर, केही गुरुज्यूहरूले गलत निर्णय गरी दुई थरी नेवाःका पर्वका मितिहरू प्रकाशित गर्ने र मनाउन लगाउने गरिँदा नेवाःहरू नै दुई भागमा विभाजन भएको भन्ने देखिन्छ । यो कुनै अन्य जाति वा समुदायको षड्यन्त्र भनेर आरोप लगाउनुभन्दा सबै एक ठाउँमा बसेर एउटै मान्य हुने निर्णय गर्नु अत्यावश्यक देखिन्छ ।
Comments
Post a Comment