कथा बोल बमको

केही दिन अगाडि असारको अन्तिम सोमवारको दिन बिहान बजारमा केही बोलबमको टोली देखे । मलाई असार महिनामा पनि बोलबम शुरु हुँदो रहेछ कि भन्ने लाग्यो । पछि सम्झिए चन्द्रमास अनुसार पहिलो सोमवार असार ३० गते परेको हुँदा बोलबम निस्किएको रहेछ । पछिल्लो समय नेपालीहरुमा पनि रुचाउन थालिएको बोलबममा लामबद्ध कलश बोकेकाहरु देखेर रमाइलो नै लाग्दछ । तर जब अन्त तर्फ चर्को भोजपुरी गीतमा रक्सीले मातेका मधेशी मूलका झुण्डहरु उफ्रि उफ्रि नाचेको देखे पछि भने धर्मको नाममा हिड्ने कावडीहरु उच्छृंखलता तर्फ लागेको अनुभुति हुन्छ । पहिले पहिले बोलबमको यात्रामा हिड्ने कावडहरु कति शान्तसंग लामबद्द भइ हिड्ने गर्दथे । तर अचेल चर्को संगीतले सबैला त्रसित बनाउन थाल्ने भइसकेका छन् । के वाज कम गर्न सकिदैन ?


आखिर के हो त बोल बम

हिन्दुहरूका हरेक कुरा आख्यानमा लेखिएका किंवदन्ती आधारित हुने गर्दछ । बोल बमको पनि त्यस्तै किंवदन्ती रहेको छ ।

बैजनाथ धाम जसलाई बैद्यनाथ धाम पनि भन्ने गरिन्छ । भगवान शिवका बाह्र ज्योतिर्लिङ्गमा एकका रूपमा बैजनाथलाई लिने गरिन्छ । बैजनाथको कथा यस्तो छ ।

लंकाधिपति रावण शिवका अनन्य भक्त थिए । एकपटक लंकाधिपति रावण भगवान शिवको प्रमुख ज्योतिर्लिङ्ग कामना ज्योतिर्लिङ्गलाई हिमालय पर्वतबाट आफ्नो राज्य लंका लग्ने ढिठ इच्छा स्वरूप ठूलो तपस्यामा बसेका थिए । उनले आफ्नो चाहना पुरा गराउन शिवलाई बाध्य बनाउन कठिन तपस्याका साथ साथ १० शिरमा प्रत्येक दिन एक शिर काटेर चढाउन थाले । ९ शिर चढाएपछि दशौ शिर काट्न लाग्दा शिवजी प्रकट भएर रावणलाई के वर माग्छौ माग भने । भगवान शिवसंग शिवको बास रहेको कैलाश पर्वतमा रहेको कामनालिङ्ग लङ्कामा राख्न चाहेको हुँदा कामनालिङ्ग लैजाने अनुमति मागे ।

भगवान शिवले त्यति ठूलो तपस्या गरेका रावणको वर पुरा नगर्नु गलत हुने हुँदा एउटा शर्तमा दिन तैयार भए । कामनालिङ्ग कैलाशबाट बोकेर लैजाँदा कतै पनि विश्राम गर्न नहुने विश्राम गरेमा त्यहिँ स्थापित हुने शर्त राखे । भगवान शिवको सदैव बास हुने कामनालिङ्ग नै लंकामा पुगेमा शिवको वास पनि लंका नै हुने थियो । जुन अन्य देवताका लागि सह्य भएन । कामनालिङ्ग नै लंकामा रहे । रावण अझै शक्तिशाली हुने विश्वास अन्य देवतामा थियो । कामनालिङ्ग बोकेर लंकाको यात्रामा निस्केका रावणला बिचैमा रोक्नका लागि विष्णु भगवानले जुक्ति लगाएर रावणलाई लामो सौचमा जान बाध्य बनाए । सौचमा जानका लागि रावणले कामनालिङ्ग केही समयका लागि बोक्न बैजू नाम गरेका ग्वालालाई दिए । ग्वालाले धेरैबेरसम्म पर्खदा पनि रावण सौचबाट नफर्केपछि सो ज्योतिर्लिङ्ग भुइमा राखि दिए । धेरै समय पछि सौचबाट फर्केका रावणले ज्योतिर्लिङ्ग भुइमा राखेको देखेपछि उठाउन खोजे तर उठाउन सकेनन् । यसरी सो कैलाशमा रहेको कामना ज्योतिर्लिङ्ग हालको देवघर भन्ने स्थानमा रहन पुग्यो । साथै रावणले लामो समयसम्म सौच गरेको स्थानमा तलाउ नै बनेको किंवदन्ती रहेको छ । जुन देवघर देखि नजिकै रहेको छ ।

यसरी रावणले लंकामा लग्न नपाएको कामना ज्योतिर्लिङ्ग हालको देवघरमा रहन गयो । रावणले देवघरमा सो लिङ्ग छोडेर गएपछि बैजू नामक ग्वालाले नै मन्दिर बनाएर स्थापना गरेको हुँदा सो ज्योतिर्लिङ्गको नाम बैजनाथ धाम रहन गएको हो । यसरी सबैको मनोकामना पुरा गर्ने कामना ज्योतिर्लिङ्ग देवघरमा स्थापित हुन पुग्यो ।

यस्तै साउनमा बिशेष पूजा हुने तथा कावड यात्रा हुने अर्को मन्दिर मेरठ शहर नजिकै रहेको पुरामहादेवको मन्दिर हो । यस नदीमा हिण्डन नदीको जल घडामा भरेर चढाउने गरिन्छ । करिव ३० किमी लामो यात्रा गर्नुपर्ने यस कावडमा पनि निकै श्रद्धा र आस्थाका साथ कावड यात्रा हुने गर्दछ । यस महादेवको मन्दिरमा भगवान रामले जल चढाएको किंवदन्ती रहेको छ ।

किन चढाउँछन साउनमा शिवलाई जल

रावणको तपस्याको बलले लंका लग्न खोजिएको मनोकामना पुरा गर्ने कामना ज्योतिर्लिङ्ग हालको झारखण्ड राज्यको देवघरमा स्थापित भएपछि साउन जलको महिनामा हजारौ तिर्थालुहरू जलको घडा काँवड (बाँसमा दुइ तर्फ सामान राखेर बोक्ने खर्पन)मा बोकेर देवघर जाने गर्दछन् ।

वास्तवमा महादेवको प्रत्येक मन्दिरमा तिर्थालुहरुले पानी चढाउने शुरुवात समुन्द्रमन्थन पछि भएको हिन्दू आख्यानहरुमा उल्लेख गरेको पाइन्छ । समुन्द्रमन्थन पछि अमृत निस्कनु अगाडि कालकूट विष निस्किएको थियो । यसको प्रभावले सारा पृथ्वीका जीवमा असह्य पिडा हुन थालेपछि महादेवले सो विष पिएर सबै जीवको पिडा त शान्त गरे । तर स्वयं महादेव भने छटपटाउन थाले । यसरी विषले गर्दा घाँटीमा जलन भएका महादेवका शिरमा देवलोक तथा मत्र्यलोकका सबैले पानी खन्याएर जलन शान्त गराए । यसरी कालकूट विष पिएर सबैको कल्याण गरेको हुँदा प्रत्येक सावन मासमा महादेवको शिरमा पानी चढाउने गरिन्छ ।

कथा महादेवको कालकूट विषको गाँसिए पनि वा रामको गाँसिए पनि बोल बमको शुरुवात भने हजारौ वर्ष अगाडिबाट शुरुवात भएको थिएन । यो त धेरै पछि शुरु भएको थियो । अंग्रेजीमा एउटा पुस्तक प्रकाशन भएको छ । कावड यात्राको


विषयमा लेखिएको सो पुस्तकको नाम छ — मूर्खहरुको बिद्रोह (Uprising of the fools) । पुस्तकमा बिस्तृत रुपमा लेखिए पनि सारका रुपमा लेखिएको छ, समकालीन भारतमा नैतिक विरोधका रुपमा तीर्थयात्रा । अर्थात एउटा यस्तो वर्ग जुन सत्रौ शताव्दी तिर बिस्तृत भएको विश्वब्यापिकरणका रुपमा अर्थब्यबस्थामा परिवर्तन आउँदा पिछडा वर्गको रुपमा छोडिएका क्षेत्रका युवाहरु अब केवल भगवानले हामीलाई मात्र हेर्न सक्छ भनेर लामो लामो कावड यात्रामा हिडेका थिए । यसरी पिछडा वर्गका रुपमा भारतको विहार, झारखण्ड, उत्तरप्रदेश आदि ठाउँमा शुरुवात भएको थियो । कावड यात्रा भारतमा प्रत्येक साल साउनमा लाग्ने गर्दछ । गंगा नदीबाट जल बोकेर शिवलाई चढाउन जाने गर्दछन् । यी तिर्थयात्रीहरुलाई भोला वा अर्थात अति नै सोझा भन्ने गरिन्छ । खाली खुट्टा, भोको पेट, लामो दूरीको यात्रा यो सबै ति कावड यात्रामा जानेहरुको बिबशता वा रहर हो । काशी कावडी नाम गरेर शुरु भएको कावडी निकै लामो यात्रामा निस्कने गर्दथे ।

यस पुस्तकका लेखक विकास सिंह कावड यात्रामा जानेहरुका साथ साथ हिडेका थिए । उनिहरुका सपना तथा पीडाहरु सुनेका थिए । कावड हिड्नुका कारण सुनेका थिए । कावड यात्रामा हिड्ने सबैका भगवान भोलेसंग मागहरु थिए । आफ्ना सपना पुरा गरिदिउन भन्ने ठूलो आशा र भरोसाहरु थिए । त्यसैले एक चित्त भएर लामबद्ध हिडिरहेका थिए । भारतमा पनि सन १९८० को दशकसम्म केही हजार मात्र कावड यात्रामा हुने गर्दथे । तर अहिले ३ करोड भन्दा बढी तिर्थालु कावड यात्रामा जाने गर्दछन् । कावड यात्रामा जाने सबैले कावड बोकेका हुन्छन भन्ने हुदैन । कोही खाली पनि जान्छन् । यसरी हिड्नेहरु मुख्य रुपले बिहार, राजस्थान, हरियाणा, उत्तर प्रदेश तथा दिल्लीका हुने गर्दछन् । र अधिकांश मध्यम तथा निम्न वर्गका नै हुने गर्दछन् ।

श्रद्धा त्यही मानिसले मात्र गर्दछ, जसको विश्वास र भरोसा हुन्छ भगवान प्रति, अन्यथा कठिन बोलबममा कावड बोकेर हिड्दैनन् । र दोश्रो महत्वपूर्ण अन्तरात्मा भित्र इच्छा, लालसाका साथ साथ स्वार्थ लुकेको हुन्छ । मेरो यो कामना पुरा गरिदिनु भोले भन्दै हिडेका हुन्छन् । थोरै मात्र होला जो कुनै पनि कामना नलिइ यात्रामा निस्केको होस । पूजा, अनुष्ठान, ध्यान या धार्मिक यात्रा पहिले पहिले एक प्रकारको योगाभ्यास हुन्थ्यो । तर अचेल मनमा हजार किसिमका कुण्ठाहरु बोकेर नै तिर्थयात्रामा जाने तथा पूजाका लागि बस्ने गरिन्छ । जसले गर्दा न त पूजामा एकाग्रता हुन्छ न त फलको आशा नै हुन्छ । अहिले बिपश्यना गर्नेहरुमा एकाग्रता भेटिन्छ । केही हप्ता वा केही दिनका लागि बिपश्यनामा बस्नेहरुमा केही कडा नियमहरु हुन्छन । परिवारसंग सम्पर्क गर्न, मोबाइल चलाउन, इन्टरनेटमा बस्न छुट हुदैन । जसले गर्दा एकाग्र भएर ध्यान गर्न सहज हुन्छ ।

सन १८२० को दशकमा आर्थिक विश्वब्यापिकरणको शुरुवातसंगै धनी र गरिव बिचको खाडलको शुरुवात पनि भएको थियो । धनी झन झन धनी हुँदै जाने र गरिव पिल्सिदै जान थाले । यसरी गरिवका लागि सहारा भगवान हुन थाल्यो । भगवान अब एक तिम्रै सहारा भने झै गरिवहरु धर्मप्रति अत्यधिक उन्मुख हुन थाले । धनीहरु नजिकैका मठ मन्दिरमा सहज दर्शन मात्र गर्दथे । तर गरिवहरु कठिन यात्रा पुरा गरेर भगवानसंग गरिवीबाट मुक्त गराइ सुस्वास्थ्य माग्न थाले । भगवानको उपवास, ब्रत तथा कठिन यात्राहरुका पछि ब्यक्तिगत स्वार्थहरुका मन्नतहरु बोकेर तिर्थ ब्रत गर्न थाले । क्रमश धार्मिक राष्ट्रवादको पनि जन्म भयो ।

सामाजिक मनोविज्ञानका अनुसार मानिस अभाव वा समस्यामा पुगेपछि समाधानका उपाय पनि सहजै नभेटे पछि भगवानलाई पुकार्न पुग्दछन् । भगवानको ध्यान, पूजा तथा ब्रत बस्न थाल्दछन् । अर्को अर्थमा हेरौ भने धर्मको गहिराइ गरिवहरुमा बढि भेटिन्छ । धनाध्यमा कम भेटिन्छ । बाहिर धनाध्य देखिए पनि स्वास्थ्य वा सामाजिक प्रतिष्ठामा आँच आउने वा आउन सक्ने भएमा पनि आध्यात्म तर्फ बढी झुक्न थाल्दछ । हाम्रा आख्यान वा पुराणहरुमा लेखिए झै कठिन तपस्या र ध्यान ब्रतले गर्दा भगवान सामुन्ने प्रकट भएर तथास्तु भनेर वरदान दिदैनन् । तर देवभक्तिका कारणले अन्तरात्माबाट उब्जने सकारात्मक उर्जाले गर्दा कार्य प्रति एकाग्रता हुँदा सोचेको कुरामा सफलता मिल्न सक्छ ।

बिसौ शताव्दीको शुरुवात तिर हवाइसेवाको बिस्तार हुन थालेपछि विश्व साँघुरिन थालेको थियो । यसले गर्दा विश्वको आर्थिक बिकास बढ्न थाल्यो । साथै धनी अझ धनी हुने र गरिव अझ बढी समस्यामा पिल्सन थाले । यसरी पिल्सिन पुगेका गरिवको सहारा नै भगवान हुन थाल्यो । ति गरिवहरु भगवान प्रति बढि सक्त भएर पूजापाठ, धर्म, धार्मिक यात्रा, ब्रतहरु बस्न थाले । यहि बिच बिभिन्न ब्रतका कितावहरु पनि छापिन थाले । गरिवको लागि भगवान नै अन्तिम सहारा हुन पुग्यो ।

नेपालमा कहिले कसरी शुरु भयो बोलबम
२०५४५५ सम्म पनि बोल बम को बोलवाला नेपालमा खासै थिएन । सावनमा यस किसिमको बजार परिक्रमा पहिले हुदैनथ्यो । पहेलो बस्त्र र खाली खुट्टा नेपालको तराई क्षेत्र र अन्यत्रबाट बस चढेर वा जीपमा बिहारको सुल्तानगञ्ज पुग्दथे । त्यहाँ गंगासागरबाट गंगाजल बोकेर पैदल यात्रा वा जीपमै बाबा बैजनाथधाम पुग्दथे । जसलाई छोटकरीमा बाबाधाम भनिन्थ्यो । नेपालमा कावँडीको चलन खासै थिएन, अलि अलि तराई तिर देखिन्थ्यो । जसलाई अचेल नेपालीहरु बोलबम भन्छन् । धरानको पिण्डेश्वरमा तराई मूलका जो धरान बस्दथे ति जाने गर्दथे । तर त्यहाँ पनि ठूलो भिड हुने गर्दैनथ्यो ।

पहिलो पटक पशुपतिसम्म यात्राको लागी जल बोक्न २०५० मा सुन्दरीजल पुगेका चार तराईवासी युवा लखेटिएका थिए तर २०५१ सालमा १३ जना युवाहरू मिलेर बोलबम कावरिया संघ गठन गर्न सफल भए । यसपछि तराई मूलका तथा विहारबाट उपत्यकामा आएर बिभिन्न पेशामा आबद्ध भएका युवाहरूको समुह बोलबममा हिड्न थाले ।

२०५१ मा नेपालमा शुरु भएको यो बोल बमले माओवादी संक्रमण कालमा फेरी अवसर पाएन । बोल बम भन्ने तराईका युवा पनि बोक बम भन्दै हिड्न थाले । बोल बममा केही युवाहरू देखिए पनि खासै ठूलो जमात हुन सकेन । माओवादी द्वन्द शान्त भएपछि भने यसले ब्यापकता पायो ।

यसरी बिस्तारै बोलबम नेपालीहरु माझ प्रिय हुन थालेपछि पहाडी तिर्थालुहरू केही शान्त रूपमा जल बोकेर हिडेको देखिए पनि विहार तथा विहारसंग गाँसिएका तराईका क्षेत्रबाट आएका युवाहरु भने केही उच्छृंखल रुपमा चर्को स्वरमा विहारी गीत बजाउँदै मादक पदार्थको तालमा नाच्दै उफ्रदै हिडेको देखिन्छ । मैले बैजनाथ धाममा काँवरियाहरू हिडेको देखेको छु । ति तिर्थालुहरू शान्त रूपमा लामबद्ध हजारौको संख्यामा हिडेका हुन्छन् । तर यहाँ भने चर्को गीतमा नाच्दै बोल बम होइन डिस्को झै लाग्ने नाचमा मस्त भएको देखिन्छ ।

बाबाधाममा जाने पोखरेली र पोखरामा बोल बम

बिभिन्न आख्यानहरू पढेर सुनेर आफ्ना मनोकामना पुरा गर्ने अभिप्राय लिएर बाबाधाम जानेहरू नेपालमा तराई क्षेत्रमा ब्यापक भेटिन्छ । विहार नजिकैको हेटौडा, नारायणगढ, बुटवल, बिराटनगर, धरान जस्ता कतिपय शहरहरूबाट काँवरियाका रूपमा नेपालीहरू पनि जाने गर्दथे । तर यस भन्दा टाढाका शहरबाट भने निकै कम मात्र बाबाधाम जाने गर्दथे । यस्तैमा पोखराबाट २०५६ सालमा एक टोली पोखराबाट बाबाधाम पुगेका थिए । त्यस टोलीमा लक्ष्मणकुमार श्रेष्ठ र वहाँको श्रीमती सुलोचना श्रेष्ठ,

नारायण बाटाजु र वहाँको श्रीमती भागीरथी बाटाजू तथा बसन्तलाल बजिमय र श्रीमती ईन्द्र कुमारी बजिमय थिए । यो टोलीको भेट पोखरा बस्र्दै आएका वीरगञ्जका उमेश शर्मासंग पनि भएको थियो । यसरी शुरु भएको यो यात्राको क्रम बिस्तारै बढ्न थाल्यो । तर दोश्रो जनआन्दोलन पछि भने नेपालमा नै बिभिन्न स्थानमा बोलबमको शुरुवात भयो । जसले गर्दा भारत तर्फ जाने क्रम केही कम भयो ।


पोखरामा नै बोल बम भने धेरै पछि शुरू भयो । देशमा करिव दश वर्ष चलेको माओवादी द्वन्द समाप्त हुना साथ देशमा दोश्रो जनआन्दोलनको शुरूवात भयो । यसपछि देशमा धेरै किसिमका स्वतन्त्रताहरू झै धार्मिक स्वतन्त्रता पनि लिन थाले । बिदेशी धर्मको प्रवेश संग संगै आफनै धर्म र संस्कारहरुमा पनि बिकृतीहरु आउन थाल्यो । धर्म,संस्कार तथा संस्कृतिहरुमा छिमेकी प्रभाव सयौ वर्ष अगाडि देखि नै हुने गर्दथ्यो । अझ बढि हुन थाल्यो ।

नवधनाध्यहरुले भित्राएको विवाह अगाडि हल्दी रस्म, मेहन्दी रस्म तथा बच्चा पेटमा हुँदा बेबि सावर अहिले बिस्तारै अन्यले पनि पछ्याउन थालेको छ । अहिले मन्दिरहरुले भारतबाट आरतीको प्रचलन भित्राएका छन् । यो प्रचलन मन्दिर ब्यबस्थापनले धार्मिक रुपमा भन्दा ब्यबसायिक रुपमा भित्राएको देखिन्छ । आरती स्थलको एकछेउमा आर्थिक संकलन संकलन गरिरहेको हुन्छ । आरतीको नाममा प्रत्येक पटक लाखौ रुपैया जलेर खरानी हुन्छ । शुरुवातमा पशुपतिमा शुरु भएको आरती अहिले हाम्रा वरपरका मन्दिर पनि पुगिसकेका छन् ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

लाखे: भैरव कि राक्षस