फागु कि होली

बेला बेला देशलाई सम्झ्यो भने सांस्कृतिक रुपले यहाँको सरकारले नै देशलाई बिभक्त गरे झै लाग्छ । नेपाल सरकारको सूचनाका आधारमा कहिले नेवा:हरुको किजा पूजा र अन्यको भाइ टीका भनेर सरकार नियन्त्रित पञ्चांग निर्णायक समितिले घोषणा गरेको पाउँछौ । कहिले नेवाःहरुको म्हःपूजा अन्यको गोवर्धन पूजा भनेर पात्रोमा लेखेको पाउँछौ । यस्तै तराइको फागु र पहाडको फागु भनेर दुइ दिन सरकारी पात्रोमा छुट्टी दिन थालेको पनि बर्षौ भयो । 

झापाको फागु
 देशमा २०४६ सालको जनआन्दोलन भर्खर भर्खर शुरु हुँदै गर्दा २०४६ सालको फागुन २२ गते नेपाल सरकारले २०४७ सालको वार्षिक सार्वजनिक तथा पर्व बिदाहरुको सूचना राजपत्रमा प्रकाशित गर्दा फागु पूर्णिमाको बिदा केवल एकदिन फागुन १६ गते बिहिवार भनेर प्रकाशित गरेको थियो । यसपछि जनआन्दोलनको सफलता पछि देशमा परिवर्तन आयो । देशमा पञ्चायती ब्यबस्थाको समाप्तिसंगै बहुदलिय ब्यबस्थाको शुभारम्भ भयो । पञ्चायती ब्यबस्थाको अवसानसंगै धेरै कुराहरुको परिवर्तन त्यसपछिका सरकारले गर्दै गए । यस्तैमा २०४७ असोज ८ गते गृहमन्त्रालयको सूचना प्रसारित भयो । जसमा २०४७ सालको सार्वजनिक तथा पर्व बिदाहरुको संशोधनको सूचना थियो । नेपाल सरकारको २०४७ साल भदौ १२ गतेको निर्णय अनुसार भनेर दिइएको परिवर्तित सूचनामा सार्वजनिक पर्व बिदामा फागुको बिदा दुइ प्रकारको थियो । जस अनुसार फागुन १७ गते तराइका २३ जिल्लामा फागुको बिदा दिइएको थियो भने अन्य जिल्लाहरुमा फागुन १६ गते बिदा दिइएको थियो । यसरी देशमा बहुदल आएसंगै फागुमा पनि भिन्नताको शुरुवात भयो । नेपाल एउटै राज्य भए पनि तराइ र पहाड बिभाजन गरियो ।


इलामको फागु
यस अगाडि २०१८ साल सम्म सदरमा फाल्गुन द्वादशीमा, मोफसलमा फागुन शुक्ल पूर्णिमा तथा स्त्री जातिलाई फाल्गुन द्वादशी देखि फागुन शुक्ल पूर्णिमा सम्म बिदा दिइने गरिन्थ्यो । त्यसपछि भने एक दिन मात्रै बिदा दिने प्रचलन चल्यो । 

फागु मनाउनु वा भनौ एक अर्कामा रङ्ग लगाउनुको पछाडि हाम्रा आख्यानहरुले बिभिन्न कथाहरु बनाइदिएको छ । जसले गर्दा फागुको महत्व सांस्कृतिक भन्दा बढि यौनिक भएको स्पष्ट हुन्छ । वास्तवमा फागु रङ्गको पर्व हुँदै होइन यो पर्व खरानी छर्केर खुशियाली मनाउने पर्व हो । तर अहिले यसमा रङ्गको प्रयोगले अत्यधिक बिकृति आइसकेको छ । 

वास्तवमा यो पर्व फागुनमा पर्ने हुँदा यस पर्वको नाम फागु रहेको हो । तर अचेल भने फागु भन्दा होली भन्नेहरुको जमात ठूलो हुँदै गएको छ । कुनै दिन फागु भन्न छोडिने छ र होलीले प्राथमिकता पाउने छ । 

होली र कृष्ण 

सबैभन्दा बढी फागु पर्व कृष्णसंग सम्बन्धित रहेको पाइन्छ । कृष्णसंग जोडिएर बनेका धेरै कथाले गर्दा फागु होइन होली मनाइएको पाउँछौ । बाल्यकालमा कृष्णको हत्या गर्न आएका पुतना नाम गरेको राक्षसनीको प्रसंग आउँछ । पुतनालाई बालक कृष्णले मारेको तथा सो खुशियालीमा गोकुलवासीहरुले एकअर्कोमा अविर छरेर होली मनाएको मानिन्छ । 

कृष्णसंग नै जोडिएको अर्को कथा अनुसार कृष्णले आफ्नो आमालाई सोधेछ, राधा किन गोरी म किन कालो । यसको जवाफमा आमाले भनेछ, त्यसो भए राधालाई पनि कालो रङ्ग लगाइदिनु । यसपछि कृष्णले गोठालाहरुको सहयोगमा रङ्ग बनाएर राधालाई लगाइदिएछ । यसको बदलामा राधाले पनि कृष्णलाई रङ्ग लगाइदिएछ । यसरी एक अर्कोमा रङ्ग दलेर होली शुरु भएको भन्ने पनि कथा रहेको छ । यसैले ब्रजमा फागु बिशेष रुपमा मनाउने गरिन्छ । 

चितवनको फागु
तर वास्तविकतामा पुराना कृष्णका कथाहरुमा राधा थिएनन् । राधा तथा कृष्णका लीला तथा प्रेमका कथाहरु थिएनन् । बाह्रौ शताव्दीमा जयदेवले गीत गोविन्दको रचना गरे । यहिँ गीत गोविन्दको रचना पछि राधाको चरित्र मात्रै होइन सिंगो वैष्णवहरुको अस्तित्वको शुरुवात नै भयो । आज कतिपय कृष्णका भजनहरु गीत गोविन्दबाट नै लिइएका छन् । भगवानहरु यहाँ जन्मेका हुदैनन् । हामीले भगवानलाई जन्माउँछौ । 

होलिका र होली 

यस्तै फागुसंग होलीकाको किंवदन्ती पनि रहेको छ । हिरण्यकशिपु नाम गरेका राक्षसको विष्णु भक्त छोरा प्रल्हाद थियो । यसरी राक्षस वंशमा विष्णु भक्त रहेका प्रल्हादको हत्या गर्न होलीका (प्रल्हादको फूपु)ले प्रल्हादलाई काखमा लिइ आगोमा जल्न पुगे । तर आगोले प्रल्हादलाई केही पनि भएन तर होलीका जलेर खरानी भइ । यसरी असत्य माथि सत्यको जीत भएको रुपमा होलीका जलेर खरानी भएको सोही खरानी एकअर्कोमा दलेर सत्यको विजयोत्सवका रुपमा मनाउन थालिएको हुँदा यसको नाम होली रहन गएको हो भन्ने मान्यता पनि रहेको छ । नेपालका पहाडी जिल्लाहरुमा होलिका दहन गर्ने खासै प्रचलन देखिदैन । तसर्थ यसलाई होली भनिनु उपयुक्त रहदैन । तराईका केही ठाउँहरुमा तथा भारतमा पूर्णिमाको साँझ होलिका दहन गरिन्छ । र भोलिपल्ट खरानी एकअर्कोमा दलेर होली मनाइन्छ । 



शिवजी र कामदेव 

धनकुटामा फागु
दोश्रो कथा भगवान शिवसंग जोडिएको छ । पत्नी सतीदेवीको मृत्युपछि शोकले शव बोकेर हिडेका शिवजी अन्तमा शव पतन भएर समाप्त भएपछि गहिरो ध्यानमा मग्न हुन थाल्छ । यता शिवजी लामो ध्यानमा लाग्दा देवगणमा समस्या हुन्छ । उता पार्वती शिवलाई पति बनाउन पाउँ भनेर गहन ध्यान तपस्या र पूजामा लिन हुन थाल्छ । शिवको ध्यान तोड्न नसक्दा कामदेवको सहयोग लिएर ध्यान भंग गर्न सफल हुन्छ । तर आफ्नो ध्यान भंग गरेकोमा क्रोधित भएर शिवजीले कामदेवलाई नै भष्म गराइदिन्छ । यता शिवको ध्यान तोडेर आफू प्रति गर्न सफल भएपछि शिवजीको विवाह पार्वतीसंग हुन्छ । पति कामदेवलाई भष्म गराइदिए पछि शिव सामु रती रोइकराइ आफ्नो पतिलाई पूनर्जीवन दिन आग्रह गर्दछ । अन्तमा आजित भएका शिवले कामदेवलाई सशर्त जीवित बनाइदिने बचन दिन्छ । यसरी फागुलाई कामदेव र रतीको प्रेमको सम्झनामा पनि लिने गरिन्छ । यसैले गर्दा यो पर्व यौनको पर्वका रुपमा पनि परिवर्तन भएको छ । 

यता शिवजीको श्रापले भष्म भएका कामदेवको पूनर्जन्म कृष्णको छोरा प्रधुम्नका रुपमा भयो भने मायावती नाम गरेकी महिलाको रुप लिएर बालक प्रधुम्नको लालनपालन गरेर पछि यिनै प्रधुम्नसंग मायावतीको रुपमा रहेका रतीले विवाह गरेका थिए । 

जातीय फागु वा होली 
थारुहरुको होरी तथा ढुह्रेरी 

भार्सेमा फागु
वास्तवमा यो पर्व फागुनमा पर्ने हुँदा फगुवा तथा फागु भन्ने गरिएको हो । थारु समुदायले यस पर्वलाई होरी वा ढुह्रेरी भन्ने गर्दछन् । थारुहरुले मनाउने ढुह्रेरीमा पनि अश्लिलता नै देखिन्छ । उपत्यकाका नेवाःहरुले मनाउने फागुमा चीर गाडे झै थारुहरु पनि सिमलको सानो बोट काटेर ल्याएर गाउँदेखि टाढा गाडिन्छ । यस सिमलको बोटमा खर ओछ्याएर आगो लगाइन्छ । यसरी गाडिएको सिमलको बोटलाई चिर डुङ्ना भन्ने गरिन्छ । त्यही बालिएको आगोमा रोटी चढाउँछन् । साथै घर घरबाट गुइँठा ल्याएर त्यहीँ आगोमा राख्दछन् र बलेको गुइँठा घर लगेर त्यही आगोले खाना पकाएर खान्छन् । 

यसरी मनाउने पर्वमा बच्चाहरु भने अश्लिल गीत भत्याउँदै हिड्ने गर्दछन् । यसदिन यसरी अश्लिल गीत गाउँदा कुनै किसिमको ब्यबधान गरिदैन । स्वच्छन्द रुपले चिच्याइचिच्याइ गीत गाउँदै ओहोरदोहोर गर्दछन् । यसरी अश्लिल शब्दहरु चिच्याउँदै बाँसको पिचकारीले फागु खेल्ने पनि गर्दछन् । 

भक्तपुरको फागु 

महोत्तरीमा फागु
यस्तै भक्तपुरमा मनाइने फागु पर्व अन्यत्र भन्दा केही भिन्न देखिन्छ । दत्तात्रेय मन्दिरको ठिक अगाडि रहेको भिमसेन मन्दिरमा रहेको ३ हात लामो र ३० इन्च मोटाइको काठलाई भिमसेनको लिङ्गको रुपमा पूजा गरिन्छ । यस लिङ्गको आकारको काठलाई बोकेर बिहान कमलबिनायक नजिकै भएको पोखरीमा पखालेर ल्याइन्छ । त्यसपछि दत्तात्रेयमा ल्याएर पूजा गरिन्छ । पूजा समाप्त भएपछि पून बजार परिक्रमा गराइन्छ । अन्तमा भिमसेन मन्दिरमा नै ल्याएर झुन्ड्याइन्छ । यसपछि यस लिङ्ग रुपी काठको अगाडी प्वाल पारिएको रातो कपडा झुन्ड्याइन्छ । र ढकेलेर कपडामा भएको प्वालमा छिराइन्छ । लिङ्ग स्वरुपको काठको टुप्पामा कपास राखिएको हुन्छ । ढकेलेर कपडामा छिराउँदा कपास झर्नुपर्दछ भन्ने मान्यता छ । एकातर्फ यो अश्लित देखिन्छ भने अर्को तर्फ यसले यौन शिक्षा दिएको पनि हुन्छ । कपास झर्नुको अर्थ स्खलन हुनु हो । यसलाई भिमसेन र द्रौपदीको समागमको रुपमा लिने गरिन्छ । 

फागुन शुक्ल अष्टमीका दिन यसरी भिमसेन र द्रौपदीको समागम गराए पछि भक्तपुरमा फागुको शुरुवात हुने गर्दछ । लग भनिने झुन्ड्याइएको काठको मुसललाई पूर्णिमासम्म नै ढकेलेर ढोग्ने गरिन्छ । अन्तिम दिन पूर्णिमाको साँझ सो काठको मुसललाई बोकेर बजार परिक्रमा गराउँदै कमल विनायकमा रहेको पोखरीमा फेरी धुने गरिन्छ । यसरी धुने लैजाने समय सो मुसल बोक्न खोज्नेहरुको भिड लाग्दछ । यो मुसल बोकेमा वा छोएमा छोरा नभएकाहरुले छोरा पाउँछ भन्ने विश्वास रहेको छ । 

पोखरामा फागु
तर भक्तपुरको अश्लील लाग्ने होली वास्तवमा अहिले प्वाल पारिएको रातो कपडामा छिराउने कार्य वास्तवमा धेरै पछि परम्परालाई कलंकीत गर्न बनाइएको हो भन्ने पनि गरिन्छ । अर्को किंवदन्तीका अनुसार यौनपिपासु पुरुषको आतंकबाट जोगिन एक साहसी महिलाले त्यस पुरुषको लिङ्ग नै काटिदिए पछि सो लिङ्गको नगर परिक्रमा गराएर यदि कुनै पुरुषले महिला माथि यौन दूराचार गर्छ भने यसरी नै काटिने छ भनेर सन्देश दिइने गरेको हो । पछि सोही लिङ्गको प्रतिक काठको मुसलको नगर परिक्रमा गराएर जात्रा चलाइएको हो । तर पछि यस सन्देशलाई पुरुषहरुको समुहले टोडमरोड गर्दै रातो कपडाको प्रसंग गाँसिदिएको भन्ने पनि गरिन्छ । 

थकाली समुदायको तोरन् ल्ह 

फागु पूर्णिमाकै दिन उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले तोरन ल्ह मनाउने गर्दछन् । यो पर्व थकालीहरुको सबैभन्दा महत्वपूर्ण पर्व पनि हो । तोरनको अर्थ पहिलो ल्ह महिना हुनुको कारणले तोरन ल्ह थकालीहरुको नयाँ वर्षको रुपमा मनाउन थालिएको हुनुपर्दछ । तर थकालीहरुले फागु पूर्णिमाका दिन मनाउने हुँदा यसमा पछि केही परिवर्तन भएको हुनुपर्दछ । किनकी फागुन थकाली वर्ष अनुसार दोश्रो महिना हुन्छ । तर तिब्बती वर्ष अनुसार भने पहिलो महिना हुन्छ । यसर्थ या त तिब्बती अनुसरण गर्दै फागुन पूर्णिमाका दिन मनाउन थालिएको हुनुपर्दछ । वा कुनै विविध कारणले फागु पूर्णिमाका दिनलाई स्विकार गरिएको हुनुपर्दछ । 

तोरन ल्ह खासगरी पितृलाई सम्झने पर्वका रुपमा मनाउने गरेको हामी देख्दछौ । साथै तीन दिनसम्म मनाउने पर्वको बिशेष आकर्षण तारो खेले भएको हुँदा थकालीहरु परापूर्वकालमा शिकारी रहेको स्पष्ट हुन्छ । 

काठमाडौमा फागु 
घोराहीमा फागु

काठमाडौ उपत्यकाको फागुमा भने बसन्तपुरमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुन्ड्याएर बनाइएको बाँसको चीर गाडेपछि उपत्यकामा फागु शुरु हुन्छ । चीर गाड्ने परम्परा भने आख्यानमा भन्दा किंवदन्तीमा बढी प्रचलित छ । यो इतिहास नै हो वा होइन भन्ने प्रमाणित भने भएको देखिदैन । 

चीर गाड्ने कथा भने लिच्छवीकालका ब्यापारी सिंहसार्थ वाहुसंग गाँसेको पाउँछौ । सिंहसार्थ वाहुको नाम विक्रमशिल महाविहारसंग गाँसिएको हामी पाउँछौ । सो विहार उनैले निर्माण गरिदिएको हुँदा उनैको नाममा सिंहसार्थ वाहु जात्रा चलाएको भन्ने गरिन्छ । यो जात्रा फागु पूर्णिमाकै दिन लाग्दछ । यिनै सिंहसार्थ वाहु लिच्छवीकालमा ब्यापारी रहेको तथा तिब्बतमा ब्यापार गर्न जाने गर्दथे । एकपटक यसरी नै ठूलो समुहका साथ तिब्बत जाँदा बाटोमा महिलाहरुको समुहसंग भेट हुँदा ब्यापार बिर्सिएर रमाइलो गर्न थाले पछि सपनामा बोधिसत्व आएर तिमी ब्यापारी हौ यसर्थ यहाँबाट भाग । तर यसरी भाग्ने समय पछाडि फर्केर नहेर । यसरी सपनामा बोधिसत्वले नेपाल फर्कने भनेपछि नेपाल फर्किएछ । पछि त्यहाँ उसंग गएका सबै ब्यापारीको सबै ब्यापारीको मृत्यु भएको उनले थाहा पाएछ । यसपछि बोधिसत्वले गर्दा उनले जीवन पाएको ठानेर अचेलको ठमेलमा थःबही अर्थात विक्रमशील महाविहार बनाउन लगाएका थिए । यहिँ थःबहीको नाम नै अप्रभंश हुँदै ठमेल हुन गएको थियो । पुरानो थःबही धेरै पटक ध्वस्त भयो । पहिलो थःबहीका निर्माण ब्यापारी सिंहसार्थ वाहुले गरेका थिए । 
सिलगढीमा फागु

यिनै सिंहसार्थ वाहुले नै हालसम्म चल्दै आएको फागु पूर्णिमाका लागि फागु शुक्ल अष्टमीका दिन चीर गाड्ने प्रचलनको शुरुवात गरेका थिए । इतिहासमा उल्लेख नभएको यो कथा उपत्यकामा जनश्रुतिमा प्रचलित छ । तर यो चीर गाड्ने प्रचलन फागुसंग नै गाँसिएको थियो भन्ने प्रमाणित हुँदैन । फागु पूर्णिमामा हुने हरेक कृयाकलाप वा संस्कृतिलाई फागुसंग गाँसेर हेर्नु हुँदैन । थःबहीको चकँ द्यको जात्रा फागु पूर्णिमामा शुरु भएर भोलिपल्ट समाप्त हुन्छ । उपत्यकामा भने चकँ द्य नै सिंहसार्थ वाहु हुन भनिन्छ । एक बोधिसत्वको रुपमा चकँ द्यलाई लिने गरिन्छ । 

फागु पूर्णिमाको रात एक हप्ता अगाडि गाडिएको चीरदहन गरिन्छ । यसरी चीरदहनका लागि बसन्तपुरबाट चीर बोकेर टुँडिखेल लगिन्छ । त्यहाँ चीरको अन्तिम पूजा गरिन्छ । यसमा उपत्यकामा रहेको मारवाडी समुहको पनि सहभागिता हुने गरेको छ । पूजाको समाप्ति संगै चीर दहन गरिन्छ । यसरी चीर दहन गरेपछि फागु समाप्त भएको मानिन्छ । यहिँ दिन काठमाडौमा प्रचलित किंवदन्तीका पात्र गुरुमापालाई टुँडिखेलमा एक मुरी चामलको भात चढाउने प्रचलन रहेको छ । 

पाल्पामा फागु
चीर दहनमा मारवाडी समुदायको पनि सहभागिता रहने गरेको छ । यो क्रम धेरै पुरानो होइन । मानन्धर समुदायहरुको सहभागिता रहने चीर दहनमा बि.सं. २०१० तिर मानन्धरहरुको अनुरोधमा मारवाडीहरुको सहभागिताको शुरुवात भएको थियो । चीर दहनका लागि मारवाडी समुदायले गाईको गोवरको गुइँठाहरु चीर दहनका लागि ल्याउने गर्दछन् । चीर दहन समाप्त भएर खरानी भए पछि सो खरानीहरु मारवाडी समुदायका महिलाहरुले सो खरानी बोकेर घर ल्याउँछन् । खरानी घरमा राख्दा भुतप्रेत तथा अन्य विकारहरुले घरमा प्रवेश गर्दैन । साथै सो खरानी एकअर्कोलाई लगाइदिने पनि गर्दछन् । 

धेरैले होली वा फागु शुरुवात हुनुको कारणहरु लेख्ने क्रममा हिन्दू आख्यानहरुलाई इतिहासका रुपमा वर्णन गरेको पाउँछौ । हिन्दू आख्यानहरुमा लेखिएका तथ्यहरुलाई इतिहासले प्रमाणित गरेको छैन । तसर्थ यी सबै किंवदन्ती मात्र हुन ।

Comments

Popular posts from this blog

फागुन ७ र नेहरुको चालवाजी

भारतीय राष्ट्रिय गानका संगीतकार रामसिंह ठकुरी