नेवाःहरुले मनाउने बिशेष नखः स्वन्ति नखः
नेपालीहरुको महान चाड दशैको अन्तिम रात कोजाग्रत पूर्णिमाको दिनलाई बुद्धमार्गीहरु कतिंपुन्हीको रुपमा महादीप दान गर्ने गर्दछन् । अन्य नेवाःले भने महालक्ष्मीको पूजा गर्ने गर्दछन् । आश्विन शुक्ल पूर्णिमाको दिन दशैको दुर्गा पक्षको अन्तिम दिन हो । यसै दिन १५ दिन लामो दशैको समाप्त हुन्छ । यसै रातबाट नै चन्द्रमाको षोडसकलाको शुभारम्म हुने हुँदा सोह्र (षोडस) लक्ष्मीको पूजा गर्ने गरिन्छ । वर्षको बाह्र पूर्णिमामा शरद पूर्णिमाको रातलाई चन्द्रमाको सबैभन्दा सुन्दर रुप हुने विश्वास गरिन्छ भने लक्ष्मीपूजाको दिनको औसीको रातलाई सबैभन्दा निष्पट अन्धकारको रात भन्ने गरिन्छ ।
दशैंको अन्तिम कतिं पुन्हीको रात देखि नियमित १६ रातसम्म
सोह्र लक्ष्मीको पूजा गर्दै आलंमत
(आकाशदीप) बाल्ने गरिन्छ । कतिं पुन्हीको रात महालक्ष्मीको पूजा गरेर
थालनी गरिने सोह्र लक्ष्मीको पूजामा त्यसपछिका प्रत्येक रात क्रमश
सिद्धिलक्ष्मी, बुद्धलक्ष्मी, विश्वलक्ष्मी, भूवनलक्ष्मी, मन्द:लक्ष्मी, गृहलक्ष्मी, धान्यलक्ष्मी, खड्गलक्ष्मी, सन्तानलक्ष्मी, सत्यलक्ष्मी, मोक्षलक्ष्मी, प्रतिलक्ष्मी, ज्ञानलक्ष्मी, राज्यलक्ष्मीको पूजा गर्दै अन्तिम रात धनलक्ष्मीको पूजा गरिन्छ । अधिकांशले अन्य लक्ष्मीको पूजा नगरे पनि अन्तिम रात धनलक्ष्मीको पूजा गर्ने
प्रचलन रहेको छ ।
नेवाःहरु यस पर्वलालाई केवल तीन दिन मनाउनछन् र स्वन्ति नखः भनिन्छ ।
अचेल भने समय समय ज्योतिषका हिसाव कितावले हाम्रो स्वन्ति नखः माथि बज्रपात भएको छ
। स्वयं नेवाःहरु पनि विभाजित भएका छन् । एकथरी परम्पराका आधारमा लगातार तीन दिन
मनाउँछन् । अर्काथरि पञ्चांग निर्णायक समितिले प्रकाशित गर्ने पात्रोको आधारमा जे
लेखिएको छ त्यसरी नै मनाउँछन् ।
सामाजिक अनुष्ठानहरुका लागि घडी पलाका हिसाव किताव गरिराखे
पनि चाडपर्वका लागि यो विवादित नबनाइदिए हुन्थ्यो । दिउसो यति बजेबाट तिथि
परिवर्तन भयो वा यो तिथि छुट भयो भन्ने चाडपर्वका लागि नराखिदिए सहज हुन्थ्यो । नेवाःहरुले
मोहनी नखःमा फूलपाती देखि कुछि भ्वयः, स्याक्वत्याक्व, र चालः लगातार चार दिन मनाइ
दिए सहज हुन्छ । अरुले मनाउने दशै भनेको खासमा दशमीका दिन टीका थाप्ने नै हो । त्यस्तै
स्वन्ति नखःमा लगातार तीन दिन हुनुपर्छ ।
लक्ष्मी पूजाको भोलिपल्ट म्ह पूजा गरिन्छ । यस दिनलाई नेवाःहरु नयाँ
वर्षको शुभारम्भका रुपमा लिने गर्दछन् । जुन खासमा एक किंवदन्तीका आधारमा मात्र प्रचलित रहेको छ । यसको कुनै इतिहासमा मेल खाँदैन । कुनै शंखधर
साख्वा नाम गरेको ब्यापारीलाई इतिहासले चिन्दैन र ऋण मोचन गरि नयाँ सम्वत चलाइएको भन्ने
तथ्य कतै पनि भेटिदैन । नेपाल सम्वत भन्ने उल्लेख गरिएको शिलापत्र १४औं शताव्दीमा मात्र देखिन्छ । राजा राघवदेवले आफ्नो
राज्यकालसंगै शुरुवात गरेको पशुपतीभट्टारक सम्वत नै अहिले हामीले मनाउँदै आएको नेपाल सम्वत हो । राघवदेवले पशुपतीभट्टारक सम्वत किन चलाए भन्नेमा भने
यकिन इतिहास भेटिदैन । तर लिच्छवीकालको बि.सं. ७८० देखि ९३५ सम्म नेपालको इतिहास
हराउनु र त्यसपछि सम्वतको शुरुवात हुनुले भोटको अधिनबाट स्वतन्त्रता पाएको
खुशीयालीमा सम्वतको शुरुवात गरेको बलियो आधार भेटिन्छ ।
नेवाः संस्कृतिमा म्हः पूजा
नेवाःहरु नेपाल सम्वतको पहिलो दिनमा म्हः अर्थात शरिर पूजा गर्ने गर्दछन् ।
शरिर पूजा गरेर वर्ष भरि स्वस्थ्य तथा समृद्ध रहोस भन्ने कामना गरिन्छ ।
म्ह पूजा
स्वन्ति नखःको दोश्रो दिन म्ह पूजा गरिन्छ । नेपाल सम्वतको शुरु भएको दिन भएर
म्ह पूजा मनाउन थालिएको होइन । म्ह पूजा नेपाल सम्वतको शुरु हुनु भन्दा करिव सय
वर्ष अगाडि गुरु पद्मसम्भवको समयमा गुरु लिलाबज्रले शुरुवात गरेको मानिन्छ ।
म्ह पूजाको दिन अर्थात स्वन्ति नखःको दोश्रो दिन म्ह भनेको शरीरलाई पूजा गर्ने दिन । चन्द्र मासको कछलाथ्वको पारू (परेवा) को दिन शरीर पूजा गरी आन्तरिक ज्योती जगाउने र आत्म शुद्धि गर्ने कार्य हुन्छ । यसरी वर्ष भरि नयाँ उमंग, जोश र जाँगर जगाउन म्ह पूजा गर्न थालिएको हो ।
अन्य समय खासै प्रयोग नगरिने तसीः (बिमिरो) म्ह पूजा र किजा पूजामा नभइ हुदैन
। तसीः राखिने गरे पनि तसीः किन राखिन्छ र यसको महत्व के हो भन्ने धेरैले थाहा
पाउँदैनन् । तसीःलाई जम्भला भनिन्छ । जम्भला धनको देवता हो । म्ह पूजा र किजा
पूजाका दिन स्वग दिइँदा तसीः पनि राखेर दिइन्छ । यसको अर्थ धनको कहिल्यै कमी नहोस
भनेर हो । जम्भलाको प्रतिकका रुपमा हामीले नयाँ धानको चामलको पिठोबाट बनाउने यमरी
पनि हो । यमरी वास्तवमा जम्भलाको प्रतिक हो ।
यस पूजामा नेवाःहरूले जजंका प्रयोग गर्ने भनेको आत्माको अन्तहिन यात्राको
प्रतिक हो । आत्मा कहिल्यै मर्दैन भन्ने पुष्टीको लागी पनि छेउ टुप्पा नभएको
अन्तहिन जजंकाको प्रयोग गर्ने गरिन्छ । साथै अन्य समयमा प्रयोग नगरिने खेलु इताः
पनि बनाइन्छ । जुन प्राय अनुहारको आकृतिमा राखेर दुइ टुप्पा नै बालिन्छ ।
म्हपूजा गर्नका लागि मन्दः बनाइन्छ । मन्दः ब्रम्हाण्डको प्रतिक हो । मन्दः
बनाउदा सबैभन्दा माथी इष्ट देवटाको प्रतिकमा एउटा र अन्तमा यमदुत र शिवदुतलाई
साक्षी राखेर पूजा गर्नको लागी दुइवटा मन्दः बनाइन्छ ।
म्ह पूजाका लागि बनाइने मन्दः मा सबैभन्दा पहिले लः मन्दः भनेर पानीको
प्रयोगबाट शुद्ध गराउछौ । अर्थात म्ह पूजा गरिने स्थान सफा शुद्ध पानीले पखाल्दछौ
वा पुछ्दछौ । यसपछि रातो अबिरमा तेल मिसाएर पाँचवटा गोल घेरा बनाउँछौ । यस किसिमको
गोल घेरा ठूलो अथवा सानो बनाइन्छ ।तेलको प्रयोगबाट बनाइने हुँदा चिकः मन्दः भनिन्छ
। तेल चाडै नसुक्ने हुँदा दिर्घकालिन अस्तित्वको प्रतिकको रूपमा प्रयोग गर्ने
गर्दछौ ।
मन्दः बनाउँदा मन्दःको आकृति अष्टमंगलको प्रतिकका रुपमा अष्टपद्मपात्र आकृति
बनाइन्छ । जसमा आठवटा कमलको पात रहेको हुन्छ । हुन त अचेल बजारमा पाइने मन्दःको
फ्लेक्समा पनि पूजा गरेको देखिन्छ । तर घरमा जौंको पिठोमा बेसार मिसाएर बनाइएको
रेखीले स्वयं कोरेर बनाइएको मन्दः जस्तो सजिवता तथा तान्त्रिक शक्ति बजारमा पाइने
तैयारी मन्दःको प्रयोगमा हुँदैन ।
मन्दः तैयार भए पछि सजिवताको लागी पञ्चतत्वका रूपमा पाँच वस्तु छर्ने गर्दछौ ।
पञ्चतत्व मध्य आकाश तत्वका रुपमा धान भुटेर बनाइएको लावा (ताय्), वायु तत्वका रुपमा भटमास, अग्नि तत्वका रुपमा रातो अबिर, जलतत्वका रुपमा
सङ्लो चामल छुट्याइएको आँखे तथा पृथ्वी तत्वका रुपमा चामलको पिठोबाट बनाइएको ल्वहँ
चा मरि राख्ने गरिन्छ ।
म्ह पूजा बिधि पनि वास्तवमा तान्त्रिक बिधिबाट नै गरिन्छ ।
पूजा आरम्भ गर्दा अष्टमंगल बिधिबाट गरिन्छ ।
पूजा गर्ने ब्यक्ति घरको नकीं हुने गर्दछ । अर्थात घरमा उपस्थित महिला मध्य
जेष्ठ महिला सदस्य नै हुनुपर्दछ । म्ह पूजा गर्नेहरु सकेसम्म उत्तर तर्फ फर्केर
लहरै बस्नु पर्दछ । उत्तर फर्कन असुविधा भएमा पूर्व फर्केर बस्दा पनि हुन्छ ।
सुकुना पनि पृर्व वा उत्तर फर्काएर बाल्नुपर्दछ ।
१. मन्दः पूजाः सम्पूर्ण ब्रम्हाण्ड तथा श्रृष्टीको पूजा
२. खेलु इता पूजाः आत्म ज्योती पूजा
३. म्ह पूजाः मानविय मूल्य, मान्यता र
सम्मानको पूजा
४. धौ स्वगः टीका दहिमा मुछेर दिनेः जीवन प्रकाशमय होस भनेर
५. सी स्वगः फलफूल उत्पादन मूलक हुँदा उत्पादनशिल होस भनेर
६. वसः स्वगः कपडा आधारभूत आवश्यकताबाट बञ्चित नहाेस भनेर
७. मरि स्वगः मिठाइले जिवन मिठासपूर्ण रहोस भनेर
८. खेः स्वगः यस भित्र पाँच वस्तु हुन्छ
क. न्याः जलको प्रतिनिधित्व गर्दै जलचर माछा
ख. लाः स्थलको प्रतिनिधित्व गर्दै स्थल जीवको मासु
ग. खेँ आकाशको प्रतिनिधित्व गर्दै पन्छिको रुपमा अण्डा
घ. वः आसन वा स्थिरताको प्रतिनिधित्व गर्दै मास वा मुंगको वारा
ङ. अयलाः उर्जाको प्रतिनिधित्व गर्दै रक्सी
सबैभन्दा पहिले नकींले शुद्ध जलले आचमन लिएपछि हातमा जल, फूल र अक्षता
लिएर संकल्प गर्नु पर्दछ । संकल्प गरिएको जल, फूल, अक्षता सुकुनाको तल राखि
पूजा आरम्भ गरिन्छ । सबै भन्दा पहिले सुकुनामा रहेको गणेशको पूजा गरि
शुभम् भवतु कल्याणम्
आरोग्य पुष्टी वर्धनम्।
आत्मतत्व प्रवोधाय्
दीपज्योति नमस्तुते ।।
भन्दै सुकुनामा बलेको दीपलाई पनि पूजा गरिन्छ । साथमा जजंका तथा दूबो गणेशलाई
चढाइन्छ । साथै धुपबत्ती बालेर नैबेद्य पनि चढाइन्छ । यसपछि नकींले जलपात्रमा
रहेको जलले आफ्नो शिरमा छर्केर आफैले टीका लगाउने र फूल शिरमा लगाउने । यसपछि बल्ल
म्हपूजाको बिधि शुरु हुन्छ ।
सबैभन्दा पहिले सबैले जेष्ठता क्रममा जल आचमन गर्ने । त्यसपछि जल, अक्षता र कुचा यागु स्वां (टुक्रा टुक्रा पारिएको फूल) ले
प्रत्येक मन्दः पूजा गर्दै म्हपूजा गर्नेहरुको हातमा मुछेको टीका दिने । पहिलो
टीका तथा फूल
श्री स्वेष्टदेवताये नमः
श्री कुलदेवताये नमः
श्री पाञ्चायनेभ्यो नमः
मन्त्र गुनगुनाउँदै सबैभन्दा माथि राखिएको नाङ्लो, कुचो तथा सिलौटालाई पूजा गर्ने । त्यसपछि
गृहलक्ष्मी इष्टदेवताये नमः भन्दै दलिनमा पूजा गर्ने र अन्तमा जजंका, फूलको माला, फलफूल, खेलुइता, धुप, आदि राखिएको भाग नकींको हातबाट स्विकार गरेर त्यसमा रहेको
जजंका तथा माला लगाउने, धुप, खेलुइता मन्दःमा आफू तर्फ फर्काएर राख्ने ।
यसपछि नकींले पालैसंग जेष्ठता क्रममा पूजाको थाली, तथा खेँ स्वगँ का रुपमा रहेको पञ्चतत्व माछा, मासु, अण्डा, बारा तथा रक्सी राखेको भाँडा ढोगाउने गरिन्छ । ढोगाउने
कार्य समाप्त भएपछि सबैलाई खेँ स्वगँ दिइन्छ । यसपछि नकींले प्रत्येकको खेलुइता
बाल्दै माना वा पाथीमा कुचा गरेको फूल,
कुचा गरेको तसी, ल्हँ चा मरि
सहितले शिर, कुम र घुँडामा छुवाउँदै
तीनपटक अभिषेक गरिन्छ । अभिषेकको समय हातमा लिएको खेँ स्वगँ भुइमा राख्न पाइँदैन ।
अन्तमा नकींले बलिरहेको खेलु इताः जम्मा गरेर देवताको प्रतिक बनाइएको पहिलो
मन्दःमा राखिन्छ र अन्तबाट शुरुमा कुचोले बरालेर सोहोर्ने कार्य हुन्छ । यसपछि म्ह
पूजा पुरा हुन्छ ।
म्ह पूजा गर्नुको मुख्य उद्देश्य भन्नु नै नयाँ नेपाल सम्वतमा सुस्वास्थ्य तथा
दिर्घायुको कामना गर्नु नै हो । साथमा नयाँ उर्जा थप्न पनि म्ह पूजा गर्न थालिएको
हो ।
म्ह पूजाको भोलिपल्ट अर्थात स्वन्ति नखःको तेश्रो दिन किजा पूजा गरिन्छ । यस
दिन दिदीबहिनीले दाजुभाइलाई सुस्वास्थ्यको कामना गर्दै टीका लगाइ दिने
गरिन्छ ।
किजा पूजा अर्थात भाइ टीका
तिहारको उमंग नेवाःहरुमा केही बढी भए पनि अन्य जातिहरुका लागि भने लक्ष्मी
पूजा र भाइ टीका मात्र हो । अझ यसमा पनि तिहारको मुख्य दिन नै भाइ टीकालाई मान्ने गरिन्छ । कतिपयका लागि तिहार भन्नु नै भाइ टीका हो । दिदी भाइहरुका
लागी तिहारको महत्व भाई टीकाको धेरै लाग्छ । दाजुभाइ नहुनेहरुले दिदीबहिनी बिच पनि
टीका लगाएर रमाइलो गरेको पनि देख्न सकिन्छ ।
भाइ टीका दिदीबहिनीलाई माइती पुग्ने एउटा अवसर पनि हो । तर दिदीबहिनीको दाजुभाई प्रतिको स्नेह र माया यो दिनमा अझ बढी भेटिन्छ । भनिन्छ यमदुतले आफ्नो भाईलाइ लिन आउँदा पनि दिदीले यमदुतलाई बाचा गराएर फिर्ता पठाएका थिए । सुपारी फूलको माला नओइलाए सम्मको लागी पर्खन लगाएका थिए । हिन्दू आख्यानका अनुसार सूर्यको पत्नी छाँयाबाट जन्म भएका दुइ दाजुबहिनी यम र यमुना थिए । दाजुलाई बारम्बार घरमा बोलाउँदा पनि नआएका यमराज यसै दिन आइ पुग्दा यमुनाले निकै मायाले टीका लगाइ दिएका थिए । यमराजले खुशी भइ बर माग्न अनुरोध गर्दा सधै यहि दिन टीका लगाउन आउने बाचा गराए पछि यस दिनबाट यस पर्वलाई यमपञ्चकको रूपमा मनाउने गरिएको मान्यता छ ।
भाइटीका मनाउने आ-आफ्नो शैली होलान् तर संस्कार र आस्था सबैको एउटै हुन्छ । पारिवारीक स्नेह नै भाइटीकाको प्रमुख उद्देश्य हो ।
नेवा:हरुको किजा पूजा मनाउने छुट्टै परम्परा रहे पनि समुच्च नेपालीहरु यस दिन भाइटीका मनाउने गर्दछन् । भाइटीका मनाउने चलन भिन्न होला तर दिदी बहिनी तथा दाजुभाइ बिचको स्नेह र सद्भाव भने भिन्न हुदैन । एक अर्का प्रतिको प्रेमभाव अमुल्य हुने गर्दछ ।
नेवा:हरुको किजापूजामा पनि म्हपूजामा झै मन्दः बनाइन्छ । चामलको पिठोमा बेसार मिसाएर बनाईएको रेखीले मन्दः बनाईन्छ । शुद्धिकरण तथा नकारात्मक शक्ति रोक्न बेसारको प्रयोग गरिन्छ, तर अचेल बेसारको ठाउमा केशरी प्रयोग गर्ने गरिन्छ । मन्दः ब्रम्हाण्डको प्रतिक हो । मन्दः बनाउँदा सबैभन्दा माथी इष्ट देवताको प्रतिकमा एउटा र अन्तमा यमदुत र शिवदुतलाई साक्षी राख्नका लागी दुइवटा मन्दः बनाइन्छ ।
लः मन्दः भनेर पानीको प्रयोगबाट शुद्ध गराउछौ ।
चिकं मन्दः भनेर तेलको प्रयोग गर्दछौ । तेल चाँडै नसुक्ने हुदा दिर्घकालिन अस्तित्वको प्रतिकको रूपमा प्रयोग गर्छौ ।
मन्दः तैयार भए पछि सजिवताको लागी अबिर छर्ने र लावा छर्ने तथा आँखे राख्ने गरिन्छ ।
पूजा आरम्भ गर्दा म्ह पूजामा झै अष्टमंगल बिधिबाट नै गरिन्छ ।
यसरी खेँ स्वगः दिए पछि दिदीबहिनीलाई दाजुभाइले खेँ स्वगःको केही भाग खाएर
दिदीबहिनीलाई दिने गरिन्छ । यसको साथै दाजुभाइले दिदीबहिनीलाई उपहार पनि दिने
गरिन्छ । यसरी अष्टमंगल विधिबाट किजा पूजा सम्पन्न भए पछि दिदीबहिनी दाजुभाइ
सबैसंगै बसेर भोज खाने चलन रहेको छ ।
अन्य जातिले गरिने भाइ टीका
नेवाःहरुको किजा पूजा यसरी बिस्तृत रुपमा भए पनि अन्य जातिमा भने दिदीबहिनीले
दाजुभाइलाई सप्तरंगी टीका लगाइ भाइटीका मनाउने गर्दछन् । साथै दाजुभाइले पनि
दिदीबहिनीलाई सप्तरंगी टीका लगाइदिने गरिन्छ । सप्तरंगी सात ग्रहको प्रतिकका रुपमा
लगाउने प्रचलन रहेको हो । नवग्रहमा राहु र केतु दुइ ग्रहले बिपरित फल दिने हुँदा
अन्य सप्तग्रहको प्रतिकका रुपमा सप्तरंगी टीका लगाउने गरिएको हो । यसमा रहेको रातो
रंगले सूर्य जस्तै जीवन तेजमय रहोस सुख प्राप्ति होस, सेतो रंगले चन्द्रमा जस्तै शान्त, कोमल र सहृदय, बैजनी रंगले
मंगल जस्तै शूरवीर र स्वस्थ्य, हरियो रंगले
बुध जस्तै सम्पन्न र दिर्घायु भएको रहोस, गुलाफी रंगले बृहस्पती जस्तै सबैको प्रिय रहोस, पहेँलो रंगले शुक्र जस्तै सुन्दर र उल्हासमय रहोस, निलो रंगले शनि जस्तै परिश्रमी शान्ति रहोस भनेर सात ग्रहको
प्रतिकका रुपमा सात रंगको टीका लगाइ दिनेगरिन्छ । यस्तै अन्तमा लगाइ दिने राता
अक्षतासहितको टीकाले उमंग ल्याउने विश्वास गरिन्छ । अहिले आएर केही ज्योतिषहरुले
सात रंग होइन पाँच रंग हो भनेर पनि प्रचार गरेको पनि पाइन्छ ।
कतिपय जातिले भाइ टीकाको लागि दिदीबहिनीले दाजुभाइलाई अघिल्लो दिन वा केही दिन
अगाडि निम्तो पठाउने गर्दछ । टीकाको दिन बिहानै नुहाइधुवाइ गरेर दिदीबहिनीले
अष्टचिरञ्जीवीको पूजा गरेर तैयार भएर बस्दछन् । टीका लगाउँदा दाजुभाइलाई पूर्व
फर्काएर राखि दिदीबहिनी पश्चिम फर्केर लगाइदिने गरिन्छ । सबैभन्दा पहिले कुमारको
प्रतिक कलश तथा गणेशको प्रतिक दियो बालेर पूजा आरम्भ गरिन्छ । कुनै पनि मंगल
कार्यमा गणेश र कुमारको आह्वान सबैभन्दा पहिले गर्नुपर्ने हाम्रो शास्त्रीय
परम्परा रहेको छ । भाइ टीका नसकुञ्जेल भाइलाई कालले केही गर्न नसकोस भनेर कालको
बाटो छेक्नको लागि यमराजको प्रतिक स्वरुप बिमिरो र ओखरलाई ढोकामा पूजा गरिन्छ ।
ढोकामा नै ओखर फोडेर कडा बोक्रा बाहिर फाल्ने र नरम खानेकुरा भित्र राख्ने गरिन्छ
। यसले नराम्रो बिकारहरु बाहिर जाओस तथा राम्रा कुराहरु मात्र रहोस भनेर ओखर
फोड्ने गरिन्छ ।
यसपछि पनि दाजुभाइलाई अन्य दुसात, बिसात, सिमे, भुमेले भाइलाई
नछोओस भनेर पानी र तेलले सात घेरा लगाएर छेक्ने गरिन्छ । यसरी सबैको बाटो छेकेपछि
भाइलाई फूल अक्षता र सप्तरंगी टीका लगाइ दिने गरिन्छ । सगुनका रुपमा दही दिइन्छ ।
साथै शीरमा तेल लगाइदिँदै आयु बढोस भनेर शिरमा टोपी लगाइदिने गरिन्छ ।
तराईका मैथिल समुदायले भने भैयादूज तथा भरदुतियाका रुपमा मनाउने गर्दछन् ।
भरदुतियाको बिहानै दिदीबहिनीले आफ्नो घर लिपपोत गरेर चोख्याउँछन् । आँगनमा चौका
राखेर त्यसमा चामलको पिठोले अरिपन बनाएर त्यस माथि दाजु वा भाइलाई बसाइन्छ ।
त्यसपछि दाजु वा भाइलाई पानसुपारी तथा फलफूल हातमा राखिदिएर मैथिली भाषामा यो
मन्त्र उच्चारण गर्दै पानीको धारा चुहाउँदै भाइलाई तीन पटक घुम्दछन् ।
"गंगा नोतय छैथ यमुना के,
हम नोतय छी भाई केँ
जहिना जहिना गंगा-यमुना केँ धार बहय,
हमर भाय सबहक औरदा बढ़य"
जसरी गंगाले यमुनालाई निम्तो दिए
हामी भाइलाई निम्तो दिन्छौ
जसरी गंगा र यमुना नदीहरु निरन्तर बहिरहन्छन्
हाम्रा भाइहरुका आयु पनि बढिरहोस ।
किजा पूजाको भोलिपल्ट नेवाःहरुको चतुर्थी गर्ने चलन छ । चतुर्थी भनेको कुनै
पनि कर्मको समापन हो र देवीदेवतासंग पूजा गर्दा कुनै कमि कमजोरी वा गल्ती भएमा
क्षमा गरिदिनुहोला । भनेर गरिने पूजा हो । किजा पूजाको भोलिपल्ट गरिने चतुर्थी
पूजा लक्ष्मी पूजाको चतुर्थी पूजा हो । यो लक्ष्मी पूजा गरेको चौथो दिन गरिन्छ । चतुर्थी गरेपछि पूजा समापन पछि निस्केको फूल, अक्षता तथा अन्य
सामग्री गंगामा लगेर सेलाइन्छ । यसरी पूर्ण रुपमा स्वन्ति नखःको समापन हुन्छ ।
नेवाःहरुले परम्परा देखि जे जसरी स्वन्ति नखः बौद्ध परम्परामा
मनाउँदै आएको भए तापनि पछिल्लो समय वैदिकहरुबाट यसमा बिभिन्न आएको पाउँदछौ । तिथिका छुटका कुरा, बिहान एक र साँझ अर्को पर्व मनाउन पात्रोमा
लेखिएको हुन्छ । लक्ष्मी पूजाको भोलिपल्ट म्ह पूजा र पर्सी पल्ट किजा पूजा मनाएर
तीन दिनको लगातार मनाइने स्वन्ति नखः पुरा हुन्छ । म्ह पूजाको दिन नयाँ वर्ष पनि
मनाइने हुँदा दिउसो लाग्ने तिथि समाएर बिहानै नयाँ वर्ष मनाउन मिल्दैन । कुनै पनि
नयाँ वर्ष बिहानको सूर्योदयसंगै मनाइन्छ । दिउसोको कुनै समय तिथि लागेको भनेर
दिउसोबाट नयाँ वर्ष मनाउने गरिदैन । तसर्थ सो तिथि बिहानको सूर्योदयमा जुन दिन
लाग्दछ । त्यसै दिन नै नयाँ वर्षको शुभारम्भ गरिनु पर्दछ ।
Comments
Post a Comment